टीकापुर(कैलाली) । कैलालीका दुई पालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । थारुबाहुल क्षेत्र कैलालीको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा सो पार्टीले विजय हासिल गरेको हो ।
टीकापुर नगरपालिकाको नगरप्रमुखमा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार रामलाल डगौरा थारु निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गर्दै डगौरा विजयी भएका हुन् ।
डगौरा ९ हजार ६४२ मत पाउँदै विजयी भएका हुन् भने रावलले ६ हजार ६४२ मत पाए । यस्तै उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन् ।
शाहले ७ हजार ९५५ मत पाउँदा नागरिक उन्मुक्तिकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाइन् । यसै गरी काँग्रेसको पकड क्षेत्र मानिदै आएको कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । उनी ४ हजार ९ सय ३ मत प्राप्त गरी विजयी भएका हुन् ।
नेपाली कांग्रेसका बन्सराम बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरे । गाउँपालिकाको उपाध्यक्षमा नागरिक उन्मुक्ती पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन् ।
उनले ४ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन् । उनक निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजा ९ सय ६१ मत प्राप्त गरे । २०७२ सालमा टीकापुरमा भएको घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले श्रीमति रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका थिए ।






