काठमाडौं । १५ जेठमा तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो । मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो । जसमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मन नागरिकको निधन भयो । घटना आलै छ । विमान दुर्घटनाको ’boutमा अनुसन्धान सकिएको छैन । जसकारण पनि विमान दुर्घटनालाई लिएर विभिन्न प्रश्नहरु उठिरहेका छन् । सरकारले गठन गरेको छानबिन समितिको अध्ययन नआउन्जेल यही भएको हो भन्ने कुरा मात्र अनुमानमा सिमित छ ।
दुर्घटनाताका केही मानिसहरु नेपालमा विमान दुर्घटना धेरै भएको छ भन्ने कुराहरु उठाउँछन् । तर नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीको भने यसमा असहमति छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्व महानिर्देशक क्षेत्रीले नेपालमा पछिल्लो तथ्यांक हेर्दा विमान दुर्घटना कम हुँदै गएको बताए । उनले नेपालको मौसमको भर नहुने भएकोले मौसमलाई ध्यान दिएर मात्रै उडान भर्नुपर्ने अवस्था रहेको बताए ।
‘दुर्घटना हुनु नै राम्रो कुरा होइन । यद्यपी हाम्रोमा केही बढीजस्तो देखिएको छ । तर हाम्रो टोपोग्राफिकल कण्डिशन, वेदरको प्याट्रन छिनछिनमा चेन्ज हुने, ठाउँठाउँमा चेन्ज हुने, यी कुराहरुले हाम्रोमा अलि धेरै दुर्घटना अन्य देशको तुलनामा धेरै देखिएको मात्रै हो ।’ उनले भने ।
दुर्घटना हुनु दुखद् भएको तर दुर्घटना के कति कारणले भयो ? मानवीय त्रुटी थियो वा मौसम बाधक थियो, टे«निङको कमी थियो भन्ने विषयमा सरकारबाट विस्तृत अध्ययन गरेर दुर्घटना हुन नदिने पहल चाल्न आवश्यक रहेको बताए । उनले छानबिन समितिले दिएको प्रतिवेदन पाइलट, विमानस्थल, सिभिल एभेसन लगायत सरोकारवाला सबै निकायहरुले पालना गर्नुपर्ने बताए । पूर्व महानिर्देशक क्षेत्रीले पछिल्लो समय अध्ययन समितिले पूरा अध्ययन गरेर मात्रै प्रतिवेदन दिने गरेको र अब सबै समसामयिक कुरालाई ध्यानमा राखेर काम अघि बढाउन आवश्यक रहेको बताए ।
पूर्व महानिर्देशक पोखराबाट जोमसोम उडान गरेको तारा एयर मौसमका कारण दुर्घटनाग्रस्त भएको हुनसक्ने बताउछन् । उनले अब सरकारले र विमनस्थलहरुले साथै सम्बन्धित निकायले मौसम छलेर कसरी सुरक्षित उडान गर्ने भन्ने कुरामा सोच्न आवश्यक रहेको बताए । खराब मौसम छल्न कुन उपाय गर्ने ? जस्ता कुराहरु विस्तृत रुपमा अध्ययन गरेर सरकार, मौसम विभाग र विमानस्थलले सामुहिक रुपमा कार्य गर्नुपर्ने उनको भनाई छ । एयरलाइन्स बिजनेसमा एयरलाइन्स भन्दापनि नियामक निकायको बढी भुमिका रहने भन्दै नियामक निकायले अनुसन्धान कार्य गरिरहेको बताए । अहिले भइरहेको नियामक निकायलाई अझै प्रभावकारी बनाइ सुधार गर्नुपर्ने उनको भनाई छ । पछिल्लो समय पाइलटमाथि विमान संस्थाले दिने गरेको दबावलाई उठाइएपनि पाइलटलाई दबाव दिने काम कुनै एयरलाइन्सबाट नहुने उनको भनाई थियो ।
‘एयरलाइन्स बिजनेसमा एयरलाइन्स भन्दापनि नियामक निकायको बढी भुमिका हुन्छ । निरीक्षण, नियमनको लागि हामीले उपमहानिर्देशकको नेतृत्वमा १२ सदस्यीय टीम नै बनाएका छौँ । पहिला जस्तो हेलचेक्राँइ र निरीक्षण हुँदैन भन्ने कुरा अहिले छैन ।’ उनले भने ‘अहिले सबै निकायले निरीक्षण गरिरहेको हुन्छ । अहिले भनेको त्यसमा के के सुधार गर्न सकिन्छ त्यसमा जोड दिने हो । अझै समसामयिक सुधार, परीक्षणको आवश्यक्ता छ कि, यसमा नेपाल सरकार पर्यटन मन्त्रालयले विज्ञहरुसँग बसेर छलफल गरेर जानुपर्छ । आजभोलि पाइलटलाई केही दबाव छैन । सबैकुरा पाइलटमा भर पर्छ ।’
पूर्व महानिर्देशक क्षेत्रीले नेपालमा १५ वर्षभन्दा पुरानो रेजिस्टर भएको विमान ल्याउन नपाइने कानून बनेको र विमान पुरानो नहुने बरु त्यसको लाईफ टाइम हुने बताए । मौसमविज्ञान, विमानस्थल टावर र पाइलटबीचमा इन्टर रिलेशन कम हुँदै गएको उनको भनाइ थियो । उनले पछिल्लो समय नागरिक उड्डयन प्राधिकरणले वर्षमा दुई पटक एयर ट्राफिक कन्ट्रोलरको तर्फबाट सिभिल एभेसनले परीक्षणमुलक कार्यक्रम सञ्चालन गरिरहेको र त्यसमा अझै सुधार गर्नुपर्ने बताए ।
पूर्व महानिर्देशक क्षेत्रीले हेलिकोप्टरमा दुईजना पाइलट राख्ने निर्णय सबैको लागि ठिक नभएपनि केही स्थान, परिवेश र हेलिकोप्टरका लागि उचित रहेको बताए । उनले मौसम प्रतिकुल रहेका बेला एकजना पाइलटले भन्दा दुवै पाइलटको निर्णयले परिपक्वता देखाउने र सम्भावित दुर्घटनालाई निम्तिन नदिने बताए ।






