काठमाडौं । २४औं शीतकालीन ओलम्पिक शुक्रबारबाट चीनको राजधानी बेइजिङमा सुरु भएको छ । शुक्रबार साँझ भएको भव्य उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले २०२२ बेइजिङ शीतकालीन ओलम्पिकको औपचारिक रूपमा उद्घाटन भएको घोषणा गरेका थिए । बेइजिङ समर र विन्टर ओलम्पिकको आयोजना गर्ने पहिलो सहर बनेको छ ।
अमेरिकालगायत केही पश्चिमा देशहरूले कूटनीतिक बहिष्कार गर्ने घोषणा गरे पनि कतिपय देशका राष्ट्र प्रमुख उद्घाटन समारोहमा उपस्थित थिए । भारतले अन्तिम समयमा आफ्नो राजदूतलाई समारोहमा सहभागी नहुने भनेको थियो ।
सन् २००८ को समर ओलम्पिकको स्मरणीय उद्घाटन समारोहको १४ वर्षपछि बेइजिङमा फेरि एकपटक राष्ट्रिय रंगशाला वेडर््स नेस्टमा विन्टर ओलम्पिकको भव्य उद्घाटन सामारोह आयोजना गर्न सफल भएको भन्दै आयोजक कमिटीका अध्यक्ष काई क्युईले खुसी व्यक्त गरे । उद्घाटन समारोहमा सहभागी देशका खेलाडी, अफिसियले मार्च पासमा भाग लिएका थिए ।
बेइजिङ २०२२ आयोजकले विश्वका लागि सरल, सुरक्षित र भव्य खेल प्रदान गर्ने वाचा गरेअनुसार उद्घाटन समारोह भएको थियो । बेइजिङ २०२२ ओलम्पिकमा ९० देशका २ हजार ९ सय खेलाडीले १ सय इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिकलाई ध्यानमा राखेर चीनले अपग्रेड गरिएको स्मार्ट बुलेटन ट्रेन अनावरण गरेको थियो । यसमा ५जी प्रविधि प्रयोग गरिएको छ । ३५० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिने बुलेट ट्रेनमा स्टुडियो स्थापना गरिएको छ ।
२००८ को ग्रिष्मकालीन ओलम्पिकका प्रयोग भएका धेरै ठाउँहरू २०२२ को शीतकालीन ओलम्पिकमा पुनः प्रयोग गरिएको छ । आउटडोर इभेन्टका लागि कृत्तिम हिउँ तयार गरिएको छ । त्यहाँ धेरै ठाउँमा हिउँ पर्दैन । ब्लुमवर्गका अनुसार बेइजिङ मानव निर्मित पाउडरमा पूर्ण रूपमा निर्भर हुने पहिलो आयोजक हुनेछ । बेइजिङ २०२२ मा १९ राष्ट्रका एक मात्र खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । मार्चपासमा उनीहरूले एक्लो महसुस नगरून् भनेर स्वयंसेवकहरूको भिडले उत्साह दिएको थियो । खेलाडीहरूले गेट अफ चाइना र चाइनाको झ्यालको रूपमा वर्णन गरिएको एक सानदार प्रवेशद्वाराबाट बेइजिङ वडर््स नेस्ट स्टेडियममा मार्चपासका लागि प्रवेश गरेका थिए ।
उद्घाटन सत्रअघि नै केही खेल सुरु भएको थियो । उद्घाटन समारोह १ सय मिनेट चलेको थियो । आतिशबाजीसँगै समारोह समाप्त भएको थियो । अनुमानित ३ हजार कलाकारहरूले समारोहमा सहभागी थिए । समारोहमा ९५ प्रतिशत किशोरकिशोरी सहभागी थिए । २००८ को ओलम्पिकको उद्घाटन समारोहका निर्देशक झाङले नै यसपटक पनि निर्देशन गरेका थिए । अघिल्लो ओलम्पिकमा झंै ग्रिस स्टेडियममा प्रवेश गर्ने पहिलो देश हो ।
भारतले पनि अन्तिममा ग-यो कूटनीतिक बहिष्कार
गलवान घटनामा संलग्न चिनियाँ सैनिकलाई ओलम्पिक टर्चवाहकका रूपमा छानेको भन्दै भारतले अन्तिम समयमा बेइजिङ ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने निर्णय गरेको थियो । भारतका एक अल्पाइन स्कियर आरिफ खानले प्रतिस्पर्धा गर्दै छन् । भारतले शुक्रबार बेइजिङमा सुरु भएको शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा राजदूत सहभागी गराएन । त्यसैगरी, भारतले समापनको समारोहमा पनि राजतूदत सहभागी नगराउने घोषणा गरेको छ ।
यसअघि अमेरिका, बेलायतलगायत केही पश्चिमा देशहरूले पनि मानवअधिकारको उल्लघंन भएको भन्दै कूटनीतिक बहिष्कारको घोषणा गरेका थिए । मध्य जुन २०२० मा गलवान झडपको परिणामस्वरूप एक कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले आफ्ना कम्तीमा चार सैनिक गुमाएको स्वीकारेको थियो । जसलाई दुई देशबीचको चार दशकपछिको सबैभन्दा रक्तपातपूर्ण भिडन्तका रूपमा हेरिएको थियो ।
भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘चिनियाँ पक्षले यस्तो घटनालाई र राजनीतिकरण गर्ने खोजेकोमा खेद प्रकट गर्दछौं ।’
उनले भारतीय राजूतलाई उद्घाटन समारोहमा उपस्थितिका लागि निमन्त्रणा आएको थियो । यसैगरी, उद्घाटन समारोहमा नेपालको दूतावासले सहभागिता जनाएको छ । नेपालका कुनै पनि खेलाडी यसपटकको विन्टर ओलम्पिकका लागि छनोट नभएका कारण नेपाली टिम सहभागी हुन पाएन । जसका कारण नेपालको प्रतिनिधित्व दूतावासले गर्ने यसअघि नै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बताएका थिए । चीनको मानवअधिकारको विषयलाई लिएर पश्चिमा देशहरूले ओलम्पिकमा कूटनीतिक बहिष्कारको घोषणा गरेको भए पनि भारतले आफ्नो कारण भिन्न भएको बताउँदै आएको छ ।
अस्टे«ेलिया, लिथुनिया, कोसोभो, बेल्जियम, डेनमार्क र इस्टोनियासँगै अमेरिका बेलायत र क्यानडाले खेलकुदको कूटनीतिक बहिष्कारको घोषणा गरेका छन् । यद्यपि, तिनीहरू सबैले खेलाडीहरूलाई प्रतिष्पर्धा गर्न पठाएका छन् । कुनै पनि मन्त्री वा अधिकारीले भाग लिएनन् । उद्घाटन समारोहमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, साउदी अरबका युवराज मोहमद विन सलमान सहभागी भएको एजेन्सीहरूले जनाएका छन् ।
रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले उद्घाटन समारोह अघि सी जिङ पिङलाई भेटे उनीहरूले दुवैको अमेरिकासँग पछिल्लो समय सम्बन्ध बिगे्रको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह एल सिसी र सर्वियाका अलेक्सान्डर भूमिका पश्चिमाहरूसँग बढ्दो दूरीसँगै चीनसँग आकर्षित भएको देखिन्छ । चीन साउदी अरबको तेलको सबैभन्दा ठूलो खरिदकर्ता र कतारको प्राकृतिक ग्यासको ग्राहक हो । साउदी राजकुमार माहम्मद विन सलमान, सहभागी भए । मध्य एसियाका कजाकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान, उजबेकिस्तान सबै पाँच सोभियत गणतन्त्रका नेताहरू बेइजिङ पुग्नुले घनिष्ठ सम्बन्धलाई दर्साउँछ ।
अर्जेटिना चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा सामेल हुने पहिलो ल्याटिन अमेरिकी देश बन्न तयार छ । बेइजिङमा राष्ट्रपति अल्बटो फर्नान्डेजसँग १९८१ पछि अर्जेटिनाको पहिलो आणविक ऊर्जा प्लान्ट निर्माण गर्न चीनको सहयोग’bout छलफल हुने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस उद्घाटन समारोहमा पुगे ।
सामान्यतया शीतकालीन ओलम्पिकमा उपस्थित हुँदै आएका नर्वे र स्विडेन यसपटक सहभागी भएनन् । जर्मनी, अस्ट्रिया वा स्विजरल्यान्डका नेताहरू पनि यसपटक ओलम्पिममा सहभागी छैनन् । तर, उनीहरूले बहिष्कार भने गरेका होइनन् । उनीहरूले कोरोना भाइरसको महामारीका कारण सहभागी हुन नसकेको बताएका छन् । डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्डले चीनको मानवअधिकार स्थितिमा चिन्ता व्यक्त गरे पनि कोभिड–१९ का कारण सहभागी हुन नसकेको जनाएका छन् । उद्घाटन समारोहमा ३२ विदेशी राष्ट्र प्रमुख सरकार प्रमुख राजपरिवारका सदस्य र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुख सहभागी हुने उद्घाटन समारोहअघि चिनियाँ विदेश मन्त्रालयले जनाएको थियो । विन्टर ओलम्पिक ४ देखि २२ फेब्रुअरीसम्म सञ्चालन हुनेछ ।






