काठमाडौं । बहुपति प्रथामा आधारित नेपाली वृत्तचित्र ‘सहायक श्रीमान् (को–हजबेन्ड) दुई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भएको छ । अमेरिकाको एटलान्टमा अगस्ट ४ देखि ७ सम्म हुने आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘को–हजबेन्ड’ छानिएको निर्देशक गणेश पाण्डेले जानकारी दिए ।
यसैगरी, आगामी अगस्ट ३ देखि ६ सम्म भारतको कलकत्तामा आयोजित साउथ एसिसन सर्ट फिल्म फेस्टिभलमा पनि आफ्नो चलचित्र ‘को–हजबेन्ड’ चयन भएको निर्देशक पाण्डेले जानकारी गराएका छन् । कत्तकत्तामा चलचित्र महोत्सव उद्घाटनकै दिन ‘को–हजबेन्ड’ प्रदर्शन हुँदै छ ।
३५ मिनेट लामो यो वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा रहेका शेर्पाहरूको बहुपति प्रथामा आधारित छ । वृत्तचित्रको छायांकन पनि हुम्लामै गरिएको हो । दाजुभाइले एउटै संयुक्त, श्रीमती राख्ने यो चलचित्र अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान रहेको निर्देशक पाण्डेले बताए । करिब चार वर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान् तयार भएको उनको कथन छ । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेकै हो ।
काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलबाट यात्रा आरम्भ गरेको ‘को–हजबेन्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा १ हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । यसैगरी, नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्रान्ड प्रिक्स अवार्ड’ जितेको थियो । यस्तै ‘को–हजबेन्ड’ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औं इन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेवल मेन्सन अवार्ड जितेको पनि पान्डेले बताए ।






