निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नसर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागि परेको आशंका गरिरहेको बेला अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन भित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको प्रष्टयाएका हुन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धन दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँडको विषयमा आज बेलुकासम्म सहमति जुटने दावी समेत गरे । अहिले आफू गठबन्धन दलहरुबीचको छलफलबाटै आएको र बेलुकासम्म सहमति जुटने उनको भनाई थियो । अध्यक्ष दाहालले भने ‘६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । महानगर टुंगिनेको नजिक छ । बेलुकासम्म महानगर र उपमहानगरपालिकाको तालमेल निष्कर्षका पु-याउने छौं ।’

शिक्षा र रोजगारीलाई चुनावमा प्रमुख एजेन्डा बनाउने अध्यक्ष दाहालको भनाई थियो ।

भरतपुर र रेणु दाहाल नै चाहिन्छ भनेका छैनौं
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताएका छन् । पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले भने, ‘हामीले भरतपुर महानगरपालिका नै चाहिन्छ भनेका छैनौं । हामीलाई काठमाडौं भए पनि हुन्छ । अरू कुनै महानगरपालिका भए पनि हुन्छ । बाहिर भनेजस्तो हामीले भरतपुर नै चाहिन्छ, रेणु नै चाहिन्छ भनेका छैनौं ।’

महानगरपालिको विषयमा सहमति नजिक पुगिसकेको भन्दै उनले उपमहानगरपालिकाको विषयमा पनि सहमतिअनुसार नै अगाडि बढ्ने बताए । अहिले पाँचदलीय गठबन्धनको बैठक र कार्यदलको बैठकमा छलफल भइरहेको र आजै वा भोलिसम्ममा टुंगोमा पुगिने बताए ।

अर्थमन्त्री फेर्ने सम्भावना छैन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताएका छन् । पत्रकारले सोधेको प्रश्नमा उनले अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको बताए । हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन गरेपछि हाल उनी निलम्बित अवस्थामा छन् । गभर्नर निलम्बनको विषयलाई लिएर मन्त्री शर्माको आलोचना भइरहेको छ ।

गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले संविधानविरोधी गतिविधि गर्दै आएको समूह अहिले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन लागिपरेको आरोप लगाए ।

‘हिजो संविधानविरोधी गतिविधि भयो । यसविरुद्ध हामी गठबन्धनआवद्ध दल लड्यो,’ प्रचण्डले भने, ‘अहिले गठबन्धन र तालमेलका नाममा गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजिएको छ । विचार र सिद्धान्त नै फरक भएका दल, धर्मनिरपेक्षताको एजेन्डा बोकेका दल र हिजो संविधानविरोधी गतिविधि गरेकाबीच गठबन्धन र तालमेल भएकाे छ ।’

उनले स्थानीय तहको निर्वाचन निर्धारित मिति ३० वैशाखमै हुने जानकारी दिए । निर्वाचन सर्ने हल्ला फैलाइएको भन्दै उनले कुनैै पनि हालतमा निर्वाचन नसर्ने बताए । सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा सहमतिमा उम्मेदवार उठाउने जानकारी दिँदै प्रचण्डले सोमबार नै बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार