कोरोनाविरुद्ध सरकारको तयारी तीव्र

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्नो तयारीलाई जारी राखेको छ । उच्च सतर्कता अपनाउँदै सम्भावित जोखिमलाई कमी गर्न सबै उपाय अवलम्बन गरिएको उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

चिकित्सकहरूले पनि कोरोना भाइरस नभित्रिएकाले आत्तिनपर्ने अवस्था नभएको बताएका छन् । प्रदेश सरकारलाई आवश्यक आइसोलेसन बेड तयारी अवस्थामा राख्न उच्चस्तरीय समन्वय समितिले निर्देशन दिइसकेको छ । प्रदेश सरकारहरूले पनि आइसोलेसन बेड बनाउने कार्यलाई अघि बढाइसकेका छन् । यस्तै, विमानस्थलमा थर्मल गनसहित स्वास्थ्यकर्मी दिनरात खटिएका छन् । जिल्लाजिल्लामा कोरोना भाइरस संक्रमणबाट बच्न सचेतना पैदा गर्ने काम भइरहेको छ ।

आवश्यकताअनुसार कम्तीमा १ सय १५ वटा आईसियू बेडको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ । यस्तै, स्वास्थ्य सामग्रीहरू र कीट अभाव हुन नदिने गरी सरकारले तयारीलाई तीव्र पारेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यमा संलग्न जनशक्तिहरूलाई जोखिम भत्ता उपलब्ध गराउने सरकारको तयारी छ ।

यसैबीच, कोरोना भाइरस संक्रमणको जोखिममा नेपाल रहे पनि आत्तिनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् । चिकित्सकले कोरोना भाइरसबाट बच्न पर्याप्त मात्रामा सरसफाइमा ध्यान दिनुपर्ने र भीडभाडमा नजान सुझाव दिएका छन् । सरुवा रोग अनुसन्धान विशेषज्ञ डा. जीवनबहादुर शेरचनले भने, ‘आतंकित हुनुपर्ने अवस्था छैन । तर, सतर्कता अपनाउनैपर्छ । नेपालमा भाइरस सक्रिय हुने वातावरण नभएर पनि संक्रमण नभएको हुन सक्छ ।’ उनले कोरोना भाइरस संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

चिकित्सकहरूले भाइरस संक्रमण हुँदैमा मृत्यु नहुने भएकाले त्रसित हुनु नपर्ने बताएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्ने बताए ।

सरकार देशभरका अस्पतालमा निमोनियाका बिरामीको सूची तयार गरी परीक्षण गर्ने तयारीमा छ । चीन सरकारले नेपाललाई एक लाख थान एन ९५ मास्क र २० हजार थान थर्मल गन (इन्फाइरेड थर्ममिटर) सहयोग गरेको छ । हालसम्म कोरोना संक्रमणबाट ९ हजार बढीको जनाको ज्यान गएको छ भने २ लाख २२ हजार ६ सय ४३ जनामा संक्रमण देखिएको छ । १ सय ५९ देशमा कोरोना संक्रमणको प्रभाव परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम