पाँच दलीय वर्तमान गठबन्धन सरकारसँग विकास, सुशासन र समृद्धिको स्पष्ट योजना र त्यसलाई कार्यान्वयन गर्ने कुनै प्रभावकारी संयन्त्र छैन । यो सरकार छोटो समयमा नै पूर्णरूपले असफल सावित भइसकेको छ । सरकार गठन भएको नौ महिना बितिसकेको छ । यस अवधिमा यो सरकारले आमजनताको गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीको समस्या समाधान गर्नेगरी प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन । यी महत्वपूर्ण जनजीविकाको सवाललाई सम्बोधन गर्न सरकार पूर्णरूपमा असफल भएको छ । सरकार बाटो बिराएको यात्री जस्तै भएर भौंतारिरहेको छ ।
यदि, सरकारले इमानदारीतापूर्वक काम गरेको भए नै महिनाको अवधिमा जनताको जनजीविकाको सवालमा धेरै प्रभावकारी र क्रान्तिकारी कार्यक्रम ल्याउन सक्थ्यो । विकासका धेरै नवीन कार्यको सुरुवात गर्न सक्थ्यो । समृद्धिको जग बसाल्न सक्थ्यो तर अहँ यी कुनै पनि कुरामा सरकारको कहिल्यै ध्यान गएन ।
जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न नसक्नु नै यो सरकारको सबैभन्दा ठूलो असफलता र कमजोरी हो । अहिले केही अपवादबाहेक सरकारका धेरै मन्त्री कमाउ धन्दामा लिप्त छन् । स्थानीय तहको निर्वाचन र त्यसपछि आउने संघीय निर्वाचनमा समेत पैसाको खोलो बगाउने उद्देश्यका साथ अहिले धेरै मन्त्री र उनीहरूका आसेपासेहरू कसरी हुन्छ पैसा कमाउने ध्याउन्नमा छन् ।
सत्ताको स्वाद चाख्न पाएका केही आसेपासे, स्वार्थी जमात र हनुमानगिरी गर्नेहरूले सरकार राम्रो भनेर भजन गाइरहे पनि आमसर्वसाधारण जनताका लागि अब यो सरकारले केही गर्न सक्दैन भन्ने अनुभूति भइसकेको छ । गठबन्धन सरकारप्रति आमजनतामा घृणा जाग्न थालिसकेको छ । गठबन्धनसँग कुनै स्पष्ट योजना र कार्यक्रम छैन् । एउटा सामान्य जनता जसलाई सत्ताको स्वादसँग कुनै साइनो छैन । ऊ दिनभर आफ्नै श्रम र पसिनामा बाच्न चाहन्छ, बिहान र बेलुकी चुलो बाल्न कुनै समस्या नपरोस् भनेर ऊ दिनरात खट्छ । त्यस्ता जनतालाई सोध्ने हो भने अहिले मुलुकमा सरकार भएको अनुभूति गर्न नसकिएको जवाफ आउनेगर्छ । भ्रष्ट र सिद्धान्तहीन व्यक्ति सरकारमा रहे भने त्यसको सबैभन्दा ठूलो मारमा सर्वसाधारण जनता पर्नेगर्छन् । अहिले सत्तामा बसेकाले कसरी हुन्छ आफ्नै स्वार्थ समूहलाई मात्रै हित गर्ने र उनीहरूका परिवार तथा आसेपासेको उन्नति मात्रै हेर्ने गरेका छन् । त्यसैले पनि आमसर्वसाधारण जनता सरकारसँग रुष्ट छन् ।
यतिबेला इतिहासमा नै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । महँगीले जनता इतिहासमा नै सबैभन्दा बढी प्रताडित हुन थालेका छन् । त्यसैले भन्नैपर्ने हुन्छ कहाँ छ सरकार ? के गर्दै छ सरकार ? यदि, सरकार यसरी नै सञ्चालन हुँदै गयो भने यो सरकार आफैं रसातलमा पर्नेछ । आगामी चुनावमा सरकारमा रहेर जनविरोधी काम गर्नेहरूलाई जनताले धूलो चटाउने निश्चित छ ।
यति बेला देश चरम आर्थिक संकटमा पर्न सक्ने भए दिनानुदिन बढेको छ । आयात यति धेरै बढेको छ कि त्यसको लेखाजोखा नै हुन छोडेको छ । निर्यात अत्याधिक कम छ । अर्थविद्का अनुसार १ सय रुपैयाँ बराबरको आयात हुँदा १० रुपैयाँको मात्रै निर्यात भइरहेको छ । व्यापार घाटा अत्याधिक बढेको छ । विदेशी मुद्राको सञ्चिति समेत ह्वात्तै घटेको छ । विगतमा लगातार बढेको रेमिटेन्स आम्दानी पनि स्थिर रहन पुगेको छ भने कुनै महिना त रेमिटेन्स घटेको समेत पाइएको छ ।
अहिले इतिहासमा नै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । महँगीले जनता इतिहासमा नै सबैभन्दा बढी प्रताडित हुन थालेका छन् । त्यसैले भन्नैपर्ने हुन्छ कहाँ छ सरकार ? के गर्दै छ सरकार ? यदि सरकार यसरी नै सञ्चालन हुँदै गयो भने यो सरकार आफैं रसातलमा पर्नेछ । आगामी चुनावमा सरकारमा रहेर जनविरोधी काम गर्नेहरूलाई जनताले धूलो चटाउने निश्चित छ ।
शासक बस्ने सिंहदरबार र बालुवाटारका आलीशान महलमा जनताको चुलोलाई कसरी सस्तो बनाउने, जनताको हिंडाइ डुलाइलाई कसरी सुलभ बनाउने भन्ने विषयमा छलफल र विचार विमर्श हुन छोडेको छ । त्यहाँ त कसरी हुन्छ मिलेर लुट्ने र अकूत सम्पत्ति आर्जन गर्ने भन्नेमा नै शासक मिलिमतो गर्दै साउती मार्ने गरेका छन् । अब बढ्दो महँगी, घुसतन्त्र, भ्रष्टाचार र कमिसनतन्त्रविरुद्ध सचेत जनता आन्दोलित हुनुपर्छ । सरकारको भ्रष्ट प्रवृत्तिविरुद्ध युवा आन्दोलित हुनुपर्छ । युवा भ्रष्ट शासकको जुत्ताको तलुवा चाट्ने काममा लिप्त हुनुहँुदैन । युवा विद्यार्थीको काँधमा भोलिको देश हाक्ने जिम्मेवारी रहेकाले देशलाई योभन्दा बढी बिग्रन दिनुहँुदैन ।
अहिले सत्तामा बसेकाले कसरी हुन्छ आफ्नै स्वार्थसमूहलाई मात्रै हित गर्ने र उनीहरूका परिवार तथा आसेपासेको उन्नति मात्रै हेर्ने गरेका छन् । त्यसैले पनि आमसर्वसाधारण जनता सरकारसँग रुष्ट छन्
आगामी स्थानीय निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले तालमेल गरेर चुनाव उठ्ने निर्णय गरेका छन् । चुनाव जितेर देश तथा जनताको मुहार फेर्ने कुरा उनीहरू कहिल्यै गर्दैनन् । आफ्नै स्वार्थसिद्ध गर्न र स्थानीय सरकारमा पनि आफ्नै प्रतिनिधिलाई जिताएर लुटको स्वर्ग कायम गर्न उनीहरू उद्धत देखिन्छन् । अब स्थानीय स्तरमा आमजनता र स्वयं सत्ताधारीका सामान्य समर्थक पनि सचेत र संवेदनशील हुनैपर्ने अवस्था आएको छ । भ्रष्ट नेता तथा शासकले के बुझ्न जरुरी छ भने जनता कसैका दास होइनन् । अबका नेपाली जनता निकै सचेत र जागरूप भइसकेका छन् । कसैलाई सत्तामा पु¥याएर लुटतन्त्र मच्चाउने अभियानमा सहयात्रा गर्न जनता तयार हुने छैनन् । अहिले गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेकाले उनीहरूले अब केही गर्लान् भन्ने विश्वास आमजनतामा छैन । त्यसैले पनि गठबन्धन दल तालमेल गरेकै भरमा जनताले फटाफट भोट हाल्नेछन् भन्ने भ्रम कसैले पनि नपाल्दा हुन्छ । मतदाता सबै कार्यकर्ता होइनन् । यद्यपि, कार्यकर्ता आफंै पनि विभाजित हुनेछन् ।
त्यसमा पनि हरेकजसो निर्वाचनमा निर्णायक मत तटस्थ भोटरकै हुन्छ । त्यसैले तटस्थ मत जता पर्छ उसैले निर्वाचन जित्ने छन् । तटस्थ मतदाताले पनि वर्तमान गठबन्धन र तिनका प्रतिनिधिलाई भोट हाल्ने सम्भावना निकै कम देखिन्छ किनकि सत्तामा रहेकाबाट भएका जनविरोधी हर्कत’boutमा तटस्थ भोटर र सर्वसाधरणले निकै संवेदनशील भएर हेरिरहेका छन् । सम्भवतः आगामी २०६९ सालभित्र हुने वैशाख ३० को स्थानीय तहको निर्वाचन तथा त्यसपछि हुने संघीय र प्रदेशको निर्वाचनले भ्रष्टाचारमा लिप्त हुनेलाई पाखा लगाएर मुलुकको विकास र समृद्धिका लागि दत्तचित्त हुनेलाई सत्तामा ल्याउनेछन् । चुनाव जित्न प्रयोग हुने साम, दाम, दण्ड, भेदलाई जनताले पूर्णरूपमा असफल पारिदिनेछन् । सचेत र जागरूप जनता त्यो दिनको प्रतीक्षामा छन् । जय जनता !






