काठमाडौं । म्युजिक भिडियोमा निरन्तर अभिनय गरेर नेपाली संगीत क्षेत्रलाई विशिष्ट योगदान पु¥याएको भन्दै अभिनेता राजेश हमाल शनिबार काठमाडौंमा एक समारोहबीच सम्मानित भएका छन् ।
अभिनेता राजेश हमाल केही वर्षयता म्युजिक भिडियोको अभिनयमा सक्रिय छन् । उनले चलचित्रमा काम नगरेको आधा दशक भयो । यसरी म्युजिक भिडियोमा योगदान दिएको भन्दै राष्ट्रिय संगीतकर्मी संघ नेपालले अभिनेता हमाललाई शनिबार काठमाडौंमा सम्मान गरेको हो ।
संघका अध्यक्ष विक्रमजंग शाह, निवर्तमान अध्यक्ष राजेन्द्र कार्की तथा केन्द्रीय पदाधिकारीले हमाललाई सो सम्मान प्रदान गरेका हुन् । तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहँदै आएका हमालले चलचित्रसँगै पछिल्लो समय आफ्नो अभिनयबाट म्युजिक भिडियोमार्फत नेपाली गीतसंगीत क्षेत्रलाई पु¥याएको योगदानको कदरस्वरूप सो सम्मान गरिएको सम्मानपत्रमा उल्लेख थियो ।
अभिनेता हमालले सो सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै आफू पनि नेपाली संगीत परिवारको सदस्य जस्तै र संगीत क्षेत्रको एक हिस्सा भएको बताए । आफूले अभिनय गरेका विभिन्न गीतको स्मरण गर्दै म्युजिक भिडियो अभिनयलाई निरन्तता दिने प्रतिबद्धता सो क्रममा उनले बताए ।
सो क्रममा राष्ट्रिय संगीतकर्मी संघ नेपालद्वारा प्रकाशित २०७९ सालको भित्तेपात्र पनि अभिनेता हमालसहित सो संघका पदाधिकारीले विमोचन गरे । सो क्रममा संघका अध्यक्ष विक्रमजंग शाहको जन्मोत्सव पनि विभिन्न कार्यक्रम गरेर मनाइयो ।
संघका अध्यक्ष शाहले अभिनेता हमालले नेपाली चलचित्र तथा गीतसंगीत क्षेत्रमा आफ्नो अभिनयबाट पु-याएको योगदानको चर्चा गरे । आफू अध्यक्ष भएपछि कोरोना कालमा पनि संघमा रहेर प्रतिलिपि अधिकार, राहत प्रदानसहित विभिन्न कार्य गरेको अध्यक्ष शाहले बताए । संगीत विकास बोर्ड र उचित रोयल्टी प्राप्तिका लागि आफूहरू अझै पनि संघर्षरत रहेको पनि अध्यक्ष शाहले कार्यक्रममा प्रकाश पारे ।






