यो वर्षको भैरव पुरस्कार तीन स्रष्टालाई

काठमाडौं । यो वर्षको भैरव पुरस्कार व्यंग्यकार तथा कवि नरनाथ लुइँटेललाई प्रदान गरिनेछ । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रहेको छ । भैरव पुरस्कार गुठीले आइतबार एक विज्ञप्ति जारी गर्दै तीन स्रष्टालाई यो वर्षको भैरव पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ ।

दिवंगत नेपाली साहित्यकार एवं हास्य व्यंग्यकार भैरव अर्यालको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । यसै पुरस्कारबाट यस वर्ष तीन जना स्रष्टालाई सम्मान गरिने भैरव पुरस्कार गुठीले जनाएको छ ।

पहिलोपटक यसै वर्षदेखि घोषणा गरिएको भैरव वांमय पुरस्कार २०७८ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ । पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ । नेपाली कला, साहित्य, संस्कृति, संंगीत, पत्रकारितालगायतको क्षेत्रमा विशिष्ट योगदान दिने एक स्रष्टालाई अब बर्सेनि यो पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरले विज्ञप्तिमार्फत जनाएका छन् ।

यस्तै, भैरव प्रतिभा पुरस्कार–२०७८ साहित्यकार विमल भौकाजीलाई प्रदान गरिने पनि गुठीले जनाएको छ । यो पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

व्यंग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहेका रहेको छनोट समितिले पुरस्कृत व्यक्तिहरूको चयन गरेको हो । कोरोनाको महामारी कम भएपछि यो पुरस्कार प्रदान गरिने गुठीका सचिव वसन्त रिजालले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 505 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ