ओमिक्रोन संक्रमणबाट मानवीय क्षति रोक्न खोप विस्तार गर

पछिल्लो समयमा एक जना नेपाली नागरिकमा ओमिक्रोनको संक्रमण देखापरेपछि यसले हल्लीखल्ली मच्चाएको छ । यद्यपि, नेपालमा ओमिक्रोनको संक्रमण देखिएको यो दोस्रोपटक हो । पहिलोपटक यसको संक्रमण दुई जना विदेशी नागरिकमा देखापरेको थियो । यसपटक भने नेपाली नागरिकमा देखिएपछि यसले अब नेपालीमा समेत संक्रमण गर्न थालिसकेको स्पष्ट देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ क्रममा प्रवक्ता डा. संगीता मिश्राले बुधबार ५८ वर्षीय नेपाली नागरिकमा कोरोेनाको नयाँ उत्परिवर्तित भेरियन्ट ओमिक्रोन संक्रमण भेटिएको पुष्टि गरेपछि यसले नेपाली जनजीवनलाई पनि निकै सतर्क बनाएको छ । निकै चाँडो र व्यापक रूपमा फैलन सक्ने यो भेरियन्टबाट संक्रमित रहेका व्यक्तिको स्वास्थ्य स्थिति हाल सामान्य अवस्थामा रहे पनि हालसम्म कुनै पनि नेपाली नागरिकमा त्यसको संक्रमण नपाइएकाले केही ढुक्क हुने अवस्था सिर्जना गरेको थियो । तर, अब त्यो स्थिति रहेन । संक्रमित नागरिकको उपचार स्वास्थ्य मन्त्रालयको नियमित सम्पर्कमा रहेर भइरहेको भए पनि यसले अब नेपालीजन यो भेरियन्टको संक्रमणबाट अछुतो नरहेको संकेत भने दिइसकेको छ ।

हालसम्म उपचाररत बिरामी डेल्टा भेरियन्टबाट मात्र संक्रमित रहेका थिए । संक्रमण रोकथाम सतर्कतामा आएको परिपक्वता र खोपको विस्तारका कारण हालसम्म आमनागरिकमा देखिएको डेल्टा भेरियन्टको संक्रमण पछिल्लो समय क्रमिक रूपमा कम हुँदै गएको थियो । यसले नेपाली जनस्वास्थ्यमा महामारी क्रमिक सुधार हुँदै गएको देखाएको पनि थियो । तर, नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण नेपाली नागरिकमै देखापरेपछि यो निकै जटिल र भयावह हुने आँकलन गर्न थालिएको छ । यसैबेला हामीकहाँ स्वास्थ्यसम्बन्धी सुरक्षा सर्तकता अपनाउने क्रममा पनि निकै कमी आएको छ । नागरिकमा लापरबाही गर्ने क्रम बढेको छ । सरकारीस्तरबाट पनि यसमा कुनै कडाइ हुन नसक्दा यो समस्या बढेर जाने भय देखिएको छ । जुन निकै दुःखद छ ।

विश्व स्वास्थ्य संगठनले सिंगो युरोपलाई ओमिक्रोनको सम्भावित विनासबाट बच्न बेलैमा सतर्क रहनुपर्ने चेतावनी दिइरहेका बेला नेपालमा पनि यसको संक्रमण देखापरिसकेको छ । वैज्ञानिकहरूले ओमिक्रोन पहिलेका भेरियन्टभन्दा खतरनाक नभएको भने पनि यो भेरियन्टबाट मृत्यु हुनेको संख्या विश्वमा बढ्दै जान थालिसकेको छ । संक्रमणको सुरुको चरणमा त्यति आक्रामक नदेखिए पनि यो भेरियन्टले पछिल्ला दिनहरूमा ठूलो विनास त निम्त्याउने होइन भन्ने आशंका स्वास्थ्यविद् र वैज्ञानिकहरूमाझ बढी नै उब्जाइदिएको छ । यो भेरियन्टको संक्रमण दर र व्यापकतालाई लिएर धेरै युरोपीय देशमा उच्च सतर्कता अपनाइएको छ भने केही देशहरूमा लकडाउनलाई कडाइका साथ लागू गरिसकिएको छ ।

अमेरिकी वैज्ञानिक तथा डाक्टरहरूले ओमिक्रोनसँग खेलाँची नगर्न र सतर्क रहन बारम्बार आग्रह गरिरहेका छन् । सुरुको चरणमा ओमिक्रोन फैलन नपाओस् भनेर अमेरिकाकै कतिपय राज्य सरकारले निषेधाज्ञा जारी पनि गरेका थिए । अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउजीले यो भेरियन्टको विषयमा विस्तृत अध्ययन गरी नसकिएकाले अघिल्ला भेरियन्टभन्दा बढी सतर्कता अपनाउनुपर्ने कुरामा जोड दिएका छन् । ओमिक्रोनको उत्पत्ति र प्रवेशअघि आएको डेल्टा भेरियन्टले नेपालमा मानवीय क्षति बढी नै गराएको थियो । हालसम्मको परीक्षण र अनुसन्धानमा ओमिक्रोनले खोपसेवा लिएकाहरूलाई गम्भीर बिरामी बनाउन नसकेको खुल्न आए पनि नेपालमा खोप सेवा नलिएकाहरूको संख्या बढी छ । त्यसैले पनि यो भेरियन्टका ’boutमा थप सतर्कता अपनाउनुका साथै खोप विस्तार गरिनु जरुरी हुन आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 273 times, 1 visits today)

epaper

ताजा समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो