अब काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ

काठमाडौं । संघ सरकारले लामो दूरीको सवारी साधनको भाडा समायोजन गर्दै वृद्धि गरे लगत्तै छोटो दुरीका सार्वजनिक तथा मालबाहक सवारी साधनको पनि भाडा वृद्धि भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले लामो दूरीको भाडा समायोजन गरेको एक सातामा नै बाग्मती प्रदेश सरकारले पनि प्रदेशभित्र सञ्चाल नहुने छोटो दूरीका सवारी साधनको भाडा वृद्धि गरेको हो ।

बाग्मती प्रदेश सरकारअन्तर्गतको श्रम, रोजगार तथायातायात मन्त्रालयले आगामी १ वैशाख अर्थात् नयाँ वर्षदेखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीका सवारी साधनको भाडा वृद्धि गरेको हो ।

गत २४ चैतको मन्त्रिस्तरीय निर्णयअनुसार भाडा समायोजन गरिएको र अब पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढी वा घटी भएमा सोहीबमोजिम सवारी साधनको भाडा समायोजन गरिने प्रदेश सरकारले जनाएको छ ।

सार्वजनिक तथा मालबाहक सवारी साधनको १५ प्रतिशतसम्म भाडा वृद्धि भएसँगै अब हरेक क्षेत्रमा मूल्यवृद्धि हुने र यसको असर सामान्य आयस्रोत भएका नागरिकको थाप्लोमा पर्ने देखिएको छ ।

काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारी साधनमा चढ्नेबित्तिकै २० रुपैयाँ भाडा लाग्ने भएको छ । आगामी १ वैशाखदेखि लागू हुने भाडाअनुसार ५ किलोमिटर (किमी)सम्मको भाडादर २० रुपैयाँ कायम गरिएको छ । यसअघि १८ रुपैयाँ रहेको थियो । प्रदेश सरकारले १० किमीसम्मको भाडा २५ रुपैयाँ, १५ किमीसम्म ३० रुपैयाँ, २० किमीसम्म ३३ रुपैयाँ र २० भन्दामाथि दूरीका लागि ३८ रुपैयाँ भाडा कायम गरेको छ । उक्त भाडादरअनुसार १३ प्रतिशतसम्म भाडा वृद्धि गरिएको पाइएको छ ।

काठमाडौं उपत्यकाबाहेकका स्थानमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा भने हाल लागू भएको भाडादरमा १० प्रतिशत वृद्धि गरिएको छ ।

प्रदेश सरकारले मालवाहक सवारी साधनको भाडा पनि १३ प्रतिशत वृद्धि गरेको छ । प्रदेश भाडा निर्धारण÷समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८ को दफा ४ बमोजिमको भाडा निर्धारण÷समायोजन सिफारिस समितिले साविकको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ६ असोजमा पेस गरेको प्रतिवेदका आधारमा ११ दशमलव ९१ किमी प्रतिटनका लागि सिफारिस गरिएको भाडामा १३ प्रतिशतले वृद्धि गरी १३ दशमलव ४५ प्रतिकिमी प्रतिटन कायम गरिएको मन्त्रालयले जनाएको छ ।

गत २० चैतमा संघ सरकारले लामो दूरीका सवारी साधनमा १५ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । यसअघि गतअसार अन्तिममा २८ प्रतिशतसम्म भाडा वृद्धि भएको थियो ।

संघ सरकारले पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बढाएको छ ।

यसअघि, गत २७ असारमा यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा भाडादर समायोजन गर्दै लामो दूरीका सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । विभागले यात्रुबाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियो भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।

सरकारले अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै पटकपटक सवारी साधनको भाडा वृद्धि गर्दै आएपछि सर्वसाधारणलाई राहतमूलक कार्यक्रम ल्याउनेमा भने लागेको देखिएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 992 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम