भगवती लेमिनेट्स राजस्व छली प्रकरण : अपराधबाट उम्कन शक्तिकेन्द्रमा दौडधुप


काठमाडौं । २५ करोडभन्दा बढी राजस्व छली प्रकरणमा छानबिनमा परेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रमा दौडधुप गरिरहेको पाइएको छ । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्सका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर छानबिन गर्दै आइरहेको छ ।

छानबिनकै क्रममा राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरे पनि उनीहरूले सो विवरण दिन आलटाल गरिरहेका छन् । राजस्व अनुसन्धान कार्यालयले ढेड साताअघि नै सबै सञ्चालकसँग विवरण माग गरे पनि हालसम्म उनीहरूले कुनै विवरण बुझाएका छैनन् । विवरण बुझाउनुको साटो केही सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रकहाँ धाइरहेको बुझिएको छ । केही समय अघि मात्रै राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिका सातै जना सञ्चालकलाई बयानका लागि बोलाए पनि तीन जनाले मात्रै बयान दिएका थिए । सञ्चालक रजनीश कर्नानी, सन्तोष आचार्य र रतनलाल अग्रवाल बयानका लागि गएका थिए भने बाँकी सञ्चालक निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्र अग्रवाल र बेनित अग्रवाल हालसम्म पनि बयानका लागि गएका छैनन् ।

बैंक स्टेटमेन्ट र खाता विवरण दिन आलटाल
–राजस्व अनुसन्धान कार्यालयलाई चुनौती
–चार सञ्चालक अझै गएनन् बयानमा


स्रोतका अनुसार भगवती लेमिनेट्सका सञ्चालकमाथि राजस्व छलीमा मुद्दा दायर हुने धेरै प्रमाण भेटिन थालेपछि उनीहरू त्यसबाट उम्कन विभिन्न राजनीतिक दलका नेताहरू र उच्च सरकारी अधिकारीलाई भेटेर प्रभाव पार्ने कोसिस गरिरहेका छन् । ‘राजस्व छलीमा मुद्दा दायर हुने धेरै प्रमाण भेटिन थालेपछि केही सञ्चालक त्यसबाट बच्न आवश्यक राजनीतिक लबिङ गर्न राजधानी आएर दौडधुपलाई तीव्रता दिएका छन्,’ स्रोतले राजधानीलाई भन्यो । राजस्व अनुसन्धान विभागले भने अनुसन्धान प्रक्रियामा कुनै प्रकारको प्रभावले काम नगर्ने स्पष्ट पारेको छ । ‘राजस्व छलीका प्रमाण केलाइरहेका छौं, छिट्टै कानुनी कारबाहीमा जान्छौं,’ विभाग स्रोतले राजधानीसँग भन्यो ।

एक वर्षको अवधिमा कच्चा बिलमार्फत ८० करोड बढीको कारोबार गरी झन्डै २५ करोड राजस्व छली गरेका आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान गर्दै आइरहेको हो ।

लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको र एकपछि अर्को गरी राजस्व छली गर्दै आएको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल (कच्चा बिल)मार्फत एक वर्षमा ८० करोड बढीको कारोबार गरेको प्रमाण फेला परेका छन् ।

भगवती लेमिनेट्सले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै सरकारलाई राजस्व छली गर्ने उद्देश्यले ८० करोडभन्दा बढीको कारोबार कच्चा बिलमार्फत गरेको पाइएको थियो ।

सो कम्पनीले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।

भगवती लेमिनेट्सका कन्ट्री म्यानेजर विकास सिहको नाममा करोडांैको चेक काट्ने गरेको भेटिएको छ । सो लेमिनेट्सले राजस्व छल्ने उद्देश्यले कारोबार गरिएका डिलरलाई संस्थाको नाममा नभई कन्ट्री म्यानेजर सिंहको नाममा चेक काट्न लगाउने गरेको छ । भगवती लेमिनेट्सको ट्याक्स प्लानिङ नीतिअनुसार सिंहको व्यक्तिगत नाममा चेक काट्ने गरिएको हो । त्यसरी विभिन्न डिलरले भुक्तानीका क्रममा भगवती लेमिनेट्सका नाममा चेक नकाटी सिंहको नाममा काट्ने गरेका कैयौं चेकको विवरण नै सार्वजनिक भइसकेको छ । सिंहको नाममा करोडौंको चेक काटिएकाले राजस्व अनुसन्धान विभागले सिहको सबै बैंक खाताको समेत अनुसन्धान गर्नुपर्ने बताएको छ । राजस्व छलीका डिजाइनरमध्येका एक सिंहलाई भने राजस्व अनुसन्धान कार्यालयले बयानका लागि बोलाएको छैन ।

राजस्वको अनुसन्धानमा अख्तियारको आँखा

भगवती लेमिनेट्सले एकपछि अर्को गर्दै करोडौं रुपैयाँ राजस्व छली गरेको विषयमा राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान थालेपछि त्यस’bout अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गम्भीर चासो राख्दै आइरहेको छ । राजधानी दैनिकले भगवती लेमिनेट्सका सञ्चालकले एकपछि अर्को गर्दै करोडौं राजस्व छली गरेको प्रमाणसहित समाचार प्रकाशन गरेपछि अख्तियारले समेत यो विषयलाई उच्च प्राथमिकतामा राखेको हो ।

अख्तियार उच्च स्रोतले राजस्व अनुसन्धान विभाग र कार्यालयले भगवती लेमिनेट्सको राजस्व छली प्रकरणलाई टुंगोमा पु-याउने गरी छानबिन गर्नुपर्ने बताएको छ । ‘भगवती लेमिनेट्सबाट भएको राजस्व छलीका विषय राजधानीलगायतका सञ्चार माध्यममा लगातार आएपछि हामीले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएका छौं, राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमाथि आवश्यकताअनुसार हाम्रो पनि निगरानी हुनेछ’ अख्तियार उच्च स्रोतले राजधानीसँग भन्यो ।

तपाइको प्रतिक्रिया
(Visited 805 times, 1 visits today)

epaper

ताजा समाचार

बाल मन्दिरमा भएको ठगी अभियोगमा पक्राउ व्यक्ति सार्वजनिक