फेरि पनि वीरबहादुर

ललितपुर । ललितपुरको बाग्मती गाउँपालिकाको अध्यक्षमा फेरि पनि नेपाली कांग्रेस नै विजयी भएको छ । माओवादीसँग गठबन्धन भएको बाग्मतीमा अध्यक्षमा फेरि पनि कांग्रेसका वीरबहादुर लोप्चन निर्वाचित भएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा पनि उनी बाग्मती गाउँपालिकामा अध्यक्षमा निर्वाचित भएका थिए । लोप्चनले ४ हजार ९ सय ९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नवराज सञ्जेलले ४ हजार ५३ मत ल्याए । उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी निर्वाचित भए ।

दर्लामीले चार हजार ६ सय ९२ मत ल्याएर विजयी हुँदा एमालेका नमुना दोङले ३ हजार ७ सय मत ल्याइन् । यो पालिकाका ७ वटा वडामध्ये पाँचमा कांग्रेस र एक–एकमा एमाले र माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर १ घुसेलमा कांग्रेसका ज्ञानबहादुर लो, वडा नम्बर–२ माल्टामा पनि कांग्रेसकै रामबहादुर ब्लोन, ३ नम्बर वडा भट्टेडाँडामा कांग्रेसका नवराज खड्का, ४ नम्बरमा कांग्रेसकै रामकुमार लामा, वडा नम्बर ५ मा माओवादीका नवराज तिमल्सिना, वडा नम्बर ६ मा कांग्रेसका नारायण भोम्जन, वडा नम्बर ७ मा होमप्रसाद बजगाइँ विजयी भएका छन् ।

गोदावरी नगरपालिकाको १ देखि १२ नम्बर वडाको गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार कांग्रेसका गजेन्द्र मर्हजनको अग्रता बढ्दै गएको छ । ११ नम्बरको गणना सकिँदासम्म १४ मतले अगाडि रहेका एमालेका गम्बिर राना त्यसपछि निवर्तमान मेयर महर्जनको गाउँ वडा नम्बर–१२ को गणना सकिँदा १५ सय बढिको अन्तरले पछि परे । उपमेयरमा कांग्रेसकी मुना अधिकारी पहिलो स्थानमा रहँदा एमालेकी रमि प्रधानांगले पछ्याइरहेकी छन् । गोदावरीका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ को नतिजा आइसकेको छ ।

वडा नम्बर १, २, ४, ५, ६, ७, ९, १०, ११ र १२ गरी १० वटा वडामा कांग्रेस विजयी हुँदा वडा नम्बर ३ र ८ मा माओवादी विजयी भएको छ । वडा ११ मा निलबहादुर देशार र वडा नम्बर १२ मा जगतबहादुर महर्जन विजयी भएका छन् । वडा नम्बर १० मा शेखर न्यौपाने वडा अध्यक्षमा विजयी भए पनि वडा सदस्य एमालेका रामेश्वर केसी, मैया केसी र सुजतासुनार विजयी भएका छन् ।

अर्का एक सदस्य शान्तामणि चालिसे विजयी भए । महालक्ष्मी नगरपालिकामा एमालेको अग्रता बढ्दै गएको छ । एमालेका मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठ अग्रस्थानमा रहेका छन् । उनलाई माओवादी केन्द्रका शिव कट्टेलले पछ्याइरहेका छन् । श्रेष्ठले १ हजार बढी मतले अग्रता बनाइसकेका छन् । एमालेले महालक्ष्मीका ४ वटा वडामा कब्जा जमाएको छ । वडा नम्बर १, २, ३ र वडा नम्बर १० मा एमालेका वडा अध्यक्षदेखि वडा सदस्यले विजय हासिल गरेका छन् ।

वडा नम्बर–९ मा दुई वडा सदस्यमा एमालेले विजय हासिल गरेको छ । यसअघि महाकाल गाउँपालिकामा कांग्रेसका गणेश केसी अध्यक्षमा तथा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोले गाउँपालिका उपाध्यक्षमा विजयी भएकी छन् । सो गाउँपालिकामा रहेका ६ वटै वडा कांग्रेसले आफ्नो पक्षमा पारेको छ । वडा नम्बर १ मा रामप्रसाद घिमिरे, वडा नम्बर २ मा जोनी न्यासुर, वडा नम्बर ३ मा मनोजकुमार पराजुली, वडा नम्बर ४ मा कृष्णप्रसाद तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र वडा नम्बर ६ मा विनोद चौरेल विजयी भएका छन् । सो गाउँपालिका यसअघि नेकपा एमालेले जितेको थियो ।

यस्तै कोन्ज्योसोम गाउँपालिकामा एमालेका कृष्णमान लामा अध्यक्षमा विजयी हुँदा उपाध्यक्षमा गठबन्धनबाट चुनाव लडेका कांग्रेसका राजनप्रसाद घिमिरे विजयी भएका थिए । पाँचवटा वडामध्ये माओवादी र कांग्रेस दुई दुई वडामा विजयी हुँदा एउटा वडामा एमालेका उम्मेदवारले बाजी मारेका छन् । माओवादीले १ र ५ वडा जित्दा कांग्रेसले ३ र ४ तथा एमालेले २ नम्बर वडा जितेको छ । ललितपुर महानगरपालिकामा कांग्रेसका चिरीबाबु मर्हजनले एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा डबल बढी मत ल्याएका छन् । मर्हजनले १३ हजार कटाउँदा हरिकृष्णले बल्ल ७ हजार बटाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित