धनगढी । कैलाली प्रहरीले प्रभावमा परेर हत्यासम्बन्धी घटनामा ढाकछोप गर्न खोजेको आरोप लागेको छ । धनगढी उपमहानगरपालिका ४, चटकपुरका महादेव ओझाले आफ्नो छोराको हत्या भएपनि प्रहरीले दुर्घटना बनाएर हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको गुनासो बताए ।
उनका ३१ वर्षीय छोरा दुर्गा ओझाको गत २७ असोजमा दुर्घटनाका कारण मृत्यु भएको भनिएको थियो । दुर्घटना नभई योजनावद्धरुपमा हत्या गरिएको महादेवले बताए ।
उनले हत्याजस्तो घटनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले कसैको दबाब र प्रभावमा परेर अभियुक्तलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । दुर्घटना भएको स्थल, चोटपटकको अवस्था र घटनाको प्रकृति हेर्दा दुर्घटना नभई आफ्नो छोराको हत्या भएको देखिएको महादेवको भनाइ छ ।
‘घटनास्थलमा दुर्घटना भएको कुनै संकेत थिएन । मोटरसाइकलमा कुनै क्षति पुगेको छैन । घाइते अवस्थामा भेट्नेले टाउँकोमा हेल्मेट थियो भनेका छन् । तर पोष्टमार्टम रिपोर्टले टाउँकोमा रगत जमेर मृत्यु भएको भनेको छ,’ उनले भने, ‘यी सबै तथ्यहरु हेर्दा दुर्घटना नभई हत्या भएको देखिन्छ तर प्रहरीले दुर्घटना बनाएर अभियुक्तलाई उन्मुक्ति दिन खोजेको छ ।’ शक्ति केन्द्रको प्रभावले प्रहरीले घटनाको अनुसन्धानमा चाँसो नदिएको उनको गुनासो छ ।
असोज २७ गते राति करिब एक बजेतिर धनगढी–१३, राजपुरबाट कैलालीगाउँमा आफ्ना एक जना साथीलाई पुर्याएर फर्कने क्रममा ओझाको दुर्घटना भएको भनेर प्रहरीले सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार त्यस दिन दुर्गासहित अन्य तीन जना राजपुरको एक होटेलमा कोठा लिएर राति बसेका थिए । तीमध्ये एक कालीप्रसाद भट्टले राति एक बजेतिर घर जान खोजेपछि दुर्गा मोटरसाइकलमा उनलाई पुर्याउन गएका थिए । निकै बेरसम्म दुर्गा नफर्केपछि होटेलमा रहेका दुई जना खोज्न जाँदा उनलाई गम्भीर घाइते अवस्थामा बाटोमा फेला पारेका उनीहरुले प्रहरीलाई बयान दिएका छन् ।
रातिनै उपचारका लागि धनगस्थित मायामेट्रो अस्पताल पुर्याएको केहीबेरमै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । सँगै बसेका साथीले दुर्घटनामा गम्भीर घाइते भएको अवस्थामा भेटेको भने पनि परिवारलाई मृत्यु भएपछि मात्र खबर गर्नुले पनि घटना शंकास्पद रहेको महादेवले दावी गरे । ‘तथ्यप्रमाणले दुर्घटना होइन भन्ने देखिन्छ ।
घटनाको सत्यतथ्य अनुसन्धान गरिदिन प्रहरीलाई बारम्बार आग्रह गर्दा पनि हाम्रो कुरा सुनुवाइ भएन,’ उनले भने, ‘प्रहरीले उल्टै अभियुक्तलाई जोगाउने गरी काम गरेको हामीलाई महसुस भएको छ ।’
घटना हेर्दा हत्या गरेर फालेको देखिएको उनले बताए । घटनाको किटानी जाहेरी लिनसमेत नमान्नुले प्रहरी कसैको दवावमा रहेर संलग्नलाई उन्मुक्ति दिन लागिपरेको पुष्टि हुने आफन्तको दावी छ । संगै बसेका तीन जनाको नाममा किटानी जाहेरी दिन खोज्दा प्रमाण नपुगेको भन्दै प्रहरीले लिन नमानेको ओझाले गुनासो गरे । घटनाको दिन दुर्गासँगै बसेका धनगढी–१३, का कालीप्रसाद भट्ट, गेहेन्द्रप्रसाद भट्ट र निरज भट्टका नाममा किटानी जाहेर दिन खोजेको ओझाले बताए । आफन्तका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीले किटानी जाहेरी लिन नमानेपछि जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत् उजुरी दर्ता गर्न खोजेका थिए ।
सरकारी वकिलको निर्देशनपछि पनि जाहेरी दर्ता भएन
जिल्ला सरकारी वकिलको कार्यालयले लिखित निर्देशन दिँदासमेत प्रहरीले पीडित पक्षले दिएको किटानी जाहेरी दर्ता गरेको छैन । सरकारी वकिलको कार्यालयले गत कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाउँदै किटानी जाहेरी दर्ता गराउन निर्देशन दिएको थियो । तर सरकारी वकिलको कार्यालयले निर्देशन दिँदासमेत प्रहरीले जाहेरी दर्ता नगरेको पाइएको सहायक न्यायाधिवक्ता श्रीराम ओझाले बताए ।
पीडितको जाहेरी दरखास्त हेर्दा अनुसन्धान गर्नुपर्ने देखिएकोले जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न भनेर न्यायाधिवक्ताले जिल्ला प्रहरीलाई जाहेरीसहित पत्र पठाउनु भएको थियो तर बिहीबार फाइल मगाएर हेर्दा किटानी जाहेरीनै दर्ता भएको छैन ।
न्यायाधिवक्ता ओझाले भने- ‘सरकारी वकिलको कार्यालयबाट निर्देशनअनुसारको पत्र गएपछि प्रहरीले अनिवार्य रुपमा जाहेरी दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म जाहेरी दर्ता नगर्नु गम्भीर विषय हो ।’
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ५ मा सरकारी वकिलको कार्यालयको निर्देशनपछि अनिवार्यरुपमा किटानी जाहेरी दर्ता गर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले भने आवश्यक प्रमाणहरु नदेखिएकाले किटानी जाहेरी दर्ता नगरिएको बताए ।






