१५ जेठबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसैघन्टा सञ्चालनमा


काठमाडाैं । पछिल्लो समय बड्दो हवाई यात्रुको चाप र उडान असहजतालाई मध्यनजर गरी नेपाल नागरिक उड्डययन प्राधिकरणले आगामी १५ जेठदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घन्टा सञ्चालन ल्याउने भएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । उनले देशभरको हवाई यातायातको चाप घटाउन पहिले काठमाडौं विमानस्थललाई २४ घन्टा सञ्चालनमा ल्याउन लागेको बताए ।

उनले आगामी १५ जेठमा पर्ने गणतन्त्र दिवसको दिनदेखि नै काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घन्टा सञ्चालनमा ल्याइने तयारी भइरहेको बताए । यसअघि २०७५ सालको जेठमा पनि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बिहान ६ देखि राति १२ बजेसम्म १८ घन्टा सञ्चालन हुँदै आएको काठमाडौं विमानस्थललाई तीन घन्टा थपेर २१ घन्टासम्म सञ्चालनमा ल्याएका थिए । यो निर्णय भएको १० महिनापछि काठमाडौं विमानस्थलको धावनमार्ग रातको समयमा जीर्णोद्धार गर्ने ठेक्काको समय सुरु भएपछि पुनः उडान सञ्चालनको समय घटेको थियो ।

त्यसपछि २०७६ सालमा देखापरेको कोभिडका कारण लकडाउन लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा यस विमानस्थल सञ्चालनको समय पनि खुम्च्याइएको थियो । यसैगरी, प्राधिकरणले बिहीबारदेखि भैरहवास्थित गौतम बुद्ध विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउँदै छ ।
‘८ वैशाखदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउँदै छौं,’ महानिर्देशक अधिकारीले भने । उनले आगामी ८ वैशाखदेखि आन्तरिक उडान भर्ने बुद्ध, यती, श्री, गुण र सौर्य गरी पाँचवटा वायुसेवाले नयाँ धावनमार्ग प्रयोग गर्ने जानकारी दिए ।

प्राधिकरणका अनुसार अब चालकले आगामी ८ वैशाखपछि भैरहवाको पुरानो धावनमार्गलाई चिन्ने छैनन् । ‘हामीले नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, विमानस्थलमा रहेका सुविधा’bout विस्तृत प्राविधिक जानकारी एयर¥याक (एरोनटिकल इर्न्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल)मा प्रकाशन गरिसक्यौं । अब पाइलटले ककपिटमा र आफ्ना उपकरणमा भैरहवा विमानस्थलको पुरानो संरचनालाई चिन्ने छैनन,’ उनले भने । उनीहरूले अध्यावधिक गरिएको धावनमार्गलगायतको प्राविधिक सूचना जेप्सन चार्टमार्फत पाउने भएकाले नयाँ धावनमार्ग बिहीबारदेखि सञ्चालन हुन लागेको हो ।

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीबारदेखि सञ्चालन हुने भए पनि अहिले अन्तर्राष्ट्रिय उडान भने आगामी २ जेठमा पर्ने बुद्धजयन्तीबाट हुनेछन् । तर, विदेशबाट आएका विमान सिमराको आकाशमा होल्डमा फन्को लगाउनुपर्ने अवस्था आइहाले अब बंगलादेश र भारततर्फ डाइभर्ट हुनुपर्नेछैन । ‘अब विदेशी विमानले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै इमरजेन्सी कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्ने उनले बताए । उनले त्यहाँको टावर गत फागुन पहिलो सातादेखि नै सञ्चालनमा ल्याइसकेकाले न्यारोबडी र वाइडबडीका लागि भैरहवाको धावनमार्ग तयार भएको बताए ।

कोरोनाको असर कम देखिएसँगै हाल काठमाडौं विमानस्थलमा यात्रुको अत्यधिक चाप देखिन्छ । आन्तरिक उडान ५ घन्टासम्म डिले भइरहेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार, दैनिक ३ सय ७० हाराहारी उडान भइरहेको काठमाडौंमा ४ सय १६ सम्म हुन थालेका छन् । दैनिक कम्तीमा २५ हजार यात्रु ओहोरदोहोर भइरहेका छन् । हाल बेला बेलामा हुने खराव मौसमका कारण पनि यहाँको उडान प्रभावित भएकाले यात्रुको चाप टर्मिनल भवनले थेग्न सकिरहेको छैन । ‘आन्तरिक टर्मिनलले प्रतिघन्टा ४ सय र अन्तर्राष्ट्रिय टर्मिनल भवनले प्रतिघन्टा १२ सय यात्रुलाई सेवा दिने क्षमता हो । तर, हामी यो क्षमताभन्दा बाहिर धान्नै नसक्ने अवस्थामा गइसक्यौं,’ महाप्रबन्धक ठाकुरले भने ।

यो समस्या तत्काल हल गर्ने उद्देश्यले अब प्राधिकरणले रात्रि उडान सुविधा भएका भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणले जनाएको छ । यसअघि राति बढीमा १० बजेसम्म विमानस्थल खुल्थे ।

यो निर्णयले स्थानीय सहरमा कोभिडको मार खेपेका होटल, ट्याक्सीलगायतका पर्यटन व्यवसाय पनि चलायमान हुनेछन् । यसैगरी, काठमाडौंले क्षमताभन्दा बढी थेग्नुपरेको चापमा पनि कमी आउनेछ । उडान ढिलाइ भएकै कारण घन्टौं यात्रुले विमानस्थलको भुइँमा बस्नुपर्ने, बालबालिकाले बेहोर्नुपर्ने सास्ती हटेर जाने प्राधिकरणले जनाएको छ ।

यसैगरी, प्राधिकरणले ७० वर्षअघिका देशभरका सबै टर्मिनल भवनलाई दुई वर्षभित्र भत्काएर नयाँ व्यावसायिक बनाउने बताएको छ । भारतको सहयोगमा बनाइएका भवन चुहिने, यात्रु क्षमता र सुविधा पनि अहिलेको समयअनुसार नभएकाले सबै भवन तत्काल विस्थापन गर्ने र अब बन्ने भवन आधुनिक क्याफे शैलीका बनाउने प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 544 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाँण र पूर्वसचिव पाण्डे दोषी ठहर (फैसलासहित)