दोलखा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानियको लागी तामाकोशी जलबिद्युत आयोजनाले सेयर बितरण गर्दा न्याय नगरेको बताएका छन् ।
कर्मचारीहरुलाई कम्तीमा २ सय ९३ कित्ता शेयर दिने आयोजनाले स्थानियलाई ३४ कित्ता सेयर दिएर अपमान गरेको आरोप देउवाले लगाए । नयाँ खिम्ती सवस्टेशन उद्घाटनको लागी आएका प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । रामेछापको फुलासीमा निर्माण गरिएको उक्त सवस्टेशनको क्षमता २२०/ १३२ केभीको रहेको छ ।
शनिबारै दोलखाको बिगु गाउँपालिका १ गोगँरखोलामा पुगि प्रधानमन्त्रीे देउवो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा सहयोग गर्ने संघ संस्थालाई प्रसंसापत्र प्रदान गरे । कार्यक्रममा प्रधानमन्त्रि देउवाले अबका दिनमा देशमा बन्ने जलबिद्य्त आयोजना तामाकोशी मोडलमा निमार्ण गर्न निर्देशन दिए ।
प्रधानमन्त्रीले जलबिद्युत आयोजना निमार्ण गर्न खोला दर्ता गरेर झोलामा बोक्नेहरुले स्थानियको भावाना समेटेर बिद्युत उत्पादन गर्नु पर्ने धारण राखे । ‘विकास निमार्णका काम जनताको पक्षमा हुनुपर्छ, केही ब्यक्तिको स्वार्थमा होइन ।’ देउवाको भनाई थियो ।
स्वदेशी लगानीमा निर्मित देशको ठूलो आयोजनाको बिजुली काठमाडौं उपत्यका भित्र्याउनका लागि महत्वपूर्ण मानिएको उक्त सवस्टेशन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
‘ढल्केबरपछि यो सवस्टेशन अर्को ठूलो हो । ढल्केबर ४०० केभी र न्यू खिम्ती २२० केभी क्षमताको हो ।’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने ‘लामोसाँघु–काठमाडौं प्रसारण लाइनमार्फत तत्काल ९० मेगावाट बिजुली प्रवाह गरिएको छ ।’
कूल ४५६ मेगावाट क्षमताको तामाकोशीका हाल ६ युनिट सञ्चालनमा आएका छन् । एउटा युनिटको क्षमता ७६ मेगावाटको छ भने हाल त्यहाँबाट ४५६ मेगावाट बिजुली उत्पादन गरिएको छ ।
उक्त सवस्टेशनमा १०० केभी क्षमताको चार वटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । जडान गरिएका ट्रान्सर्फरमध्ये तीन वटा नियमित सञ्चालनमा ल्याइने र एउटा जगेडामा राखिनेछ । माथिल्लो तामाकोशीको बिजुली हाल खिम्ती– ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर पुगेपछि देशभर वितरण हुन्छ । आयोजना झण्डै ११ वर्षपछि सम्पन्न भएको हो ।
सुरुआती लागत ३५ अर्ब भए पनि प्राकृतिक विपत्ति, भारतको सीमानाकामा अवरोध तथा डिजाइनमा भएको परिवर्तन, अमेरिकी डलरमा भएको मूल्यवृद्धि तथा ठेकेदारको बदमासीका कारण लागत बढेर ८४ अर्बको हाराहारीमा पुगेको छ । यो आयोजनाले स्वदेशी लगानीमै ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने विश्वास दिलाएको छ ।
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । सो आयोजनाको कुल ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कूल जडित क्षमता झण्डै दुई हजार मेगावाट पुगेको छ ।
‘हाम्रो कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ ।’ समारोहका सभापति एवम प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ।
प्राधिकरणले माथिल्लो तामाकोशीको ४५६ मेगावाट र भोटेकोशीको ४५ मेगावाट बिजुली भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । प्राधिकरणको प्रणालीमा हाल निजी क्षेत्रका १०८ आयोजनाले झण्डै ८१५ मेगावाट बिजुली उपलब्ध गराइरहेका छन् ।






