डा. गोपालले ल्याए भोजपुरी ब्याकरण

काठमाडौं । भाषाविज्ञ एवं राजनीतिज्ञ डा. गोपाल ठाकुरले लेखेको ‘भोजपुरी व्याकरण (जीवंत मजबून का साथे)’ पाठकमाझ आएको छ।

काठमाडौंमा एक समारोहबीच माओबादी केन्द्रका उपमहासचिव मातृका यादव, भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. दानराज रेग्मी, जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष तथा भाषा आयोगका सदस्य मातृका पोखरेल, पूर्वराजदूत युवनाथ लम्साल, भोजपुरी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष आनन्दकुमार गुप्ता, कृतिकार डा. ठाकुर लगायतले यो कितावको रुपमा सार्वजनिक गरेका छन् ।

पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव यादवले यो कृति प्रकाशनमा आएपछि पूरै भोजपुरी समुदायलाई लाभ पुगेको बताए । उनले यो श्रमसाध्य काम सम्पन्न गरेर डा. ठाकुरले नेपाललाई निकै ठूलो गुन लगाएको भनाइ राखे । उनले भने, ‘आफ्नो मातृभाषालाई जर्गेना गर्ने लक्ष्यका साथ कृतिकार डा. ठाकुरले लेखेको भोजपुरी व्याकरणले यसको संरक्षण, प्रवद्र्धन तथा विकासमा योगदान दिने आशा राख्न सकिन्छ ।’

भोजपुरी प्रज्ञा प्रतिष्ठानको आयोजना र अखिल नेपाल लेखक संघको सहआयोजनामा भएको कार्यक्रममा बोल्दै भाषाशास्त्री प्रा.डा.माधवप्रसाद पोखरेलले डा. ठाकुरले अद्वितीय काम गरेको सुनाए । उनले भाषाशास्त्रीय कोणबाट उक्त कृतिको चर्चा गर्दै यो अन्तर्राष्ट्रिय प्रकाशन ‘लिंकन युरोपा’ को मोडेलमा प्रकाशित नेपालकै पहिलो ग्रन्थ भएको जिकिर गरे ।

यस्तै, भाषाशास्त्री प्रा.डा. दानराज रेग्मीले डा. ठाकुरले सरल भाषामा लेखेको यो ‘भोजपुरी व्याकरण’ नेपाली इतिहासमै फरक ढंगले लेखिएको कृति भएको बताए । उनले भने, ‘प्राज्ञिक अध्ययन÷अनुसन्धान, मातृभाषा, शिक्षा लगायतका क्षेत्रका लागि यो कृति उपयोगी छ ।’

प्रा.डा. रेग्मीले भोजपुरी व्याकरण लिंकन युरोपाले प्रकाशित गरेकाको अनुवाद होइन, फरक ढंगले लेखिएको नेपालकै लागि मौलिक ग्रन्थ भएको बताए । उनले भने, ‘यो भोजपुरी व्याकरण लिंकन युरोपाले प्रकाशित गरेको अनुवाद होइन, फरक प्रस्तुतिमा नेपालकै लागि मौलिक कृति हो । त्यसैले यो भोजपुरी मातृभाषाका लागि मात्र नभई सिंगो नेपाली भाषा र अन्य मातृभाषाका लागि एउटा मानकका रुपमा आएको छ ।’

सो कार्यक्रममा साहित्यकार हंसा कुर्मीले भोजपुरी भाषालाई संरक्षण गर्न यो कृतिले भूमिका खेल्ने बताइन् । उनले भनिन्, ‘भोजपुरी भाषा शिक्षा, साहित्य तथा कामकाजमा प्रयोग नभए लोप हुँदै जान्छ । यस कृतिले त्यो खाडललाई पुर्ने विश्वास लिन सकिन्छ । साथै यसले भाषाको अभावलाई पूरा गर्ने छ ।’

यस्तै, डा. अम्बिका खरेलले डा. ठाकुरले भोजपुरी व्याकरण लेखेर देशकै लागि राम्रो काम गरेको बताइन् । उनले भाषा बचाउन र यसको महत्वलाई जगाउन कृतिले विशिष्ट भूमिका खेल्ने विश्वास आफूले लिएको विचार व्यक्त गरिन् । जनसांस्कृतिक महासंघ नेपालका उपाध्यक्ष केशव सिलवालले नेपालका सबै राष्ट्रिय भाषालाई अगाडि बढाउन राज्यले गम्भीर ढंगले काम गर्नुपर्नेमा जोड दिए ।

प्राज्ञ दिनेश गुप्ताले साहित्यकार, लेखक, भाषा वैज्ञानिक डा.गोपाल ठाकुरको नेपाली, हिन्दी, भोजपुरी, अंग्रेजीमा समानान्तर योगदानको चर्चा गर्दै मौलिक कृति प्रकाशित गरेकोमा बधाई दिएका थिए ।

कृतिकार डा. ठाकुरले एक दशक लामो खोज अनुसन्धानपछि कृति प्रकाशनमा ल्याएको जनाए । उनले भोजपुरी व्याकरण प्रकाशनपछि यसले भाषा संरक्षणसँगै यसको महत्वलाई अझै बढाउने विश्वास लिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

कोशीमा टुट्यो कांग्रेस–एमाले सत्ता सहकार्य