कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट समूह विलय कि विद्रोहमा ?

काठमाडौं । नेपाली कांग्रेसभित्रका प्रभावशाली नेता अहिले प्रभावहीन भएका छन् । सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि पाँचपटक प्रधानमन्त्री, दुईपटक पार्टी सभापति भइसकेका शेरबहादुर देउवाको दुःखद राजनीतिक बहिर्गमन भएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा सभापति रहेको केन्द्रीय समितिलाई सर्वाेच्च अदालतले वैधता दिएपछि जेनजी आन्दोलन लगत्तैबाट छायाँमा पर्दै आएका देउवा अन्ततः नेतृत्व तहबाटै बर्हिगमित भएका छन् । उनीसँगै पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेको चौधौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको समेत राजनीतिक भविष्य अब विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको हातमा पुगेको छ ।

कांग्रेस अनुशासन समितिले पार्टीको ‘लेटर हेड’ दुरुपयोग गरेको अभियोगमा तत्कालीन कार्यवाहक सभापति खड्कालाई ७ दिने स्पष्टीकरण सोधिसकेको छ । अदालतको फैसलालगत्तै खड्का समूह अब यस्ता विषयलाई कसरी झेल्ने भन्ने विषयमा ‘लगभग अनिर्णीत’ छ ।

कार्यवाहकको दाबी गर्दै आएकामा पार्टीविहीन नेताले अब के गर्ने भन्ने निर्णयसमेत गर्न सकेका छैनन् । शनिबार छलफल गरेका नेताले आइतबार (आज) पुनः छलफल गर्न १४औं महाधिवेशन (चौम)बाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दिएपछि पार्टीमा १४औं महाधिवेशनबाट निर्वाचित समितिलाई आधिकारिक दाबी गर्दै आएका नेताहरू पार्टीविहीन अवस्थामा पुगेका हुन् । थापा नेतृत्वको समितिलाई मानेर १५औं महाधिवेशनको तयारीमा जुट्ने कि विद्रोह गर्ने भन्ने निर्णय आइतबारको बैठकबाट तय हुने नेताहरू बताउँछन् ।

देउवामात्रै नभई पूर्वउपसभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, धनराज गुरुङ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. शेखर कोइरालालगायतका नेताहरू अहिले पार्टीविहीन अवस्थामा पुगेका छन् । १४औं महाधिवेशनबाटै सभापति हुन खोजेर पनि नसकेका नेताहरूले १५औं महाधिवेशनबाट सभापति हुने चाहना साथ निरन्तर गुटबन्दी गर्दै आएका थिए ।

शनिबार बसेको अनौपचारिक बैठकमा देउवा र खड्का पक्षधर नेताहरूले गगनकुमार थापासँग मिलेर अघि बढ्दै १५औं महाधिवेशनबाट नेतृत्व लिने प्रयास गर्ने सुझाव दिए पनि यो समूहले निर्णय भने गरिसकेको छैन । छुट्टै दल गठन नगरी कांग्रेसको सदस्यता सभापति थापाले भनेजस्तै वडामा पुगेर नवीकरण गर्नुपर्ने बाध्यता नेताहरूलाई आइपरेको छ ।

राजनीतिबाटै अवकाश लिनुपर्ने उमेरमा पुगेका नेताले छुट्टै दल गठन गर्दा पहिलाजस्तै प्रभाव जमाउन नसकिने निष्कर्षमा पुगेका छन् । त्यसैले अब कांग्रेसमै रहेर सदस्यता नवीकरण गर्दै १५औं महाधिवेशनबाट शक्ति आर्जन गर्ने थापा नेतृत्वको कांग्रेसमा फर्किनुपर्ने बाध्यता आइपरेको छ । थापा नेतृत्वको कांग्रेस अवैधानिक भएको निष्कर्षसहित अदालत पुगेका देउवा समूहका नेताहरू अब आफैंले अवैधानिक भनेको कांग्रेसमा सदस्यता नवीकरणका लागि वडासम्म पुग्नुपर्ने हुन्छ ।

कांग्रेस विधानअनुसार देउवा १५औं महाधिवेशनमा सभापति उठ्न पाउँदैनन् । तर उनको बहिर्गमन दुःखद भएको निष्कर्ष सो समूहका नेताहरूको छ । २३ र २४ भदौ २०८२ को जेनजी आन्दोलनपश्चात् उपसभापति खड्कालाई कार्यबाहकको जिम्मा दिएका देउवा पार्टीको नियमित महाधिवेशन गराउँदै आफू निकट नेतालाई सभापति बनाएर अवकाश खोजेका थिए ।

तर परिस्थिति उनले सोचेजस्तो भएन । राजनीतिक जीवनमा सफल तर अवकाशको बेलामा असफल देखिएका देउवालाई आफ्ना उत्तराधिकारीलाई पार्टीको कमान्ड हस्तान्तरण नगर्दै दुःखद अवकाश लिने अवस्थामा पु¥यायो । उपचारका लागि हङकङ पुगेका देउवासहितका नेताहरू अहिले प्रभावहीन भएका छन् ।

पार्टीलाई बलियो बनाउन थापाको अपिल
कांग्रेस सभापति थापाले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने बताएका छन् । अदालतको निर्णय सार्वजनिक भएपछि सभापति थापाले यसलाई कसैको ‘जित वा हार’ भन्दा पनि विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको जितका रूपमा व्याख्या गरेका छन् ।

सभापति थापाले अबको यात्रा पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रा भएको उल्लेख गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य र शुभेच्छुकहरूलाई जिम्मेवार र सकारात्मक भूमिका खेल्न अपिलसमेत गरेका छन् । पार्टी नेतृत्वको हैसियतले एकता प्रक्रियामा आफ्नो भूमिका सबैभन्दा महत्वपूर्ण हुने स्वीकार गर्दै थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टी सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु ।’

कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै थापाले यस महाधिवेशनलाई पार्टीको रूपान्तरण र सुदृढीकरणको कडी बनाउनुपर्नेमा जोड दिएका छन् ।

के होला पूर्णबहादुरलाई सोधिएको स्पष्टीकरण ?
पार्टीभित्र समानान्तर गतिविधि हुन थालेपछि संस्थापन पक्षले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण गत बुधबार सोधेको थियो । ८ वैशाखभित्रमा उनले जवाफ नदिए उनलाई कारबाही गर्ने तयारी थापा नेतृत्वको कांग्रेसले गरेको छ । शनिबार देउवा समूहको बैठक खड्का निवासमा बसेको थियो । सो बैठकले आइतबार १४औं महाधिवेशनबाट निर्वाचित आफूनिकटका केन्द्रीय समितिको बैठक बोलाएको छ । धुम्बाराहीमा बस्ने सो बैठकले महत्वपूर्ण निर्णय गर्न ुपर्ने हुन्छ ।

पार्टी सदस्यता नवीकरण गर्दै कांग्रेसमै सक्रिय हुने कि अलग्गै दल गठन गर्ने ’boutमा निर्णय गर्न ुपर्ने हुन्छ । स्रोतका अनुसार देउवा निकटका नेताहरूले सदस्यता नवीकरण गराउँदै थापा नेतृत्वकै कांग्रेसमा सक्रिय हुने र १५औं महाधिवेशनबाट शक्ति आर्जन गर्ने रणनीति लिनेछ । तर खड्कालाई सोधिएको स्पष्टीकरणका कारण कांग्रेसभित्र ठूलो लफडा ल्याउँदै छ । विशेष महाधिवेशनमा सहभागी नभएका देउवा समूहका नेताहरू विशेष महाधिवेशनलाई अस्वीकार गर्दै समानान्तर गतिविधि गर्दै आएका थिए ।

सोही विषयलाई लिएर पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरणको जवाफ खड्काले देलान् कि सामसुम गर्दै पार्टी एकता जोगाउने भन्ने ’boutमा थापाले गर्ने निर्णयले तय गर्नेछ । देउवानिकट मानिने नेता डा. प्रकाशशरण महतले अदालतको फैसला अपेक्षित नभएको बताउँदै अब पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढाउने जिम्मेवारी सभापति थापाको भएको बताए ।

‘अदालतको निर्णय मान्दिन भन्ने हुँदैन तर पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सभापति थापाको काँधमा आएको छ,’ उनले भने । कानुनी हार भएको स्वीकार गर्दै उनले राजनीतिक लडाइँ बाँकी नै रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

हुलाकी सडकले डफाली परिवारलाई बेघर बनाउँदै