नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टीका रूपमा परिचित नेपाली कांग्रेस आज लंगडो बनेको छ । देशको नै पुरानो र सबैभन्दा ठूलो पार्टी कांग्रेस आज कसैको सहाराबिना बाँच्न नसक्ने भएको छ । एक्लै हिँड्न नसक्ने भएको छ । कांग्रेस पार्टीको स्थापना कालदेखि अहिलेसम्मको अवधिलाई मिहिन ढंगले केलाउने हो भने कांग्रेस कसरी लंगडो भयो भनेर धेरै घोत्लिन पर्दैन । तर, घोत्लिने, मिहिन समीक्षा गर्ने ल्याकत र क्षमता आफंैले आफैंलाई प्रजातान्त्रिक दाबी गर्नेहरूलाई छैन । नेपाली कांग्रेसको समस्या यही नै हो । कुनै समय देशमा कांग्रेस नै कांग्रेस थियो । कांग्रेसबाहेक फरक विचार समूहलाई बाँच्न नै कठिन थियो । तर, अहिले समय सन्दर्भ फेरिएको छ । अहिले, कांग्रेस फरक विचार समूहबिना बाँच्न सक्दैन । फरक यति हो । नेपाली कांग्रेस यति धेरै परनिर्भरतामा कसरी पुग्यो ?
जतिसुकै लोकतन्त्र, प्रजातन्त्र र विचारको सम्मान भने तापनि त्यो त देखाउने दाँत मात्र रहेछ । कांग्रेसमा भएको यही हो । पार्टीभित्रको विचार समूह पनि शक्ति र सत्ताको अगाडि लाचार हुँदो रहेछ । छायामा पर्दो रहेछ । नेपाली कांग्रेसको १३औं महाधिवेशन सकेर १४औं महाधिवेशनको अघिल्लो दिनसम्म देउवाको विरोध गर्ने रामचन्द्र पौडेल होस् वा प्रकाशमान सिंह । यिनीहरूको विचार हेर्दा लाग्थ्यो, अब नेपाली कांग्रेसभित्र देउवाका विकल्प धेरै छन् । यति धेरै देउवा विरोधी स्वरहरू गुन्जिँदा देउवाको विरोध गर्नुभन्दा बोल्नु अरू केही छैन भन्ने लाग्थ्यो । देउवाविरोधी नेताहरूको यो अभिव्यक्तिले जुर्मुराएको कार्यकर्ता अब साँच्चै कांग्रेसभित्र नयाँ नेतृत्व आउन र देशमा परिवर्तन हुने आशामा थिए । यो आशामा तब तुवाँलो लागिदियो, कांग्रेसमा सबैभन्दा देउवाको विरोध गर्ने रामचन्द्र पौडेल देउवाका सबैभन्दा ठूला सारथी बनिदिए ।
अवसर नपाउँदा क्रान्तिकारी कुरा गर्ने प्रकाशमानले सत्ता र शक्तिका लागि देउवाका पाउमा तत् शरणम् गरे । विमलेन्द्र निधि त त्यसै पनि देउवाका गुलाम नै थिए । उनको समीक्षा नै असान्दर्भिक हुन्छ । फरक विचार समूह बोकेका शेखर कोइराला देउवाका १४आंै महाधिवेशनमा कडा प्रतिस्पर्धी थिए । परिवर्तनका लागि लड्नेहरू शेखरको साथमा अविरल लागिरहे । महाधिवेशनमा भएको भिडन्तमा देउवाले २ हजार २ सय ५८, शेखरले १ हजार ७ सय २, प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ५० र कल्याण गुरुङले २२ मत प्राप्त गरे ।
देउवा सारमा नेतृत्व गर्ने व्यक्ति होइनन् । व्यक्ति केन्द्रित राजनीतिमा सफल देउवा जतिपटक देशका प्रधानमन्त्री बने, देश र जनताले सम्झनलायक काम गरेनन् । सधंै विवादित देउवा नेपाली कांग्रेसभित्रका सबैभन्दा अलोकप्रिय पार्टी सभापति र प्रधानमन्त्रीसमेत हुन् । यो नेपाली कांग्रेसको आमकार्यकर्ताको भावना हो । तर पनि, फेरि देउवा । प्रश्न यहीँनेर गम्भीर छ । यति धेरै अलोकप्रिय, असफल नेता पुनः पार्टी सभापति र प्रधानमन्त्री ! पार्टी सामूहिकतामा चल्छ भन्नेलाई गज्जबको झापड देउवाको पुनः आगमन हो । पार्टी सामूहिकतामा हैन, देउवाको इच्छा र चाहनाले चल्छ भन्ने कुरा १४औं महाधिवेशनले पनि पुष्टि ग¥यो भने गएको स्थानीय तहको निर्वाचन र अब हुने निर्वाचनले पनि पुष्टि गर्छ । जुन निर्वाचनले कांग्रेसलाई झन् लंगडो बनाउँदै छ ।
कसैको वैशाखीबिना हिँड्न नसक्ने देउवाबाट परिवर्तनको आशा राख्नु मूर्खता सिबाय अन्य केही होइन
१३आंै महाधिवेशनबाट १४ महाधिवेशनको अवधिसम्म सबैभन्दा ठूलो देउवाको प्रतिपक्ष थिए रामचन्द्र पौडेल । नेतृत्वको नेतृत्वदायी भूमिकाको परीक्षण अप्ठ्यारो समयमा हुने गर्छ । रामचन्द्रको परीक्षण पनि यही सन्दर्भमा भयो । यहीँबाट रामचन्द्रको राजनीतिमा भूमिका खुम्चियो । पदका लागि जता पनि बग्न सक्ने रामचन्द्रको हैसियत आमकार्यकर्ता र जनताले नजिकबाट बुझे । देउवाको राष्ट्रपति र अबको प्रधानमन्त्रीको उधारो आश्वासनमा फसेका पौडेल त्यसपछि देउवाका सबैभन्दा नजिकका पात्र बन्न पुगे । बाबु गणेशमानका नाम बेचेर राजनीतिमा सधैं शक्ति र सत्तामा रहन माहिर प्रकाशमान सिंह पनि देउवाका शक्तिका अगाडि लाचार बनिदिए । नेतृत्व परिवर्तनको यो संघारमा रामचन्द्र र प्रकाशमानले शेखर कोइरालालाई साथ दिएका भए देउवा न पार्टी सभापति हुन्थे, न प्रधानमन्त्री । तर, जब राजनीतिमा इमान र नैतिकताका साथ आवश्यकतामा जोड दिइँदैन, रामचन्द्र र प्रकाशमान सिंहजस्ता लेन्डुप दोर्जेहरूले देश र जनतालाई बन्धक बनाइराख्छन् । रामचन्द्र र प्रकाशमानको भूमिका पनि यही हो । जसले आप्mनो राजनीतिक करियर त सके नै, देश र जनताको भविष्यमाथि नै खेलवाड गर्ने पात्रका रूपमा चित्रित भए ।
१४आंै महाधिवेशनको पहिलो प्रतिस्पर्धामा शेखरले १ हजार ७ सय २ मत ल्याउँदा देउवाले २ हजार २ सय ५८ मत ल्याएका थिए । प्रकाशमान, विमलेन्द्र र कल्याणको मत मात्र ६ सय ४३ थियो । दोस्रो चरणका चुनावमा रामचन्द्र र प्रकाशमानले शेखर कोइरालाको पक्षमा उभिएका भए शेखर कोइराला नेपाली कांग्रेसको सभापति बन्थे । तर, रामचन्द्र र प्रकाशमान पनि देउवाको कुटिल चालको सारथी बने र अन्ततः नेपाली कांग्रेसलाई यथास्थिति, परिवर्तनविरोधी र लंगडो कांग्रेस बनाउन अहम भूमिका खेले ।
शेखरको १ हजार ७ सय २ मत र देउवाबाहेकका ६ सय ४३ मत एक ठाउँमा हँुदा स्वतः शेखर नेपाली कांग्रेसको १४औं अधिवेशनबाट निर्वाचित सभापति बन्थे । शेखर सभापति भए कांग्रेस पुनर्जागृत र भरिलो बन्थ्यो । तर, नेतृत्वको सत्तालिप्सा, व्यक्ति केन्द्रित र असक्षमताका कारण आज कांग्रेस दिन दुई गुना रात चौगुना ओरालो लाग्दै छ भने सभापति देउवा ज्योतिषीको भविष्यवाणी पूरा गर्न गठबन्धनका नारा ओकलिरहेका छन् ।
नेतृत्वको सत्तालिप्सा, असक्षमता र व्यक्ति केन्द्रित राजनीतिले देश र जनतालाई कति असर पार्छ भन्ने कुराको उदारहण देउवा हुन् । सभापति केका लागि ? प्रधानमन्त्री केका लागि ? पुनः सभापति र प्रधानमन्त्री हुनका लागि गरिएका तिकडममा आज नेपाली कांग्रेसका निष्ठावान् कार्यकर्ताहरू बिचल्लीमा परेका छन् भने देश खोक्रो बनेको छ । तैपनि, नेताहरू गुलामी र चाकडीबाजमा नै आप्mनो भविष्य खोजिरहेका छन् । नेपाली कांग्रेसको दुर्दशा यही नै हो । जसका कारण आमजनताले दुःख, सास्ती भोगिरहेका छन् ।
प्रजातन्त्र र लोकतन्त्र पनि शक्ति र सत्ताका अगाडि लाचार हुने रहेछ । जुन देउवाले पुष्टि गरेर देखाइदिए । पटक पटक शक्ति र सत्ता प्राप्तिका चालमा लोकतन्त्रका दाबेदारहरू नतमस्तक बनाइदिए । देउवाको यो व्यक्तिगत क्षमता हो । जहाँ देश र जनताको स्वार्थ लुकेको पाइँदैन । व्यक्तिको स्वार्थका अगाडि देश नै बन्धक बन्दो रहेछ । अहिले नेपाली कांग्रेस र प्रधानमन्त्री देउवाको अवस्था योभन्दा भिन्न छैन ।
सधैं लोकतन्त्र र प्रजातन्त्रका लागि लडेका दाबी गर्नेहरू अहिले देउवाको तानाशाही प्रवृत्तिको गुलाम बनेका छन् । देउवाको गुलामीभित्र प्रजातन्त्र र विकास देख्नेहरूले नेपाली कांग्रेस र देशलाई ने लंगडो बनाइदिए । देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस र त्यसको नेतृत्व शेरबहादुर देउवा आज देशमा हुने कुनै पनि चुनाव एक्लै लड्ने हिम्मत राख्दैनन् । योभन्दा लज्जाको विषय अन्य के होला र ? गठबन्धन देश र जनताको हितमा छ ? शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाहेक सबै गठबन्धनको विरुद्धमा छन् ।
तर पनि, नेतृत्वको अधिनायकत्वमा सति जानेहरूको कमी छैन । अब, चुनाव पनि यही हो । लोकतन्त्रमा प्रतिस्पर्धा सुन्दर पक्ष हो । नेपाली कांग्रेसमा आस्थावान्, त्याग, तपस्या र बलिदानीबाट बनेको यो सुन्दर पार्टी कहिल्यै उठ्न नसक्ने बनाउने पात्र हुन् देउवा । जसले लोकतन्त्रको नाममा जनमतको हुर्मत लिए ।
कांग्रेसमा सबैभन्दा देउवाको विरोध गर्ने रामचन्द्र पौडेल नै उनको सारथी बनिदिएपछि कांग्रेसभित्र नयाँ नेतृत्व आउने र देशमा परिवर्तन हुने आशामा तुवाँलो लागेको छ
सबैभन्दा लामो समय सत्तामा रहेको नेपाली कांग्रेस आज सत्तामा रहेर पनि कसैको वैशाखीमा हिँड्नै पर्ने बाध्यतामा छ । सत्तामा रहेर विपक्षी पार्टी एमालेविरुद्ध गठबन्धन, लोकतन्त्रमा जे पनि सहज हुने रहेछ । सत्ताबाहिर रहेका दलहरूका बीचमा गठबन्धन स्वाभाविकता भए तापनि सत्तासीन दलहरू नै गठबन्धन गरी विपक्षी पार्टीसँग लड्नुपर्ने बाध्यतामा देउवाले नै पु¥याए । आप्mना आमकार्यकर्ताको भावना र विचारविपरीत गएर सबैभन्दा ठूलो राजनीतिक प्रतिस्पर्धी र दुश्मन बनेको माओवादीसँगको गठबन्धनमा रमाएको छ । यो देश र जनताका लागि नभई देउवालाई पुनः प्रधानमन्त्री र रामचन्द्रलाई राष्ट्रपति बन्ने लालसाबाहेक अन्य केही होइन । रामचन्द्रलाई प्रधानमन्त्रीको लालसा देखाएर पार्टीभित्र शक्ति आर्जन गर्ने देउवाको रणनीति भनेको आफंै पुनः प्रधानमन्त्री बन्ने नै हो । देउवालाई पटक पटक प्रधानमन्त्री बनाएर कांग्रेसले कस्तो लोकतन्त्र र प्रजातन्त्र अनि विकासको कुरा गरेको हो । लाज नै लजाउँछ ।
गठबन्धन केका लागि ? जितका लागि । जित केका लागि ? देउवालाई पुनः प्रधानमन्त्री बनाउन गठबन्धन । योभन्दा लज्जाको विषय अन्य हुन सक्दैन । कांग्रेसलाई यति धेरै निरीहता र अपांगता बनाउने देउवा नेपाली कांग्रेसको मात्र होइन, देशको नै नालायक पात्र हुन् । जसले नेपाल र नेपालीको विकास र समृद्धिमा बाधक बनिरहे र बनिरहनेछन् । नेपाली कांग्रेसका तमाम कार्यकर्ता कोही देउवाका पाउ मोल्दै छन् भने कोही देउवाको उत्पीडन, अत्याचार र अधिनायकवादविरुद्ध संघर्ष गर्दै छन् । जसले देउवाविरोधी गतिविधिमा सक्रिय सहभागिता जनाए, उनीहरू नै हुन् नेपाली कांग्रेसका सच्चा कार्यकर्ता । जसले देश र जनता परिवर्तनका नारा ओकलिरहनेछन् ।
देशलाई धेरै समय बन्धक बनाइसकेका देउवाको बहिर्गमन नै देश र कांग्रेसका लागि श्रेयष्कर हुनेछ । किनकि, देउवा पटक पटक असफल सिद्ध भइसके । नेपाली कांग्रेसजस्तो सबैभन्दा ठूलो दललाई आज कसैको वैशाखीबिना हिँड्न नसक्ने बनाउने देउवाबाट अब कांग्रेस र देश परिवर्तनका आशा राख्नु भनेको मूर्खता सिबाय अन्य केही होइन ।






