काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा विवाद चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्थायी कमिटी सदस्य घनश्याम भुसालले आलोचना गरेपछि पार्टीमा विवाद चर्किएको हो ।
अध्यक्ष ओलीको आलोचना गर्दै पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको आरोपमा पार्टी अनुशासन आयोगले भुसाललाई कारबाही गर्न केन्द्रीय कमिटीलाई निर्देशन दिएको छ । अनुशासन आयोगको सो निर्देशनसँगै विवाद अब केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएको छ ।
अनुशासन आयोगका अध्यक्ष केशव बडालले भुसालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएपछि कारबाही प्रक्रियाअगाडि बढाउन निर्देशन दिएको बताए ।
‘कुनै विषयमा असहमति वा फरक मत भए त्यसलाई पार्टी बैठकमा राख्न पाइन्छ, सार्वजनिक रूपमा पार्टी नीतिविपरीत अभिव्यक्ति दिएपछि सो विषय कारबाहीको विषय हुने नै भयो,’ उनले भने ।
‘कुनै नेताको फरक मत वा असहमतिका केही विषय भए पार्टी कमिटीको बैठकमा कुरा राख्न पाइन्छ, बाहिर जथाभावी बोल्न पाइँदैन, त्यसैले कारबाही प्रक्रियाअघि बढाउन निर्देशन दिएका हौैं,’ बडालले भने ।
स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि नेता भुसालले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा स्थानीय तह चुनावमा एमालेको कमजोर प्रदर्शनप्रति नेतृत्वका हिसाबले अध्यक्ष ओली असफल भएको भन्दै आलोचना गरेका थिए । विगतमा समेत ओलीको गतल एवं मनोमानी कार्यशैलीको भुसालले आलोचना गर्दै आएका थिए ।
पार्टी अध्यक्ष ओलीको बैठकमै आलोचना गर्दै आएका भुसाल सार्वजनिक रूपमै चर्को अलोचना गरेपछि ओलीकै निर्देशनमा अनुशासनको डन्डा चलाइएको भुसाल निकट नेताहरू बताउँछन् ।
भुसाललाई अनुशासन आयोगले कारबाहीको सिफारिस गरेपछि भुसालनिकट एमाले केन्द्र्र्रीय सदस्य उषाकिरण तिमसेनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अब पोखराका वडामा पार्टीलाई भोट हाल्ने तर मेयरमा नहाल्ने, भरतपुरका वडामा भोट हाल्ने तर मेयरमा भोट नहाल्ने, काठमाडौंमा वडामा भोट हाल्ने तर मेयरमा नहाल्नेहरू सबैलाई स्पष्टीकरण सोधौं । ती सबै भोटरहरू (एमाले समर्थक) पनि ओलीको आलोचक न परे ।’
तर, अनुशासन आयोगका अध्यक्ष वडालले अनुशासन उल्लंघनको विषय विधानबमोजिम केन्द्रीय कमिटीलाई सिफारिस काम आयोगको भएको बताए । एक जना स्थायी समिति सदस्यले टेलिभिजनमा बोलेको प्रमाणित विषय बाहिर आएको र पार्टी अध्यक्षको सार्वजनिक रूपमै आलोचना गरेपछि त्यो कारबाहीको विषय बन्ने उनले बताए । कारबाहीको यो विषयमा पार्टीका सबै सदस्यलाई लागू हुने उनले बताए ।
भुसालले स्थानीय तहको निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने बताएका छन् । अहिलेकै शैलीमा अध्यक्ष ओलीले पार्टी सञ्चालन गरे एमाले समाप्त हुन सक्ने चेतावनीसमेत नेता भुसालले दिएका थिए ।
‘यही तरिका हो भने हामी भिरको नजिक–नजिक जाँदै छौं । हामी एउटा कान्लाबाट खस्यौं, धेरै कान्लाबाट खसेर भिरको नजिक पुगेका छौं,’ भुसालले भनेका छन् ।
पार्टीलाई सामूहिक नेतृत्व प्रणालीबाट चलाउनुपर्नेमा एकाधिकारवादबाट चलाउन खोज्दा अध्यक्ष ओलीको प्रयोग शतप्रतिशत असफल भएको भुसालले आफ्नो अन्तरवार्तामा दाबी गरेका थिए ।
‘म सौराहा काण्ड भन्छु । जुन परम्पराबाट एमाले बनेको थियो, त्यसविपरीत गएर एक जनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने । जिल्ला अधिवेशन पनि जसरी भए, उम्मेदवार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड पर्सेन्ट (शतप्रतिशत) देखिएको छ,’ भुसालले अन्तरवार्तामा भनेका थिए ।
अनुशासन आयोगले कारबाहीको सिफारिस गरेपछि भुसालले भने, ‘यो निर्णय विनाशकाले विपरीत बुद्धि हो, पार्टी यो स्थितिमा पुग्दा अनुशासन त अध्यक्षलाई लाग्नुपर्ने हो । स्पष्टीकरण सोध्ने नैतिक साहस र ग्राउन्ड छ भन्ने मलाई लाग्दैन । ’cause स्पष्टीकरण त तिनीहरूलाई नै सोध्नुपर्ने हो । पार्टी यो स्थितिमा पुग्दा अनुशासन त माथिबाट लाग्नुपर्ने हो । माथिको अध्यक्ष, सचिवालयलाई लाग्छ तर मलाई मात्र देखेको हो भने बेग्लै कुरा भयो ।’
स्पष्टीकरण सोध्न सिफारिस गर्ने अनुशासन आयोगको निर्णयप्रति टिप्पणी गर्दै भुसालले पार्टीले पराजय भोगेको नैतिक जिम्मेवारी अध्यक्ष, सचिवालयमा रहेका सबै नेताले लिनुपर्ने भन्दै आफूलाई कारबाहीका लागि प्रस्टीकरण सोध्ने नैतिक धरातल नै नभएको बताए ।






