आइसोलेसन बेड होइन, आइसोलेसन सेन्टर बनाऔं

विश्व कोरोना भाइरसले त्राहिमाम भइरहेका बेला सरकारले कोरोना भाइरस संक्रमितका लागि भनेर राजधानी सहरका अस्पतालमा एक हजार आइसोलेसन बेड तयारी हालतमा राखेको जानकारी दिएसँगै जनताले काठमाडौं छोड्न थालेका छन् । यसले जनतामा अविश्वास पैदा गराएको छ । कोरोना संक्रमित बिरामी नेपालमा भेटिएका छैनन् । यो निकै राम्रो कुरा हो । यसले नेपालीमा गम्भीर रोगको सम्भावित संक्रमणविरुद्ध जुध्नसक्ने अथाह क्षमता छ भन्ने पुष्टि पनि गरेको छ । नेपालको प्राकृतिक वातावरण, यहाँका मानिसमा रहेको वंशाणुगत गुण, नेपालीको शरीरमा रहेको इम्युनिटी पावर तथा नेपालीको सहन तथा पाचन गर्नसक्ने क्षमता पनि कोरोना प्रतिरोधको आधार रहेको मान्नुपर्छ ।

सकारात्मक सोच, कहिल्यै नहार्ने मानसिकता, त्यसले उत्पादन गरेको मनोविज्ञान र मनोवैज्ञानिक रसायन तथा त्यसले उत्पादन गरेको ग्रन्थीले यसमा सहायक र सहयोगी भूमिका खेलेको देखिन्छ । यसका साथै सामाजिक व्यवहारमा पर्ने आपसी हार्दिकता, विश्वास र उच्च मनोबलले पनि निकै ठूलो काम गरेको छ । विश्वका धेरैजसो मानिस औषधिका भरमा बाँचिरहेको आजको विश्वमा नेपालमा कुल जनसंख्याको लगभग एकचौथाइ मानिस कमभन्दा कम वा अक्कलझुक्कल मात्र औषधि लिने गर्दछन् । नेपालका केही मानिस त जीवनमा औषधि नचाखेर पनि बाँचिरहेका छन् । औषधिसेवनका हिसाबले केमिकलयुक्त होइन, अर्गानिक मानिस नेपालमा बग्रेल्ती पाइन्छन् । यो हरेक रोग प्रतिरोधको निरन्तरता नै हो ।

नेपाली भाइरलजन्य रोगको संक्रमणलाई केही दिनपछि आफैं ठीक भएर जाने सामान्य रोगका रूपमा लिन्छन् । रुघाखोकी निको पार्न पनि औषधि खानुपर्छ र ? भन्ने नेपालीको उल्टै प्रश्न सोधाइ नै रहने गरेको छ । अहिले पनि नेपाली पहिलेपहिले हुने रुघाखोकीभन्दा केही बढी त होला यो कोरोनाको संक्रमण पनि भन्ने सामान्य मानसिकतामा रहेका छन् । कोरोना लागे पनि पचाइन्छ भन्ने मानसिकता प्रचुर छ नेपालीमा । तर, यत्तिले मात्र पुग्ने देखिँदैन । नेपालीमा देखिएको यो आत्मबल र रोगप्रतिरोधी क्षमता कतै दुस्साहस र मूर्खतामा परिणत नहोस् ।

अहिले धेरैमा आशंका पनि छ कि नेपालमा कोरोनाको लक्षण यथार्थमा जाँच गर्नसक्ने र कोरोना नै हो भनेर एकिन गर्नसक्ने विज्ञ, विशेषज्ञ र आधुनिक यन्त्र नै छैनन् । यसको ग्यारेन्टी सरकारले गर्नसकेको छैन । स्वास्थ्य विशेषज्ञ तालिमका पठाएको, वा देशमा तालिमका लागि मगाएको वा प्रयोगशालामा केही न केही प्रयोग र अनुसन्धान गरिरहेको देखिँदैन । अज्ञानताको लाभ ककसलाई र कति बेलासम्म प्राप्त हुने हो त्यो पनि थाह छैन । तर, विश्वका अति विकसित भनिनेहरूले पनि संकटकालको अवस्थामा आफ्ना देशलाई हिंडाइरहेकाले नेपालले खेलाँची गर्न वा त्यस्तै त हो नि भन्न मिल्दैन ।

सरकारले देशभर आइसोलेसन सेन्टर निर्माण र त्यहाँ आवश्यक हुने जनशक्तिको जोहो समयमै गर्नुपर्छ । राजधानी सहरमा रहेका अस्पतालभित्र राखिएका केही भेन्टिलेटरयुक्त बेडको गणना गरी हजार वा १२ सय भए भनेर आफैं मख्ख पर्नुहुँदैन । सामुदायिक या प्राइभेट अस्पालका केही वार्डलाई देखाउँदै ‘आइसोलेसन बेड’ भनेर जनतामा भ्रम छर्नु पनि सरकारको दायित्व होइन । ती त सार्वजनिक सेवाका केन्द्र हुन् । आइसोलेसन केन्द्र हुन सक्दैनन् । यदि, ती अस्पतालमा एक जना पनि कोरोना संक्रमित बिरामी लगियो भने अस्पताल नै खाली गरी बिरामी तथा अन्य मानिस बाहिरिनेछन् । मृत्युसँग यस्तो हाँसीमजाक कसैका लागि सैह्य नहोला पनि । त्यसैले वास्तविक आइसोलेसन सेन्टर नै निर्माण गरियोस् ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती