कांग्रेस संसदीय दल निर्वाचनः देउवालाई थापा–कोइराला समूहको टक्कर

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । भोलि बुधबार मतदान हुँदै छ । निर्वाचन समितिको सोमबार बसेको बैठकले बुधबार संसदीय दलको नेता चयन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले दलको नेता चयन प्रयोजनका लागि भीष्मराज आङ्दम्बे नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

निर्वाचन कार्यतालिकाअनुसार आज मंगलबार २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता तोकिएको छ । भोलि बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो ।

कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । उनीहरू ‘दलको नेता छान्ने प्रक्रिया’मा सहभागी हुन पाउनेछन् भने उनीहरूको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ ।

– उम्मेदवारी शुल्क ५१ हजार

– आज दर्ता, भोलि मतदान

दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र महामन्त्री गगन थापा मुख्य आकांक्षी छन् । यस्तै, रामचन्द्र पौडेल, प्रकाशमान सिंह पनि आकांक्षी हुन् । शेखर कोइरालाले भने ‘दलको नेतामा आफ्नो थप रणनीति’ खुलाएका छैनन् । महामन्त्री थापा र उनीबीच संवाद जारी छ । कोइराला देउवासँग १४औं महाधिवेशमा मुख्य प्रतिस्पर्धी थिए ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आफूनिकट नेतामार्फत दलको नेताका लागि बालुवाटारबाटै ‘लबिङ’ गरिरहेका छन् । उनले गत शनिबार पार्टीका तर्फका निर्वाचित प्रतिनिधिसभा सदस्यलाई सरकारी निवास बालुवाटार बोलाएर औपचारिक बधाईसमेत दिएका थिए ।

देउवाले पूर्वउपसभापति विमलेन्द्र निधि तथा प्रवक्ता डा. प्रकाशशरण महतलाई समेत दलको नेताका लागि ‘लबिङ’मा खटाउँदै आएका छन् ।

महामन्त्री थापाले भने केही समयअघिदेखि नै १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिका उम्मेदवार बनेका कोइरालासँग भेटेरै दलको नेताका लागि सहयोग गर्न आग्रह गरिसकेका छन् । कोइराला र थापाबीच सोमबार दलको निर्वाचन सन्दर्भमा थप छलफलसमेत भएको छ भने मंगलबार थप संवाद गरेर निर्णय लिनेगरी सोमबारको बैठक सकिएको छ ।

यसैगरी, नेता रामचन्द्र पौडेललाई समेत थापाले भेटेर सहयोगका लागि आग्रह गरेका छन् । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलसँगसमेत उनले भेटघाट गरेका छन् ।

त्यस्तै, नेता चन्द्र भण्डारीसँग पनि थापाले भेटेका छन् भने उपसभापति धनराज गुरुङसँग पनि थापाले भेटेर सहयोगका लागि आग्रह गरेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए भने उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट निर्वाचित बनेका हुन् ।

थापा भने देउवा सभापति बन्दा अर्को समूहबाट महामन्त्री निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभामा काठमाडौं ४ बाट निर्वाचित सांसद हुन् ।

कांग्रेस विधानमा संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । संसद्मा ठूलो दल कांग्रेस नै भएका कारण र प्रधानमन्त्रीसमेत दाबी गर्न सकिने अवस्था बन्दै गएपछि दलको नेता बन्नका लागि दौडधुप बढेको हो ।

दलको नेताका आकांक्षी रहेका नेता पौडेल तनहुँ १ र सिंह काठमाडौं १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

कांग्रेस राजनीतिको १४औं महाधिवेशदेखिको पृष्ठभूमि हेर्ने हो भने खासगरी संसदीय दलको नेतामा थापा र कोइरालाबाहेक अन्यले सभापति देउवालाई नै साथ दिने स्रोत बताउँछ ।

सो महाधिवेशनमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइरालाले ‘मौन’ बसेर सभापतिमा देउवालाई सघाएको भन्ने गरिएको छ । सिंहले भने पहिलो चरणमा आफैं सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई नै समर्थन गरेकाले पनि ‘थापा र कोइरालाबाहेकका अन्यले दलको नेताका लागि देउवातिरै ढल्किने’ अवस्था बन्न सक्छ ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने थापालाई नै दलको नेता र आगामी प्रधानमन्त्रीका रूपमा अघि बढाउनुपर्ने बताउँदै आएका छन् । उनले निर्वाचनअघि नै थापालाई ‘प्रधानमन्त्रीका रूपमा प्रस्ताव’ गरिसकेका छन् भने दलको नेताका लागि पनि ‘आफैं प्रस्तावक बन्ने’ अभिव्यक्ति दिइसकेका छन् ।

संस्थापन एक, इतरमा विमति
संसदीय दलको नेता चयन प्रक्रियामा कांग्रेसभित्रको संस्थापन समूह एक देखिएको छ । संस्थापन समूहबाट दल नेताका लागि सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार बन्दै छन् । तर, कांग्रेसभित्रको संस्थापनइतर समूहमा भने दुई आकांक्षी देखिएका छन् ।

१४औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धामा रहेका डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा इतर समूहबाट दलको नेता बन्न दौडमा छन् । उनीहरूबीच सोमबार ‘एकल उम्मेदवार बन्न सहमति प्रयास भए पनि राति अबेरसम्म सहमति भएको’ छैन । ‘इतर समूहबाट साझा उम्मेदवार तय गर्न’ भन्दै सोमबार राजधानीको होटल एम्बेस्डरमा बैठक बसेको थियो ।

कांग्रेस दलको नेताका लागि भोलि बुधबार हुने निर्वाचनमा संस्थापन समूहबाट सभापति देउवा उठ्ने पक्का भइसकेको छ ।

इतर समूहमा सहमति नभए वा दुवै मैदानमा उत्रिने अवस्था आए देउवालाई दलको नेता बन्न सहज हुने देखिन्छ । कांग्रेसबाट ८९ प्रतिनिधिसभामा सांसद छन् । उनीहरूले नै दलको नेता चयन गर्ने प्रक्रियामा मतदानको अधिकार पाउनेछन् ।

इतर समूहले दलको नेतामा एकल उम्मेदवार तय गर्दा पनि सो समूहलाई संस्थापन समूहसँग चुनावी नतिजा आफ्नो पक्षमा पार्न भने सहज छैन ।

इतर पक्षका कांग्रेसका एक केन्द्रीय सदस्यले ‘पाँच वर्षपछिको राजनीतिक अवस्था हेरेर दलको नेतामा सांसदले मतदान गर्ने अवस्था पार्टीभित्र बनेकाले जित इतर समूहको नै हुने तर त्यसका लागि साझा उम्मेदवार चाहिने’मा जोड दिए ।

‘दलको नेता बनाउने भनेको अबको पाँच वर्षपछिको पार्टी राजनीति र देशको राजनीति हेरेर हो, त्यति कुरा कांग्रेसका सांसदले बुझ्छन्, इतर समूहबाट एक जनामात्रै उम्मेदवार हुँदा जित निश्चित छ,’ इतर समूहका ती केन्द्रीय सदस्यले राजधानीसँग भने ।

कांग्रेस सहमहामन्त्री जीवन परियार सोमबारको इतर समूह बैठकमा ‘नेता कोइराला र थापालाई मिलेर जान र दुईमध्ये एक जना मात्रै उमेदवार बन्न’ सहभागी नेताहरूले सुझाएको बताउ“छन् ।

‘तपाईंहरू छलफल गर्नुस्, सोमबार रातभरमा मिलेर आउनुस्, दुईमध्ये एक उमेदवार बन्दा राम्रो हुन्छ भनेका छौं, सबै नेताको सुझाव यही छ,’ बैठकपछि सहमहामन्त्री परियारले भने ।

एनका अनुसार इतर समूहबाट दलको नेताका उम्मेदवार’bout आज मंगलबार बिहान ८ बजे पुनः छलफल हुनेछ । निर्वाचन समितिले उमेदवारी दर्ताका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ भने बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 487 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम