अस्पताल निर्माण विवादमा झडप, ३५ घाइते

बैतडी । बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयमा भएको विवादले झडपको रूप सिर्जना भएको छ । झडपका क्रममा ढुंगामुढा हुुँदा ३५ जना स्थानीयबासी घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य छ ।

मेलौली–७ का स्थानीयबासीले केशरपुर स्वास्थ्यचौकीको स्तरोन्नति गरी १५ शय्याको अस्पाताल बनाउन माग राख्दै आन्दोलन गरेका छन् । उनीहरूले मंगलबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

लामो समयदेखि आफ्नो वडामा अस्पताल बन्नुपर्ने माग राखेका उनीहरूले लगाएको तालाबन्दी खुलाएसँगै झडप भएको हो ।

स्थानीय केशवसिंह भाटले भने, ‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । त्यसबेला हामीमाथि ढुंगा, लट्ठी र भाला प्रहार भयो । प्रहारबाट ३५ जनाभन्दा बढी घाइते भएका छौं । १७ जना गम्भीर घाइते छन् । केही वृद्धवृद्धा र महिलासमेत घाइते छन् । वडा नम्बर–१ का बासिन्दाले हामीलाई कुुटपिट गरेका हुन् ।’

वडा नम्बर ७ र वडा नम्बर १ बीच भएको विवादमा झडप हुँदा दुवै वडाका बासिन्दा घाइते भएका छन् । वडा नम्बर ७ बासीले गरेको तालाबन्दीका कारण सबै कामकाज अवरुद्ध भएपछि बिहीबार प्रहरी प्रशासनको रोहवरमा नगरपालिकाले ताला खुलाउँदै आन्दोलनरत पक्षलाई छलफलका लागि बोलाएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशीले भने, ‘सेवा प्रभावित भएपछि जनप्रतिनिधि र इलाका प्रहरी कार्यालयको रोहवरमा ताला खुुलाएर ताला लगाउने पक्षलाई छलफलका लागि बोलायौं । उनीहरू आधा घण्टासम्म आएनन्, पछि नाराजुलुुस लगाउँदै आए । सोही क्रममा झडप भयो । त्यसपछि उनीहरूले नगरपालिकामा पुनः तालाबन्दी गरेका छन् । नगरप्रमुख जिल्ला बाहिर रहेकाले एक दुुई दिनमा उहाँ आउनु भएपछि छलफल गरेर समस्याको समाधान गरिनेछ ।’

मेलौलीका नगर प्रमुख भीमबहादुर चन्द –भूकम्प) काठमाडौंमा रहेका छन् । मेलौली नगरपालिका वडा नम्बर १ र ७ बीच लामो समयदेखि अस्पताल निर्माणका विषयमा विवाद रहँदै आएको छ ।

२०६७ सालमा तल्लो सोराडको मेलौलीमा अस्पताल बनाउन जग्गा माग गरिएको थियो । त्यहाँ रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र नजिक त्यसबेला जग्गा नपाइएपछि अन्यत्र जग्गा खोजी गर्दा वडा नम्बर १ मा पाइएको थियो ।

वडा नम्बर १ मा अस्पताल बनाउन सरकारी पक्ष तयार भएसँगै वडा नम्बर ७ को पुरानै स्वास्थ्य केन्द्र रहेको ठाउँमा समेत जग्गा प्राप्त भएको थियो । अहिले वडा नम्बर १ बासीले आफ्नो वडामा र वडा नम्बर ७ बासीले आफ्नोमा अस्पताल बनाउन माग गरिरहेका छन् ।

सो विवादका कारण पटक–पटक विनियोजन भएको बजेट फ्रिज हुँदै आएको छ । मेलौली–१ का बासिन्दाले बिट्ठने र वडा नम्बर ७ का बासिन्दाले काँडामा अस्पताल बनाउन माग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

epaper

ताजा समाचार

अब सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने