वीरगन्ज । जनता समाजवादी पार्टी ( जसपा ) नेपालको केन्द्रिय समितिले बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ । पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव समूहको दुईदेखि वीरगन्जमा जारी बैठकले गरेका निर्णयहरु शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
अध्यक्ष यादव सहितका नेताहरुको उपस्थितिमा सार्वजनिक गरेका निर्णयहरुमा पार्टी हित विपरित गतिविधि गर्ने डा. बाबुराम भट्टराई सहित ९ जनालाई कार्वाही गरिएको कुरा प्रमुख रहेको छ । त्यसै गरी स्थानीय तह निर्वाचनको समिक्षा, नागरिकता विधेयक पारीत गराउने लगायत विविध बिषयमा पनि पार्टीले सुक्ष्म छलफल गरी आगामी कार्यदिशा तय गरेको निर्णय सार्वजनिक गर्दै अध्यक्ष यादवले पर्सेली संचारकर्मी सामु बताए ।
वीरगंज महानगर कमिटिले समन्वय गरेको बैठकमा गुटउपगुटमा रहेका डा. बाबुराम भट्टराई, हिसिला यामी, गंगा नारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्रराय यादव, रमेश यादव, दुर्गा सोक, दानबहादुर चौधरी र भक्तवहादुर साहलाई पदमुक्तिसंगै सम्पुर्ण जिम्मेवारीबाट हटाइएको पनि अध्यक्ष यादवले बताए । पार्टीको नीति र विधान विपरित गुट–उपगुटको भेला गर्ने बैठक बोलाउने गरेकाले पदमुक्त गर्दै डा. भट्टराईको ठाउँमा अशोक राईलाई जिम्मेवारी दिइएको पनि उनको भनाइ छ । देशभरका ३ सय ७ जना केन्द्रिय सदस्य, २० जना केन्द्रिय कार्यकारणी सदस्यहरुको उपस्थिति बैठकमा रहेको दावी गरिएको छ । पार्टी फुटेको नभई केही व्यक्ति आफै निस्किएको अध्यक्षको तर्क छ ।
स्थानीय तहको निर्वाचन समिक्षा गरी त्यसमा घात अन्तरघात भएको विषयमा छानविन गर्न पनि समिति बनाउने केन्द्रिय कार्यकारणी समितिलाई अधिकार दिइएको, समितिले एक महिना भित्र प्रतिवेदन तयार गर्न पर्ने समयावधि, अगामी निर्वाचनका लागि निर्वाचन तयारी समिति बनाउने र प्रदेश तथा संसदीय निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने र अझ आवश्यकता महसुस भए अरु दलसंग पनि सहकार्य गरी अगाडी बढ्ने पनि पार्टीको केन्द्रिय कार्यकारिणी समितिले निर्णय गरेको निर्णय सार्वजनिक गरिएको छ । पार्टी फुट्ने टुट्ने क्रम चलिरहने भएकाले पार्टीलाई अझ बलियो बनाएर अगाडी बढ्ने पार्टीको ठोस रणनीति रहेको पनि अध्यक्ष यादवले बताए ।
संसदमा पुनः दर्ता भएको नागरिकता विधेयकका सवालमा भने गठबन्धन सरकारबाटै अगाडी बढाइएकोले त्यसलाई जतिसक्दो चाडै पारित गराउन आफ्नो पार्टी र जिम्मेवार नेताहरुले पहल गर्ने पनि अध्यक्ष यादवले बताएका छन् । बैठकमा ४ सय केन्द्रिय सदस्य मध्ये ३ सय २५ जना जसपामा रहेको दाबी गरिएको छ । त्यसैगरी ३४ जना केन्द्रिय कार्यकारणी सदस्य मध्ये २० जना उपस्थित रहेको पनि जनाइएको छ । बाँकी रहेका १४ जना मध्ये ९ जनालाई कार्वाही गरिए पनि ६ जना कार्यकारणी सदस्यहरुको विषयमा जसपा मौन रहेको छ ।






