गुल्मी । गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ परिवारले लालपुर्जा पाएका छन् । उनीहरू सडक निर्माणका कारण गाउँ नै पहिरोको जोखिममा परेपछि २२ वर्षदेखि घमिरकै सिलादीस्थित सार्वजनिक जग्गामा बसोबास गर्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित थिए ।
सार्वजनिक जग्गामा सुकुम्बासीका रूपमा बसोबास गरिरहेका दलित विपन्न परिवारको आधारभूत मानव अधिकार र नागरिक हकबाट वञ्चित भएको विषयलाई लिएर स्थानीय तहको आलोचना भएको थियो । साथै ‘११ दलित परिवार २१ वर्षदेखि लालपुर्जाविहीन, आधारभूत आवश्यकताबाट समेत वञ्चित’ शीर्षकमा दुई वर्षअघि राजधानी राष्ट्रिय दैनिकमा पनि समाचार प्रकाशित भएको थियो । मालिकाले जनप्रतिनिधि निर्वाचित भएकै वर्षबाट सुकुम्बासी व्यावस्थापनको प्रयास गरिरहेको थियो । उनीहरूलाई गाउँपालिकाले स्थानीय डिही भन्ने स्थानमा जग्गा खरिद गरेर बसोबासको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख रितबहादुर थापाले बताए ।
सिलादीको वन नजिकै ५४ वर्षीया जुठे सुनारले उर्जाशील २२ वर्ष बिताए । घर चुहिने थियो । पिउने पानी र बिजुलीबाट पनि वञ्चित थिए । यनीहरूले लालपुर्जाको आशमा थुप्रैपटक आश्वासन मात्र पाएका थिए । तर, अहिले गाउँपालिकाले लालपुर्जा नै वितरण गरेको छ । ‘लालपुर्जा पाइने आशमा थुप्रै वर्ष बितेको थियो, तर अहिले हातमा पुर्जा नै आयो ।’ उनले भने, ‘लालपुर्जाले मुहारमा खुसी छाएको छ ।’ सोही ठाउँकै ७० वर्षीय गोरे सार्कीले लालपुर्जा पाएपछि संसार जिते जस्तै महसुस भएको प्रतिक्रिया दिए । ‘लालपुर्जा मात्रै पाएको भए गरिबलाई हात्ती दान दिए जस्तै हुन्थ्यो ।’ उनी भन्छन्, ‘गाउँपालिकाले घरसँगै पानी बिजुली दिने भएकाले खुसी छौं ।’
गाउँपालिकाले प्रतिपरिवार जग्गा खरिदको लागि ५० हजार व्यवस्था गरेको छ भने घर पनि गाउँपालिकाले नै निर्माण गरिदिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । घरका लागि प्रतिपरिवार २ लाख गाउँपालिकाले उपलब्ध गराउने गिरीले जानकारी दिए । गाउँपालिकाले प्याकेजमै विपन्न परिवारको व्यवस्थापनको योजना अगाडि बढाएको छ । १२ घर परिवारले अहिले भर्खरै जग्गा खरिद गरेर लालपुर्जा पाएका छन् । अब एकीकृत बस्ती निर्माणको काम तत्काल अगाडि बढाइने गाउँपालिकाले जनाएको छ । विपन्न दलित परिवारलाई आफूहरूले गाउँपालिकाका सेवासुविधा उपलब्ध गराउन खोजे पनि कानुनी प्रक्रिया पूरा गर्न लालपुर्जा आवश्यक भएकाले समस्या भइरहेको गिरीको भनाइ छ ।






