कैलालीका ४ वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक (सूचीसहित)


टीकापुर(कैलाली) । कैलालीका १३ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहको मत परिमाण सार्बजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्बजनिक भएको हो ।

कैलालीको गोदावरी नगरपालिकामा बहुमत वडासहित नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विरेन्द्र भट्ट निर्वाचित भएका छन् ।
काँग्रेस उम्मेदवारसँग एमालेका गोकर्ण भट्ट निकै ठूलो मतान्तरले पराजित बन्न पुगेका छन् । नगरप्रमुखमा काँग्रेसका भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी(एमाले) का उम्मेदवार गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याए ।
उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) का उम्मेदवार शारदादेवी रोकाया विजयी भएकी छिन् । उनले १० हजार ६७० मत ल्याएर विजयी हुँदा एकीकृत समाजवादीकी उम्मेदवार रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन् ।

गोदावरी नगरपालिकाका १२ वडा मध्ये ८ वटा वडाध्यक्षसहित नेपाली काँग्रेस र ४ वटा वडाध्यक्षसहित नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले विजय हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो ।

कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । बर्दगोरिया गाउँपालिका प्रमुखमा एमालेका कर्णबहादुर कुँवरले ५ हजार ८४२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियाले ४ हजार १८६ मत ल्याए । उपाध्यक्षमा माओवादीका उम्मेदवार गणेशराज गिरीले ४ हजार ५६९ मत ल्याएर विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी इन्दुकुमारी चौधरीले ४ हजार २५५ मत प्राप्त गरिन् । एमालेबाट निर्वाचित कुवँर २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारसँग पराजित भएका थिए ।

कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) का चक्रबहादुर बोगटी विजयी भएका छन् । उनले गठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार लोकबहादुर सारुमगरलाई पराजित गरे । एमालेका बोगटीले ३ हजार ३०५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी सारुले ३ हजार २८१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेयले बताए ।


उपाध्यक्षमा नेपाली काँग्रेसका धनदेबी थापाले ३ हजार ४४९ मत ल्याएर विजयी भइन । उपाध्यक्षमा एमालेका दीपा देबी साउँदले ३ हजार १२१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए । ६ वडा रहेको सो पालिकामा ४ वडा एमाले र २ वडा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । वडा नं. १ मा नेपाली काँग्रेसका डम्मरबहादुर सिंह, २ मा एमालेका केशव साउद, ३ मा नेपाली काँग्रेसका खगेन्द्र खडायत, एमालेका ४ चक्र लामिछाने, ५ मा बीरबहादुर धामी र ६ मा एमालेकै प्रेमबहादुर साउँद वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।
कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
बुधबार दिउँसो सम्पन्न मतगणना अनुसार अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार देवीदत्त उपाध्याय तीन हजार १३४ मत प्राप्त गर्दै निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धरम थापा मगरले दुई हजार ७१५ त प्राप्त गरे ।


सो गाउँपालिकाको उपाध्यक्षमा तीन हजार ३३९ मत ल्याएर नेपाली काँग्रेसका कमल साउँद निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका सरस्वती देवी रावल विष्टले दुई हजार ३०३ मत प्राप्त गरिन् । मोहन्यालका ७ वटा मध्ये नेपाली काँग्रेस चार, माओवादी दुई र नेकपा एमाले एक वडामा विजयी भएको छ । काँग्रेसबाट वडा नम्बर ७ मा नवराज कडायत, ३ मा नन्दराम गिरी, ५ मा प्रविण घर्ती र १ मा पिरम बुढामगर निर्वाचित भएका छन् ।

माओवादीले वा नम्बर ४ र २ मा विजय हासिल गरेको छ । ४ मा बमबहादुर बुढामगर र २ मा जयप्रकाश मल्ल निर्वाचित भए भनेवडा नम्बर ६ मा नेकपा एमालेका कृष्ण शाही विजयी भए ।

२०७४ सालको निर्वाचनमा एमालेले अध्यक्ष, उपाध्यक्ष सहित ३ वडामा विजय हासिल गरेको थियो भने माओवादीले ३ र काँग्रेसले १ वडामा जितेको थियो । १ वडा जितेको काँग्रेसले यसपालि ४ वडा जित्न सफल भएको छ भने ३ वडा जितेको एमालेले १ वडामै चित्त बुझाउनु परेको छ ।

कैलालीमा १३ वटा मध्ये ९ वटा स्थानीय तहमा मतगणना जारी छ । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकामा नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बर मतले अग्रता लिइरहेका छन् । उनलाई गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नृप वडले पछ्याइ रहेका छन् ।

यसैगरी गौरीगंगा नगरपालिमा गठबन्धनका नगरप्रमुखका उम्मेदवार माओवादी केन्द्रका देवीदत्त कँडेल र उपप्रमुखमा काँग्रेसका भोज वमले अग्रता लिइरहेका छन् । घोडाघोडी नगरपालिकामा पनि गठबन्धनका नगरप्रमुखका उम्मेदवार समाजवादीका खडक रावत र काँग्रेसकी गुलिया चौधरीले फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका छन् ।

लम्कीचुहा नगरपालिकामा गठबन्धनका नगरप्रमुखका उम्मेदवार शुशिला शाहीले अग्रता लिइरहेकी छिन् । कैला्ी गाउँपालिकामा नेपाली काँग्रेसका रामसमझ चौधरीले अग्रता लिइरहेका छन् । टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले प्रमुखमा अग्रता लिइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 416 times, 1 visits today)

epaper

ताजा समाचार

१० बैशाख २०८३