काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी धु्रवबहादुर थापा विजयी भएका छन् । थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । उनले अध्यक्षका प्रत्यसी करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै आगामी दुई वर्षका लागि नाडाको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।
गत बुधबार र बिहीबारदेखि काठमाडौंमा सञ्चालित नाडाको ४५औं वार्षिक साधारण सभापछि सम्पन्न भएको निर्वाचनको अन्तिम मत गणनाअनुसार अध्यक्षमा विजयी थापाले कुल १४ सय १३ मत ल्याउँदा अर्का प्रत्यासी चौधरीले १३ सय ४७ मत प्राप्त गरेका थिए ।
अन्य १७ कार्यसमिति सदस्यमा चौधरी समूहबाट १२ र थापा समूहबाट पाँच जना विजयी
यो निर्वाचनबाट अध्यक्षमा थापा निर्वाचित भए पनि अन्य पदाधिकारीहरूमा चौधरी समूहले नै बहुमत ल्याएका छन् । एक जना अध्यक्षसहित नाडाको कुल १७ कार्यसमिति सदस्यमध्येमा चौधरी समूहबाट १२ जना र थापा समूहबाट पाँच जना विजयी भएको नाडा निर्वाचन समितिले जनाएको छ ।
नाडा निर्वाचन समितिका अनुसार सदस्यमा करण चौधरीको समूहबाट मिलनबाबु मल्ल १४ सय ६५ मत, अनुपकुमार बराल १४ सय ६३ मत, राजनबाबु श्रेष्ठ १४ सय ५७, सुरेन्द्रकुमार उप्रेती १४ सय ३२, सुनिल रिजाल १४ सय २, अभिक ज्योति १३ सय ८३, प्रकाश कपुरी १३ सय ७९, विक्रम सिंघानियाले १३ सय ७१ मत र गोपाल भट्टराईले १ हजार ३ सय ६५ मत ल्याएर विजयी भएका छन् । यसैगरी, करण चौधरीकै समूहबाट निलमणि पाठक १३ सय ५४ मत, वरदान बस्नेत १३ सय ५० मत र पंकज अग्रवालले १३ सय ३४ मत ल्याई विजयी भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष थापाको समूहबाट निराकर श्रेष्ठ १३ सय ६४ मत, यमुना श्रेष्ठ १३ सय ५५ मत, कपिल शिवाकोटी १३ सय ४८ मत, प्रदीपमान प्रधान १३ सय ४६ मत र आकाश गोल्छा १३ सय ३९ मत ल्याएर विजयी भएका छन् । कुल ३२ सय १६ मतदाता सदस्य रहेको नाडाको सो निर्वाचनमा जम्मा २७ सय ८८ मत मात्र खसेको थियो । यो निर्वाचनमा थापा र चौधरीको समूहबाट केन्द्रीय सदस्यका लागि १७÷१७ जना गरी ३४ जना व्यवसायीबीच प्रतिस्पर्धा भएको थियो । अन्य व्यवसायी मतदान गर्न सहभागी नै नभएको नाडा निर्वाचन समितिले जनाएको छ ।






