काठमाडौं । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छाप्ने तयारी गरेको छ ।
आयोगले कुल मतदाता संख्याभन्दा १० देखि १५ प्रतिशत बढी मतपत्र आवश्यक पर्ने भन्दै करिब २ करोड मतपत्र छाप्ने तयारी भइरहेको जनाएको छ ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा करिब १ करोड ७७ लाख मतदाता स्थानीय तहको निर्वाचनमा कायम हुने भएकाले २ करोड मतपत्र छाप्ने योजना बनाइएको जानकारी दिएका हुन् ।
‘स्थानीय तह निर्वाचनमा करिब १ करोड ७७ लाख मतदाता कायम हुने आयोगको अनुमान छ, सो संख्याको १० देखि १५ प्रतिशत बढी मतपत्र आवश्यक पर्छ, त्यसो हुँदा करिब २ करोड मतपत्र छाप्नुपर्छ,’ आयोगका सहप्रवक्ता अर्यालले भने ।
मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । सो’bout निर्णय भने भइसकेको छैन् ।
आयोगले आगामी स्थानीय तह निर्वाचनमा ७९ दलले भाग लिने यसअघि नै बताइसकेको छ । यसैगरी, निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका ती दलका संगठनको ६ चैतसम्म विवरण माग गरेकोमा सोको रुजु भइरहेको आयोगले जनाएको छ ।
आयोगले हाल निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्र्दभमा देशका विभिन्न १५ स्थानमा आचारसंहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।
यसैगरी, मतदाता नामावली, परिचयपत्र निर्माण सामग्री छपाइका लागि ६ वटा फर्मसँग सम्झौता भएको, मतदाता शिक्षाका लागि निर्वाचन सामग्री उत्पादन गर्न विभिन्न फर्महरूको आवेदन लिएको र त्यस’bout अध्ययन भइरहेको आयोगले जनाएको छ ।





