काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न हुनेछ ।
महाधिवेशनबाट केन्द्रीय सदस्यको मात्रै निर्वाचन हुन्छ । निर्वाचित केन्द्रीय सदस्यबाट पदाधिकारी निर्वाचित हुने व्यवस्था माओवादी केन्द्रको विधानमा रहेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुने र निर्वाचित केन्द्रीय सदस्यबाट पदाधिकारी सर्वसम्मत हुने बताए ।
सर्वसम्मत पदाधिकारी चयन नभएको अवस्थामा केन्द्रीय सदस्यहरूको मतदानबाट पदाधिकारी चयन हुने उनले बताए । महाधिवेशनबाट समेत पदाधिकारी सर्वसम्मत निर्वाचित हुने उनले बताए ।
प्रवक्ता महराका अनुसार महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिका पदाधिकारी र सदस्यको आकार बढ्न सक्ने बताएका छन् । आइतबार नै बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था गरेको छ ।
‘केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति हुने भन्ने व्यवस्था विधान संशोधन गर्दै गर्ने निर्णय पारित गरेको छ’ प्रवक्ता महराले भने, ‘यो केन्द्रीय समितिले निर्णय गरेको हो । यसमा परिमार्जन पनि हुन सक्छ । हामी महाधिवेशनमा छलफल र बहस गर्छौं । महाधिवेशन प्रतिनिधिले दिने सुझावका आधारमा केन्द्रीय सदस्यको आकार बढ्न सक्छ ।’
केन्द्रीय समितिबाट पारित विधानअनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ । २ सय ९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट निर्वाचित हुने भएका छन् । निर्वाचित केन्द्रीय सदस्यबाट १५ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था माओवादी केन्द्रको छ ।
सर्वसम्मत पदाधिकारी चयनका लागि प्रयास गरिने तर सर्वसम्मत नभएको अवस्थामा पदाधिकारीको निर्वाचन हुन्छ । तर, निर्वाचन हुँदा त्यसको मतदाता महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य मात्रै हुनेछन् ।
माओवादी केन्द्रको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट गठन हुने उल्लेख गरिएको थियो ।
महाधिवेशनमा देशैभरिका १६ सय ८ जना प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने र समूहगत छलफल गरेर पारित गरिसकेपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।
प्रतिनिधिले खाना र बस्ने व्यवस्था आफंैले गर्नुपर्ने
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले खाना र बस्ने व्यवस्था आफंैले गर्नुपर्ने भएको छ । दिउँसोको खाजाको व्यवस्था पार्टीले मिलाउने भएको छ ।
यसअघि नै माओवादी केन्द्रको स्थायी समिति बैठकबाट प्रतिनिधिले आफ्नो खाना, बस्ने व्यवस्था आफंैले गर्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा अध्यक्ष प्रचण्डले अन्तरपार्टी निर्देशन जारी गर्दै प्रतिनिधि, प्रदेश समिति, जिल्ला समितिहरूलाई जानकारीसमेत गराइसकेका थिए ।
महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य हिमाल शर्माले प्रतिनिधिहरूले आफ्नो खाना, बस्नेलगायतका व्यवस्था आफंैले गर्नुपर्ने बताए । दिउँसोको चिया, खाजाको व्यवस्था पार्टीले महाधिवेशन स्थलमै गर्ने उनले बताए ।
‘प्रतिनिधिहरूले खाने, बस्ने व्यवस्था आफन्त, साथीभाइ र जनताको घरमा आफैं मिलाउनुपर्छ । चिया, खाजा चाहिँ पार्टीले महाधिवेशन स्थलमै खुवाउँछ’ शर्माले भने ।
महाधिवेशनको व्यवस्थापनमा खटिएका एक नेताका अनुसार खाजाका रूपमा मासु, चिउरा, पनिरलगायतका मेनु तयार पारिएको छ । यद्यपि, सकेसम्म हरेक दिन मेनु फरक–फरक बनाउने तयारी छ ।
महाधिवेशनको उद्घाटन समारोह आज अपराह्न ३ बजे काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुँदै छ । त्यसपछि सुरु हुने बन्दसत्रमा राजनीतिक, सांगठनिकलगायतका प्रतिवेदन पेस हुनेछन् । प्रतिनिधिहरूलाई समूहमा विभाजन गरेर प्रतिवेदनमा छलफल गरिनेछ ।






