तुलसीपुर । आफनै साथीहरुको खुकुरी प्रहारबाट गम्भीर घाईते भएका युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – ५ रतननाथ टोल निवासि २३ बर्षिय हिरा डाँगीको काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।
सोमबार विहान १ बजे टरीगाउँ एयरपोर्ट नजिकै अनुप बस्नेत सहित ४÷५ जनाको एक समूहले डाँगीलाई खुकुरीले आक्रमण गरी गम्भिर घाइते बनाएका थिए । ‘युवकको दुवै खुट्टामा ठाउँठाउँमा खुकुरी प्रहार गरिएको रहेछ,’ प्रवक्ता डमरपालले भने –‘ अत्याधिक रक्तश्रवका कारण मृत्यु भयो ।’
डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर हुदै काठमाण्डौं लगिएको थियो ।
यसैविच घटनामा संलग्नहरुको खोजी कार्य व्यापक बनाएको प्रहरीले जनाएको छ । दाङका सबै प्रहरी युनिट, भारत प्रवेश गर्ने नाका र सडकमा कडा चेकजाँच गरिरहेको प्रहरीले बताएको छ । त्यसैगरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
दुई जनालाई नियन्त्रणमा लिएपनि एक जनलाई छोडिएको र एक जनलाई भने राखिएको प्रहरी निरीक्षक डमरपालले जानकारी दिए । मृतक डाँगी सल्यान त्रिबेणि गाउपालीकाका अध्यक्ष मान बहादुर डाँगीका छोरा हुन । यस अघि केहि महिना अघि उरहरीमा भएको खुकुरी प्रहारबाट पनि एक युवकको मृत्यु भएको थियो । योसंगै तुलसीपुरमा एक बर्ष नपुग्दै खुकरी प्रहारबाट दुई युवकले अकालमा ज्यान गुमाएका छन् ।






