काठमाडौं । सरकारले केही विलासिताका वस्तुमाथि लगाउँदै आएको आयात प्रतिबन्धलाई आगामी मंसिर मसान्तसम्मका लागि कायमै राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई आगामी २९ मंसिरसम्मका लागि निरन्तरता दिने निर्णय गरी अझै आगामी मंसिर महिनाभर लम्ब्याउन सिफारिस गरेको थियो ।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाब कायमै रहेको राय दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो प्रतिबन्धलाई आगामी ६२ दिन थप गर्न सिफारिस गरेको थियो ।
सोही सिफारिसअनुसार नै शुक्रबारको मन्त्रिपरिषद् बैठकले यस्ता विलासिताका बस्तुमाथि हाल जारी राखेको आयात प्रतिबन्धलाई आगामी २९ मंसिरसम्मका लागि कायमै राख्ने निर्णय गरेको हो ।
सरकारले गरेको यो अन्तिम निणर्यसँगै अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १५० सीसीमाथिका मोटरसाइकल र जिप कार भ्यानको आयात आगामी २९ मंसिरसम्मका लागि निरन्तर कायमै हुनेछ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले यस्तो निणर्य गरेको जानकारी गराएका हुन् । विदेशी मुद्रा सञ्चितीदर नघटोस् भनेर सरकारले अझै केही समयका लागि केही विलासिताका वस्तुमाथिको आयात प्रतिबन्ध लम्ब्याउने निर्णय भएको बताउँदै सरकारका प्रवक्ता कार्कीले भने, ‘अब राजपत्रमा सूचना प्रकाशित हुनेछ ।’
यसअघि, सरकारले कोरोना विश्व महामारीको प्रभावलगायत विविध कारणले मुलुकको राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिती एकदमै कम भएर अत्यावश्यक सामानको आयात खर्च नै धान्न नसकिने अवस्था आएको भन्दै गत वैशाखमा महँगा मदिरा, सवारी साधनलगायत विभिन्न १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि, मुलुक भित्रिने रेमिट्यान्स रकम अपेक्षाकृत रूपमा नभित्रिएको र अन्य आर्थिक गतिविधि पनि खासै नबढेर विदेशी मुद्रा सञ्चितीदरमा सुधार नआएपछि सो प्रतिबन्धलाई थप कडाइ गर्दै सरकारले ३१ असारका लागि सो प्रतिबन्ध लम्ब्याएको थियो ।
त्यसपछि, मुलुक भित्रिने रेमिट्यान्स रकम बिस्तारै बढ्न थालेको र अन्य आर्थिक गतिविधिबाट आउने वैदेशिक मुद्राको दर पनि केही बढेसँगै सरकारले गत १४ भदौमा कुरकुरे, हिरालगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई भने कायमै राखेको थियो ।
आगामी कात्तिकमा पर्ने तिहार, छठ पर्व र नेपाल संवत्जस्ता चाडपर्वमा विदेशी महँगा मदिरा र सवारीसाधानको कारोबार निकै हुने मौकामा यस्ता विलासिताका वस्तुको आयातमा संलग्न केही व्यवसायीले हाल कायम रहेको केही वस्तुमाथिको प्रतिबन्ध हट्ने अपेक्षा गरेका थिए ।
उनीहरूको अपेक्षा र मागलाई भन्दा समग्र देशको आर्थिक अवस्था थप संकटमा जानबाट बचाउने प्रयास अनुरूप यस्ता वस्तुमाथिको प्रतिबन्ध आगामी मंसिर मसान्तसम्मका लागि कायमै राख्ने निर्णय सरकारले गरेको हो । यसअघि, केही निजी क्षेत्रका व्यावसायिक छाता संस्थाले विज्ञप्ति नै जारी गरी शुक्रबारसम्म कायम रहेको केही वस्तुको आयात प्रतिबन्ध हटाउन माग गर्दै आएका थिए ।
सरकारको यस्तो निर्णयले तिहारमा पनि महँगा विदेशी मदिरा र सवारीसाधनको कारोबार नहुने सम्बन्धित व्यवसायीले बताएका छन् । उनीहरूले आयात प्रतिबन्ध कायमै रहेको अवस्थामा तिहारको बेलामा महँगा मदिरा र सवारी साधनको व्यापार गर्ने नपाएपछि देशको ढुकुटीमा जम्मा हुने ठूलो परिमाणको राजस्व रकमसमेत गुम्ने अवस्था आएको बताएका छन् ।






