काठमाडौं । आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ अब तीन भाषामा आउने भएको छ । यो चलचित्रको फस्ट लुक्स मंगलबार सार्वजनिक गर्दै निर्माता निर्देशक मिलन चाम्स यस्तो जानकारी गराएका हुन् । उनका अनुसार यो चलचित्र चलचित्र नेपाली, हिन्दी र अँग्रेजी भाषामा निर्माण गरिएको छ । अंग्रेजी संस्करणलाई हलिउडको वितरकले, हिन्दी संस्करलाई भारतीय वितरकले र नेपाली सँस्करणलाई नेपालको वितरकले वितरण गर्ने उनको बताएका छन् ।
यसै क्रममा गोर्खा वारियरको फस्ट लुक्सको रुपमा तीन वटा पोष्टर मंगलबार सार्वजनिक गरिएको छ । फस्ट लुक्स (पोष्टर) मा सन १९४९ को ‘मलाया इमरजेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई समेटिएको छ ।
एउटा पोष्टरमा अभिनेता रितेश चाम्ससहित गोर्खा सैनिक मेजरको भूमिका रहेका अर्का अभिनेता विजय लामा र अन्य कलाकार पनि ब्रिटिस गोर्खा सैनिककै भेषमा प्रस्तुत छन् । यस्तै अर्को एक पोष्टरमा चलचित्रमा ब्रिटिस गोर्खा सैनिकको रुपमा मुख्य अभिनेता रितेश चाम्स खुकुरी हातमा लिएर क्रोधित भावमा प्रस्तुत भएका छन् ।
मुख्य अभिनेता रितेशसहित उनको १२ जना ब्रिटिस गोर्खा सैनिकहरुको टिम युद्धमा जानको लागि तयारी मुद्रामा बसेको दृष्य तेश्रो पोष्टरमा छ । युद्ध सम्बन्धि ऐतिहाँसिक कथामा चलचित्र रहेकाले पोष्टरको रंग खैरो बनाईएको निर्माण पक्षको कथन छ ।
रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतकाकलाकारको मुख्य भूमिका रहेको छ । यो सिनेमा ‘वार’ जनरामा निर्माण भएको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्मातामा रुपमा सुरेश राई छन् ।
यो चलचित्रको नेपाल र मलेशियामा छायाँकन भएको हो । यसमा हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । यस्तै गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।
यस अघि दर्जन चलचित्र निर्देशन गरिसकेका मिलन चाम्सले यसपटक गोर्खाली सैनिकले ‘मलाया इमरजेन्सी जंगल वार’ युद्धमा गरेको संघर्ष र उनीहरुको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा पुर्याउँदै छन् । यसपछि यो फिल्मका अन्य सृँखला निर्माणको पनि उनले घोषणा गरिसकेका छन् । चलचित्र नेपाल सहित विश्वका सिनेमा हलमा एकसाथ रिलिज हुने निर्देशक चाम्सले बताएका छन् । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा समेटिएको पनि उनको कथन छ ।






