विश्व कोरोना भाइरसले त्राहिमाम भइरहेका बेला सरकारले कोरोना भाइरस संक्रमितका लागि भनेर राजधानी सहरका अस्पतालमा एक हजार आइसोलेसन बेड तयारी हालतमा राखेको जानकारी दिएसँगै जनताले काठमाडौं छोड्न थालेका छन् । यसले जनतामा अविश्वास पैदा गराएको छ । कोरोना संक्रमित बिरामी नेपालमा भेटिएका छैनन् । यो निकै राम्रो कुरा हो । यसले नेपालीमा गम्भीर रोगको सम्भावित संक्रमणविरुद्ध जुध्नसक्ने अथाह क्षमता छ भन्ने पुष्टि पनि गरेको छ । नेपालको प्राकृतिक वातावरण, यहाँका मानिसमा रहेको वंशाणुगत गुण, नेपालीको शरीरमा रहेको इम्युनिटी पावर तथा नेपालीको सहन तथा पाचन गर्नसक्ने क्षमता पनि कोरोना प्रतिरोधको आधार रहेको मान्नुपर्छ ।
सकारात्मक सोच, कहिल्यै नहार्ने मानसिकता, त्यसले उत्पादन गरेको मनोविज्ञान र मनोवैज्ञानिक रसायन तथा त्यसले उत्पादन गरेको ग्रन्थीले यसमा सहायक र सहयोगी भूमिका खेलेको देखिन्छ । यसका साथै सामाजिक व्यवहारमा पर्ने आपसी हार्दिकता, विश्वास र उच्च मनोबलले पनि निकै ठूलो काम गरेको छ । विश्वका धेरैजसो मानिस औषधिका भरमा बाँचिरहेको आजको विश्वमा नेपालमा कुल जनसंख्याको लगभग एकचौथाइ मानिस कमभन्दा कम वा अक्कलझुक्कल मात्र औषधि लिने गर्दछन् । नेपालका केही मानिस त जीवनमा औषधि नचाखेर पनि बाँचिरहेका छन् । औषधिसेवनका हिसाबले केमिकलयुक्त होइन, अर्गानिक मानिस नेपालमा बग्रेल्ती पाइन्छन् । यो हरेक रोग प्रतिरोधको निरन्तरता नै हो ।
नेपाली भाइरलजन्य रोगको संक्रमणलाई केही दिनपछि आफैं ठीक भएर जाने सामान्य रोगका रूपमा लिन्छन् । रुघाखोकी निको पार्न पनि औषधि खानुपर्छ र ? भन्ने नेपालीको उल्टै प्रश्न सोधाइ नै रहने गरेको छ । अहिले पनि नेपाली पहिलेपहिले हुने रुघाखोकीभन्दा केही बढी त होला यो कोरोनाको संक्रमण पनि भन्ने सामान्य मानसिकतामा रहेका छन् । कोरोना लागे पनि पचाइन्छ भन्ने मानसिकता प्रचुर छ नेपालीमा । तर, यत्तिले मात्र पुग्ने देखिँदैन । नेपालीमा देखिएको यो आत्मबल र रोगप्रतिरोधी क्षमता कतै दुस्साहस र मूर्खतामा परिणत नहोस् ।
अहिले धेरैमा आशंका पनि छ कि नेपालमा कोरोनाको लक्षण यथार्थमा जाँच गर्नसक्ने र कोरोना नै हो भनेर एकिन गर्नसक्ने विज्ञ, विशेषज्ञ र आधुनिक यन्त्र नै छैनन् । यसको ग्यारेन्टी सरकारले गर्नसकेको छैन । स्वास्थ्य विशेषज्ञ तालिमका पठाएको, वा देशमा तालिमका लागि मगाएको वा प्रयोगशालामा केही न केही प्रयोग र अनुसन्धान गरिरहेको देखिँदैन । अज्ञानताको लाभ ककसलाई र कति बेलासम्म प्राप्त हुने हो त्यो पनि थाह छैन । तर, विश्वका अति विकसित भनिनेहरूले पनि संकटकालको अवस्थामा आफ्ना देशलाई हिंडाइरहेकाले नेपालले खेलाँची गर्न वा त्यस्तै त हो नि भन्न मिल्दैन ।
सरकारले देशभर आइसोलेसन सेन्टर निर्माण र त्यहाँ आवश्यक हुने जनशक्तिको जोहो समयमै गर्नुपर्छ । राजधानी सहरमा रहेका अस्पतालभित्र राखिएका केही भेन्टिलेटरयुक्त बेडको गणना गरी हजार वा १२ सय भए भनेर आफैं मख्ख पर्नुहुँदैन । सामुदायिक या प्राइभेट अस्पालका केही वार्डलाई देखाउँदै ‘आइसोलेसन बेड’ भनेर जनतामा भ्रम छर्नु पनि सरकारको दायित्व होइन । ती त सार्वजनिक सेवाका केन्द्र हुन् । आइसोलेसन केन्द्र हुन सक्दैनन् । यदि, ती अस्पतालमा एक जना पनि कोरोना संक्रमित बिरामी लगियो भने अस्पताल नै खाली गरी बिरामी तथा अन्य मानिस बाहिरिनेछन् । मृत्युसँग यस्तो हाँसीमजाक कसैका लागि सैह्य नहोला पनि । त्यसैले वास्तविक आइसोलेसन सेन्टर नै निर्माण गरियोस् ।






