पोखरा, ८ चैत । कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसको जीवन अस्तव्यस्त हुन थालेपछि आर्थिक संकट गहिरिँदै जान थालेको छ । यसैबीचमा केही दानी मानिस पनि देखिन थालेका छन् ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आपूmले ६५ हजार रुपैयाँमा जग्गा भाडामा दिएकोमा एक महिनाको भाडा नलिने घोषणा गरेकी छन् ।
उनको नाममा पोखरा ६, लेकसाइडको जरेबरस्थित १४ आना जग्गामा हाल एक रेष्टुरेन्ट र फेन्सी संचालित छ ।
उपप्रमुख गुरुङले चैत महिनाको भाडा नलिने घोषणा गर्दै अन्य घरेबेटीलाई समेत यस अवस्थामा लचिलो बनिदिन आग्रह गरेकी छन् ।
व्यवसायीले कोभिड–१९ को प्रभावका कारण व्यवसाय चौपट बनेको भन्दै घरभाडा छुट माग गरिरहेका बेला उपपप्रमुख गुरुङबाट सो घोषणा आएको हो ।
उपप्रमुख गुरुङले भनिन्, ‘व्यवसायीलाई एक महिनाको भाडा नलिँदा राहत हुने अपेक्षासहित भाडा मिनाहा गर्ने निर्णय गरेको गरेकी हुँ । यस अवस्थामा आफूले जे सकिन्छ, त्यही सहयोग गर्नुपर्छ ।’
संकट गहिरिँदै गएको अवस्थामा आगामी बैशाख महिनाको भाडा विषयमा पनि विचार गर्न सकिने उनको भनाइ छ ।
स्याङ्जाको पञ्चमूलमा २०१८ मा बाबु ओमप्रसाद र आमा गौरादेवीको कोखबाट जन्मिएकी मञ्जुदेवी गुरुङले ०३८ सालमा वैवाहिक जीवनमा प्रवेशको एक दशक नबित्दै दुर्भाग्यवश श्रीमान् मेखबहादुरलाई गुमाएकी थिइन् । एक छोरा र एक छोरी हुर्काउँदै एकल जीवन बाँचेकी उनी राजनीतिमा सक्रिय रहने क्रममा पोखरा महानगरको उपप्रमुख पदमा निर्वाचित हुन सफल भएकी हुन् ।






