पोखरा, २९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहीवार दोस्रो दिन पनि गण्डकी प्रदेशसभा बैठकमा अवरोध गरेको छ । यसअघि बुधबार काँग्रेसले संसद् अवरोध गरेको थियो । सरकारले आफूसँग गरेका वाचा पूरा नगरेको भन्दै काँग्रेसले बैठकमा अवरोध गर्दै आएको छ ।
काँग्रेसको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले सांसदलाई बस्न आग्रह गर्दा समेत अवरोध कायम भएपछि बैठक स्थगित गरी शुक्रवार बिहान ११ बजे बस्ने जानकारी गराए ।
विशेषगरी प्रदेशसभा सचिवालय सम्बन्धी विधेयक र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा काँग्रेसको असहमति छ ।
विशेषगरी प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा काँग्रेसको असहमति रहँदै आएको छ ।
प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकका कतिपय बुँदाप्रति असहमतिका बाबजुद पनि विधेयक विधायन समितिबाट गत १३ फागुनमा बहुमत आधारमा पास भएको थियो ।
प्रस्तावसँगै सरकारका गतिविधिको विरोध गर्दै काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले विधेयक संशोधन नभएसम्म संसद् चल्न नदिने बताए । संशोधन नभए संसद अवरोध जारी राख्ने उनले बताए ।
सचिवालयका सचिवको काम कर्तव्य, योग्यता र पदावधि, पारिश्रमिक तथा अन्य सुविधा, उपचार खर्च, उपदान लगायत विषयमा काँग्रेसले असहमति जनाउँदै विधेयक संशोधन गर्न माग गरेको छ ।





