जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनताको हक अधिकारविरुद्ध अब कुनै पनि षडयन्त्र भए आउने दिनमा अझ शक्तिशाली आन्दोलन हुने चेतावनी दिएका छन् ।
२७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकार र मधेसी सहिद प्रतिष्ठानले आइतबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघीय सरकारले पनि मधेसको अनुशरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘मलाई अप्ठ्यारो पर्यो भने फेरि मधेसमै आएर शक्ति आर्जन गर्छु । मधेसको निम्ति तागत पनि लगाउँछु ।’ अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धन तोड्ने षडयन्त्र पहिलो दिनदेखि नै जारी रहेको र शान्ति सम्झौता तथा १२ बुँदे समझदारी मन नपराउने नेताहरू अहिले पनि त्यसविरुद्ध लागेको आरोपसमेत लगाए ।
‘केही तत्व गठबन्धन तोड्ने षडयन्त्रमा लागेका छन,’ उनले भने, ‘तर, संविधानको रक्षा र त्यसको विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं राष्ट्रियताको रक्षा गर्ने मूलभूत उद्देश्यले निर्माण भएको गठबन्धन कुनैपनि ठूलो शक्तिको ताकतले टुट्दैन ।’
अध्यक्ष प्रचण्डले विगतमा जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनलाई दबाउने षडयन्त्रमा लागेका केही तत्व अहिले पनि त्यस्तै गरिरहेको जिकिर गरे । उनले भने, ‘क्रान्तिप्रति जहिले पनि प्रतिक्रान्ति शक्ति नै हावी हुन्छ । हामीले अहिले पनि फाइनल गोल हान्न बाँकी छ ।’
‘लामो संघर्षबाट प्राप्त भएको उपलब्धिलाई फेरि उल्ट्याउने षड्यन्त्र गरियो,’ उनले थपे, ‘जसको परिणामस्वरूप संसद विघटन गरिएको थियो । तर, जनताको बलिदानीबाट प्राप्त भएको अधिकार अन्ततः खोस्न दिइएन । देशलाई अँध्यारो सुरुङ्गमा फस्न दिइएन । परिवर्तन उल्ट्याउन दिइएन । प्रतिगमनलाई परास्त गरि हामी अन्ततः सफल भयौं ।’
अध्यक्ष प्रचण्डले जनताको जीवनमा नयाँ परिवर्तन ल्याउन क्रियाशिल सबै राजनीतिक दललाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको समेत बताए । माओवादीबाट मात्र मधेसले नयाँ आत्मसम्मान पाएको बताउँदै अध्यक्ष प्रचण्डले समावेशी समानुपातिक लोकतन्त्र माओवादी आन्दोलनको परिणाम रहेको दावीसमेत गरे । उनले माओवादी आन्दोलन उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायको मुक्तिका लागि भएको जिकिर गरे ।
अध्यक्ष प्रचण्डले मधेस प्रदेश सरकारले विगत केही समयदेखि नयाँ संदेश प्रवाह गरिरहेको भन्दै प्रदेश सरकारको खुलेर प्रशंसासमेत गरे । कार्यक्रममा मधेस प्रदेश सरकारले माओवादी सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका ३८ जना सहिद परिवारलाई एक लाख रुपैयाँका दरले आर्थिक सहयोग समेत गरेको छ । अध्यक्ष प्रचण्डले सहिद परिवारलाई उक्त रकम हस्तान्तरण गरे । सहिद परिवारहरूलाई तीन चरणमा तीन लाख रुपैयाँ दिने सरकारको योजना छ ।






