पोखरा । गएको ४ मंसिरको चुनावपछि गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते ३ बजेको लागि बैठक आह्वान गरेका हुन् ।
प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते सपथ गराउने तयारी छ । अघिल्लो दिन पुस १३ मा प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सपथ खाने छन् । उनलाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा सपथ गराउने कार्यक्रम छ ।
नेपालको संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५(१) बमोजिम प्रदेश प्रमुखले निर्वाचित प्रदेशसभाका ज्येष्ठ सदस्यलाई सपथ गराउने प्रावधान छ । बस्यालको सपथपछि उनले प्रदेशसभा भवन नदीपुरमा अन्य ५९ नवनिर्वाचित सांसदलाई सपथ खुवाउने तयारी छ ।
यसैबीच, नवनिर्वाचित सांसदले मातृभाषामा पनि सपथ लिन पाउने भएका छन् । संसद सचिवालयले उनीहरुलाई मातृभाषामा सपथ लिन पाउने गरी सूचना जारी गरेको संसद सचिव हरिराज पोखरेलले बताए ।
६० सदस्यीय गण्डकी प्रदेशसभा सबैभन्दा ठूलो पार्टी कांग्रेस हो । जसमा २७ सिट कांग्रेस, २२ सिट एमाले, ८ सिट माओवादी, २ सिट राप्रपा र १ सिट एकीकृत समाजवादीको छ । मनाङबाट स्वतन्त्ररुपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
कांग्रेस नेतृत्वको सरकार बन्ने तयारी रहँदा केन्द्रीय राजनीतिको उपलपुथलका कारण यहाँ एमाले वा माओवादीमध्ये एक नेतृत्वको सरकार बन्ने छ ।






