काठमाडौं । मोरक्कोका राजा मोहम्मद छैटौँको २७औँ राजगद्दी आरोहण दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मोरक्कोको राष्ट्रिय दिवस मनाइएको छ।
नेपालस्थित मोरक्कोको महावाणिज्य दूतावासले आइतबार थापाथलीस्थित कार्यालयमा राष्ट्रिय झण्डा फहराएर औपचारिक समारोह आयोजना गरेको थियो। समारोहमा नेपालका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी र महावाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा राष्ट्रिय झण्डा फहराई कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा नेपाल र मोरक्को दुवै देशका राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। साथै कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। महावाणिज्यदूत चौधरीले नेपाल–मोरक्को सम्बन्ध व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानका माध्यमबाट अझ सुदृढ बन्दै जाने विश्वास व्यक्त गरिन्।
यसैबीच, ललितपुरस्थित द प्लाजामा मोरक्कोको कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विशेष प्रदर्शनी आयोजना गरिएको छ। महावाणिज्यदूत चौधरीका अनुसार उक्त प्रदर्शनीले नेपाल र मोरक्कोबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








