सकारात्मक संकल्प छ भने जस्तोसुकै समय पनि सबल योजना बुन्न सकिन्छ । यसको गतिलो उदाहरण बनेका छन्, हेटौंडा उपमहानगरपालिका–९ वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारी । उनैको नेतृत्वमा विगतमा डरलाग्दो झाँडी र वर्षायाममा अभिश्राप खहरेले पार्कको रूप लिँदै छ । ‘एक स्थानीय तह एक पार्क निर्माण’ अवधारणाअनुसार पार्क निर्माण खोजीमा रहेको वडा कार्यालयले खहरे झाँडी सफा गरेर पर्यटकीयस्थल बनाएको छ ।
यसरी जन्मियो पार्क अवधारणा
कोरोना प्रकोपले पहिलो चरणमा देशव्यापी लकडाउन भयो । दैनिक ज्याला मजदुरी गरेर खाने वर्गको चुल्हो बल्न छाड्यो । छाक टार्नकै लागि दैनिक ज्याला मजदुरीमा जानेको बालबालिका भोकभोकै पर्न थालेपछि सबैजसो स्थानीय तहले खाद्यान्न वितरण कार्यक्रम अघि सारे । हेटौंडा उपमहानगरपालिका–९ ले पनि खाद्यान्न वितरण ग¥यो । स्वार्थ र लोभले भरिएका मानिस कोही न केही जहाँ पनि भेटिन्छन्, यहाँ पनि भेटिए । घरमा खाद्यान्न पर्याप्त भएका, काम गर्न लाज मान्ने पनि राहत थाप्न आए । ‘खानै पइनँ’ भन्दै राहत लिन आउनेलाई दिनैप¥यो ।
वडाध्यक्ष भण्डारीलाई ‘सही काम भएको’ लागेन । राहतमा वितरण गरेको चामल गाईलाई खुवाएको आफैंले देखे । ‘यस्तो चामल हामी खाँदैनौं, ऊर्जा खान्छौं भन्दै चामल गाईलाई खुवाए, अनि मैले राहत वितरण गर्ने सोच फेरें,’ भण्डारी भन्छन्, ‘सित्तैमा पाएपछि लिने र फाल्ने परम्परा हटाउन श्रममा आधारित राहत वितरण थालें ।’

पार्क निर्माण सपनाले मूर्तरूप लिने यही अवसर बन्न सक्छ भन्ने सोच झ्वाट्ट आयो । बजेट अभावका कारण डरलाग्दो झाँडी फाँड्न सकिएको थिएन । लकडाउनमा खाद्यान्न समस्या हुने घरेलु हतियार प्रयोग गरेर झाँडी फाँड्न सहभागी हुने र साँझ राहत लिएर फर्कने भन्ने उर्दी टोल विकासमार्फत उनले वडावासीलाई सुनाए । अनि साँच्चै राहत आवश्यक पर्ने काममा आउन थाले । वडाध्यक्ष भण्डारी निजी गाडीमा राहत बोकेर बाँड्न थाले ।
अहिले त्यही विगतको डरलाग्दो झाँडी आकर्षणको केन्द्रविन्दु अर्थात् व्यवस्थित दिव्य बाल उद्यान बन्नेक्रममा छ । पिकनिक स्पटसहितको पार्क । हेटौंडा–९ बेतखोल्सी सामुदायिक वन क्षेत्र र खोला किनारमा रहेको १८ बिगाहा जमिन अब विगतजस्तो पस्नै डराउनुपर्ने झाँडी छैन । बरु, मन बहालाउने रहर लाग्दो पार्कमा परिणत हुँदै छ । केही संरचना निर्माण भइसकेका छन् ।
पार्क प्रवेश गर्ने मुख्य गेट निर्माण गरिएको छ । प्रवेश गर्नासाथ विभिन्न रङको वाटर फाउन्डेसन निर्माण सम्पन्न छ । यसपछि बनेको छ, कम्युनिट नेता मदनकुमार भण्डारी र जीवराज आश्रितको आकर्षक प्रतिमा । शान्ति प्रतीक गौतम बुद्धको प्रतिमा छ ।
केही माथि नेपाल आमाको प्रतिमा राख्ने योजना रहेको वडाध्यक्ष भण्डारी सुनाउँछन् । ‘नेपाल आमाको प्रतिमा सबै भुगोलको सम्मान दर्शनेगरी राख्नेछौं,’ भण्डारी भन्छन् । । उनका अनुसार नेपाल आमाको प्रतिमामा हिमाल, पहाड तराईवासीको भेषभूषा झल्कनेगरी बनाइने छ । अन्य राष्ट्रिय विभूतिका प्रतिमासमेत राखिने योजना छ ।
‘एक स्थानीय तह एक बाल उद्यान’ नीतिअनुसार पार्क निर्माण गर्न लागिएको हो । हालसम्म यसका लागि गत आर्थिक वर्षमा ४५ लाख र चालू आर्थिक वर्षमा ३२ लाख खर्च भइसकेको छ । पार्क निर्माणका लागि बाग्मती प्रदेश सरकारले सबैभन्दा बढी लगानी गरेको छ । हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडाबाट पनि बजेट लगानी गरिएको छ । पार्कमा आन्तरिक तथा बाह्य रूपमा पिकनिक स्पट पनि तयारी छ ।

पार्कभित्र मानव सेवा आश्रमले गुलाब बगैंचा निर्माण गर्दै छ, जहाँ संसारमा पाइने सबै प्रजातिको गुलाबका फूल फुल्ने छन् । वनस्पति कार्यालय हेटौंडा, सियान पुनस्र्थापना केन्द्र, गोर्खा लहरीले निश्चित स्थान लिएर आकर्षक व्यवस्थापन गर्ने काम जारी छ । कोरोना महामारीको पहिलो लरहमा श्रममा आधारित राहत वितरण कार्यक्रम गरेर झाँडी हटाइएको हो । ‘वर्षायाममा गाउँ नै बगाउँलाजस्तो गरी आउने खहरे खोलाको बगरमा पार्क बनाउने सपना देखेकै थिएनौं,’ स्थानीय आरबी पौडेल भन्छन्, ‘इच्छा भयो भने सकिने रहेछ । खोलाले बस्ती कटान गरेर आजित थियौं, तारबेर गरेर विस्तारै व्यवस्थित गर्दै थियौं, अब त पर्यटकीय क्षेत्र नै बन्यो ।’
लकडाउनका समय दैनिक ३० जनाका दरले भौतिक दूरी कायम गर्दै काम गरिएको थियो । झाँडी सफा गर्न झण्डै २ सय जनाले श्रमदान गरेको बेतखोल्सी सामुदायिक वनका अध्यक्ष बासु प्याकुरेले जानकारी दिए । लगतै लागत सहभागितासहित उपमहानगरपालिकाले प्रदान गरेको बजेटबाट पार्कमा बाटो खोल्ने, कम्पाउन्ड पर्खाल लगाउने कार्य भएको छ ।






