एकै परिवारको ३५ वर्षसम्म वर्चस्व, बाबुआमापछि छोरा दोस्रो कार्यकालका लागि विजयी


काठमाडौं । बाबु २० वर्षसम्म लगातार प्रधानपञ्च, त्यसपछि आमा पाँच वर्ष प्रधानपञ्च । र, स्थानीय तहअन्तर्गतको गाउँपालिकामा लगातार छोरा दुई पटक अध्यक्षमा विजयी ।

यस्तो संयोग बिरलैलाई मिल्छ । हो, ओखलढुंगाको चप्पादेवी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज केसी विजयी भएपछि उनको परिवारले ३५ वर्षसम्म गाउँ पञ्चायत÷गाउँपालिका प्रमुख भएर हाँक्ने देखिएको छ ।

एकै परिवारका बुबा, आमा तथा छोराले निरन्तर साढे तीन दशक अपार जनमतकासाथ निर्वाचित हुने दुर्लभ संयोगले सो परिवारप्रति स्थानीय जनताको आस्था र भरोसा देखिएको तथा सो परिवार स्थानीयबीच लोकप्रिय रहेको स्थानीय मतदाताको भनाइ छ ।

केसी चार हजार ७८३ मत पाएर दोस्रो पटकका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसबाट विजयी उनी स्थानीय मतदाताबीच विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । दोस्रो पटकका लागि निर्वाचित भएपछि उनले स्थानीय जनताको अपेक्षालाई पूरा गर्न आफूले सधैं प्रयास गरिरहने बताएका छन् ।

स्थानीय जनताले अपेक्षा गरेअनुरुप गाउँको विकासमा पूर्ण रुपमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै केसीले विकासको चाहनालाई पूरा गर्न आफू सदैव तल्लीन रहिरहने बताए ।

सो ठाउँमा केसीका बाबु रणबहादुर खत्री २० वर्षसम्म प्रधानपञ्च भएका थिए । बाबुपछि आमा गायत्रादेवी पाँच वर्ष प्रधानपञ्च भएकी थिइन् । बुबा तथा आमा पटक–पटक गरी साढे दुई दशकसम्म निरन्तर प्रधानपञ्च भएको ठाउँमा उनले अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्षमा उम्मेद्वारी दिएका थिए । उनको उम्मेदवारीलाई जनताले अनुमोदन गरेपछि हौंसिएका केसी दोस्रो पटक पनि उम्मेदवार बने । अन्ततः त्यसमा पनि उनी सफल भए ।

स्थानीय जनताबीच नवनिर्वाचित केसी मेहनती तथा स्पष्ट वक्ता एवं अडान भएका युवा नेताको रुपमा चिनिन्छन् । उनी नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगाका उपसभापति समेत हुन् ।

केसीले आफ्नो पालिकाको सबै वडामा सदरमुकाम जोड्ने सडकको व्यवस्थासँगै खानेपानी तथा विजुलीको व्यवस्था गरिसकेका छन् भने प्राथमिक विद्यालयलाई स्तरोन्नत्ति गरी माध्यमिक विद्यालय बनाउँदै प्राविधिक शिक्षाको लागि प्लस टुको पठन पाठनको व्यवस्था मिलाएका छन् । उनले सबै वडाहरुमा स्वास्थ्य चौकीहरुको समेत व्यवस्था गरेका छन् । यसैगरी कृषि बिमातर्फ समेत योगदान पु¥याएका छन् ।

स्वच्छ छवी भएका केसी सो पालिकाको हरेक वडा र स्थानीय वासिन्दाबीच लोकप्रिय छन् भने स्थानीय समस्या र समाधान तर्फसमेत जानकार छन् ।

तपाइको प्रतिक्रिया
(Visited 475 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी विपति : तत्काल उद्धार र राहत प्याकेज घोषणा गर्न आजपाको माग