काठमाडौं । नेपालमा कोरोना मत्थर भएपछि केही हप्ता यताबाट हरेक शुक्रबार नयाँ नेपाली तथा बिदेशी फिल्महरु रिलिज हुँदै आएका छन् । तर यो शुक्रबार एउटा पनि नयाँ चलचित्र रिलिज नहुने भएको छ । यस अघि ३० बैशाखमा नयाँ नेपाली चलचित्र चिसो मान्छे रिलिज गर्न लागिएको थियो । तर केही समय अघि नै चिसो मान्छेको रिलिज मिति सारिएको छ । अब यो फिल्म असारको पहिलो सातामात्र रिलिज हुने भएको छ ।
यसरी ३० बैशाखमा रिलिज गर्ने भनिएको नेपाली चलचित्र चिसो मान्छे असारको पहिलो साता सारिए पछि अब यो साता कुनै पनि नेपाली चलचित्र रिलिज हुने छैन । नेपाली मात्र हैन, चुनावको कारण बिदेशी सिनेमा समेत यो साता प्रदर्शनमा नआउने भएको छ ।
शुक्रबार स्थानीय निकायको निर्वाचनका कारण हल सञ्चालकले आजको लागि देशभरका सिनेमा हल बन्द गरेका छन् । अब भोलीबाट मात्र सिनेमा हल खुल्ने छ । आज सिनेमा हल बन्द हुने भएपछि आफुहरुले रिलिजको लागि नयाँ चलचित्र नल्याएको चलचित्र वितरकहरुले बताएका छन् ।
गत साता दुई वटा नेपाली चलचित्र र एउटा बिदेशी चलचित्र नेपालमा रिलिज गरियो । जस मध्य हलिउडको फिल्म डाक्टर स्ट्रेन्टले राम्रो व्यापार गरेको छ । तर दुई नेपाली चलचित्र लक्का जवान र षटकोणले राम्रो व्यापार गरेन । हास्य प्रधान चलचित्र लक्का जवान राम्रो फिल्म बनेको दाबी सहित निर्माण पक्षले प्रचार प्रसारमा समेत वेवस्ता गरेको थियो । स्टार काष्टको अभाव, फित्तलो गीत संगीत र चुनावी माहौलको कारण चलचित्र लक्का जवान व्यबसायिक रुपमा असफल भयो ।
यसरी गत साता रिलिज भएका दुई चलचित्रले राम्रो व्यापार नगरेको अबस्थामा यो साता एउटा पनि चलचित्र रिलिज भएनन् । अब अर्को शुक्रबार दुई नेपाली चलचित्र सम्झना बिर्सना र लाईफ ईन एलए रिलिज हुने छ । ती चलचित्रको व्यापार ’bout अहिले नै अनुमान गर्न गाह्रो छ ।






