काठमाडौँ । बिश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट बच्न सतर्कता अपनाउँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवाहरू प्रदान गर्न थालेको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महाशाखाले उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने स्थानहरूमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउने गरी प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली आजदेखि खटाइएको छ ।
उनले भने, ‘यस विशेष टोलीले सीट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुहरूलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भिडभाड गरी नबस्न विशेष अनुरोध गर्नेछन ।’ महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूवाट उपत्यकाको ८६ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरी यो विशेष अभियान सञ्चालन गरिरहेको महाशाखाका प्रमुख ढकालले बताए ।
सचेतना कक्षा बन्द
ट्राफिक महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको छ ।
महाशाखाका प्रमुख ढकालले भने, ‘मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिदै आएको सचेतना कक्षा हाललाई स्थगित गरिएको छ ।’
ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ ।
अत्यावश्यक अवस्थामा मात्र सावधानीपूर्वक मापेस चेकिङ
ट्राफिक महाशाखाले दैनिक रूपमा हुदैँ आएको मापसेलगायत अन्य चेकिङहरू अति आवश्यक अवस्थाबाहेक अन्य अवस्थामा नगर्ने तर चेकिङ गर्नुपर्ने अवस्थामा सावधानीपूर्वक गर्ने व्यवस्था मिलाइएको जनाएको छ । यस विषम परिस्थितिमा सम्पूर्ण सवारी चालकहरूलाई मापसेलगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाइदिन महाशाखाले विशेष अनुरोध गरेको छ ।
त्यस्तै सार्वजनिक सवारी साधनलाई कोभिड–१९ (कोरना भाइरस) संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेको तथा सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको अनुगमन आजदेखि तीव्र पारेको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले कोरोनाविरुद्ध जनचेतना र सावधानीका लागि आजदेखि कार्यालयको मूलगेटमा साबुन पानीले हात धुने र ज्वरो नापेर मात्र कार्यालयमा छिर्ने व्यवस्था गरिएको बताए ।
एसपी श्रेष्ठले भने, ‘ट्राफिक महाशाखाको मूलगेट अगाडि बाल्टिनमा पानी र साबुन राखिदिएका छौं । ज्वरो नापेर र हात धोएर मात्र भित्र जानुहोला भन्ने सूचना समेत मूलगेट अगाडि राखेका छौं । कार्यलयमा प्रहरी कर्मचारी होस् वा सेवाग्राही आगन्तुकलाई साबुन पानीले हात धोएपछि मात्र भित्र प्रवेश गर्ने व्यवस्था मिलाएका छौं ।’
महाशाखाका मातहतका ट्राफिक कार्यालयहरूमा पनि आज बिहानैदेखि साबुन–पानीले हातधुने व्यवस्था मिलाउन निर्देशन गरिसकेको महाशाखाले जनाएको छ ।
‘यात्रु तथा सडक प्रयोगकर्ताहरूलाई लक्षित गरी कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहनको लागि विशेष अभियानमा ट्राफिक प्रहरी परिचालित गरिसकेको छ, यसमा नागरिक पनि त्यत्तिकै सचेत हुन जरूरी छ’ श्रेष्ठले भने ।






