मुम्बई । अमिताभ बच्चनको फिल्म झुन्ड हेरेर अर्का अभिनेता आमिर खानले आँशु थाम्न सकेनन् । यो फिल्मको प्रिमियरमा पुगेका आमिर फिल्म हेर्ने क्रममा रोएका हुन् ।
‘फिल्म मैले हेरें । हेर्दै जाँदा यति धेरै मन छोयो कि पटकपटक म त रोएछु,’ यो फिल्म हेरिसकेपछि आमिरले भने । आपूmलाई फिल्म साह्रै मन परेको पनि उनले बताएका छन् ।
फिल्म हेरेर निक्लँदै गर्दा मिडियासँगको कुराकानीमा आमिरले बताए । आपूmले अमिताभ बच्चनको अहिलेसम्म हेरेको फिल्ममध्य यो फिल्म उत्कृष्ट लागेको पनि आमिरले दाबी गरेका छन् । फिल्म शुक्रबारबाट विश्वव्यापी रूपमा सिनेमा हलमा रिलिज भएको छ । यो फिल्म हेर्न प्रिमियर शोमा पुगेका अधिकांश दर्शकको आँखामा आँसु थियो ।
फिल्म हेर्ने क्रममा आमिर खान रोएको भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । उनले पटकपटक आफ्नो टिसर्टले आँसु पुछेका छन् । यो फिल्मको पीडाले जसलाई पनि छुने आमिरको दाबी छ । फिल्म झुन्डको निर्माण संस्था टी सिरिजले सो भिडियो सार्वजनिक गरेको हो । आमिरले यो फिल्मका निर्माता भूषणकुमारलाई अहिलेसम्मकै राम्रो फिल्म बनाएको भन्दै झुन्डको प्रशंसा गरेका छन् ।






