चार महिनामै ४ लाखले खोले डिम्याट खाता

काठमाडौं । सेयर बजार लगानीका लागि अनिवार्य बनेको हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या ५० लाख नाघेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मंगलबारसम्म ५० लाख ७ हजार २ सय ४२ जनाले डिम्याट खाता खोलेका छन् । चालू आर्थिक वर्षको बितेका पछिल्लो चार महिनामा मात्र थप ४ लाख जनाले डिम्याट खाता खोलेका छन् । गत कात्तिकको तेस्रो सातासम्म कुल ४६ लाखले यस्तो खाता खोलेका थिए ।

सेयर बजारतर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएपछि सरकारले सेयर धितो कर्जालाई थप कडाइ गरेको छ । यस्तो अवस्थामा पनि सेयर भर्नेहरूको पहुँच दुर्गम गाउँको सामान्य किसान र मजदुर परिवारसम्म पुगिसकेको छ ।

संख्या ५० लाख नाघ्यो

गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको संख्यामा रहेको डिम्याट खाता खोल्नेहरूको संख्या अत्यधिक रूपमा बढेर चालू आवको १७ बितेका साढे ८ महिनाको अवधि १६ फागुनसम्ममा ५० लाख जना नाघेको छ ।

सीडीएससीले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार मेरो सेयरको संख्या पनि वृद्धि भएर ४१ लाख नाघेको छ । गत असार मसान्तसम्म कुल २८ लाख ५५ हजार रहेको मेरो सेयरको संख्या बढेर यो अवधिमा ४१ लाख १९ हजारभन्दा बढी रहेको छ ।

यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा सहज बनाउन तथा सेयरको अभिलेखीकरण कार्य गर्न निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको संख्या गत आवको अन्त्यमा ७८ रहेकामा अहिले बढेर ८२ पुगेको सीडीएससीले जनाएको छ । सेयर बजारमा धितोपत्रको कारोबारका साथै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को आवेदनमा समेत डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको धितोपत्र बोर्डको बुझाइ छ ।

प्राथमिक बजारतर्फ प्राथमिक निष्कासन, हकप्रद निष्कासन, ऋणपत्र तथा सामूहिक लगानी योजना गरी सबै निष्कासन अनुमति रकममा उच्च बढोत्तरी आएको छ । कम्पनीको आईपीओे निष्कासनमा भाग लिनेको संख्या उल्लेख्य बढ्नुले धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढेको पुष्टि हुन्छ । पछिल्लो समय कम्पनीले निष्कासन गर्ने आईपीओमा २५ लाखभन्दा बढीले आवेदन गर्दै आएका छन् ।

सूचना प्रविधिको पहुँच विकास र विस्तारले सेयर बजारमा कारोबार गर्नेको संख्या उल्लेखनीय रूपमा बढेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । हाल बोर्डलगायत धितोपत्र बजारसम्बद्ध निकायबाट सेयर बजारलाई प्रविधिमैत्री, लगानीमैत्री एवं देशव्यापी बनाउन विभिन्न काम भएका छन् ।

के हो डिम्याट खाता ?
डिम्याट भनेको अंग्रेजी शब्द ’डिमेट्रिलाइज्ड्’ को छोटो रूप हो । यसको नेपाली अर्थ अभौतिक हुन्छ । भौतिक अर्थात् कागजी सेयर प्रमाणपत्रलाई अभौतिक एवं अनलाइन प्रणालीको व्यवस्था गरिनु नै डिम्याट खाता हो ।

सीडीएससीका अनुसार सेयर जम्मा गर्ने अनलाइन प्रणाली नै डिम्याट खाता हो । डिम्याट खाता पनि बैंक खाताजस्तै हो । धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट एवं (डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ । हाल धितोपत्र दलाल, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधिलगायत संघसंस्थाले धितोपत्र बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरिरहेका छन् । आफूलाई पायकपर्ने कुनै कम्पनीमा गएर ’डिम्याट’ खाता खोल्न सकिन्छ । जसका लागि सम्बन्धित व्यक्तिको नागरिकताको फोटोकपी र दुईप्रति पासपोर्ट साइजको फोटो चाहिन्छ । नाबालकका लागि भने संरक्षकको नागरिकतासँगै जन्मदर्ता प्रमाणपत्र चाहिन्छ । डिम्याट खाता खोल्दा सम्बन्धित कम्पनीले बैंकको जस्तै चेकबुक दिन्छ । सेयर बिक्री गर्दा चेक काटेर दिनुपर्छ ।

डिम्याट खाताको व्यवस्था भएपछि हाल कागजी प्रमाणपत्र छपाइ तथा कारोबार हटेको छ । सेयर खरिद गर्नेहरूले अनलाइन प्रणालीबाट सिधै डिम्याट खातामा पाउने र बेच्नेको खाताबाट घट्ने गरेको छ । हाल यस्तो खाता विभिन्न बैंक वा उनीहरूका सहायक कम्पनीहरूमा सहजै खोल्न सकिन्छ । यसैगरी, कतिपय ब्रोकर कम्पनीले पनि डिम्याट खाता खोलिदिने गरेका छन् । यस्तो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट अर्थात (डीपी) भनिन्छ । यस्तो डीपीको संख्या पनि अहिले बढेर ८२ वटा पुगेको छ । यी ८२ संस्थामध्ये जुनसुकैमा डिम्याट खाता खोल्न सकिन्छ ।

डिम्याट खाता खोलिसकेपछि डिम्याट खाता नम्बर प्राप्त हुन्छ । तिनै संस्थामा आईपीओ भर्नका लागि आवश्यक अनलाइन प्रणाली ‘मेरो सेयर’को युजरनेम र पासवर्ड लिन सकिन्छ । त्यो युजरनेम र पासवर्ड प्रयोग गरी अनलाइन प्रणाली मेरो सेयरमार्फत आईपीओ भर्न सकिन्छ । यसैगरी, आफ्नो खातामा भएको सेयर पनि हेर्न र बेचिसकेपछि ट्रान्सफर गर्न पनि सकिन्छ । हाल यस्तो डिम्याट खाता नभएसम्म आईपीओ पनि भर्न पाइँदैन र दोस्रो बजारबाट सेयर खरिदबिक्री गर्न पनि पाइनेछैन ।

भौतिक (कागजी) सेयरको कारोबार गर्दा हुने विभिन्न झन्झट न्यूनीकरण गरी सेयर बजारलाई व्यवस्थित, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले हाल डिम्याट सेयर मात्र कारोबार भइरहेको हो । यो व्यवस्था लागू भएसँगै हाल प्राथमिक निष्कासनमा परेको सेयर डिम्याट रूपमै पाइन्छ । अहिले यहाँहरूलाई परेको सेयर यहाँहरूको डिम्याट खातामा सिधै जम्मा हुन्छ । यसकारण सेयर फारम भर्दा डिम्याट खाता अनिवार्य चाहिन्छ । जसका लागि सीआरएन नम्बर चाहिन्छ । खाता रहेको बैंक तथा वित्तीय संस्थाले सीआरएन नम्बर उपलब्ध गराउँछन् । अहिले यो अनिवार्य गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित