रिडी मेलामा घरेलु उत्पादन

गुल्मी । माघ १ गते आइतबारबाट रिडीमा संक्रान्ती मेला लागेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल भनेर चिनिने रिडीमा पाँच दिनसम्म मेला चल्छ । विगतका बर्षहरुमा जस्तै यसबर्ष पनि रिडीमा मेला संचालन भइरहेको छ ।

मेलामा दैनिक उपभोग्य खाद्य सामग्री, रमाइलो गर्ने सामग्री, लत्ताकपडाका साथै घरेलु उत्पादन पनि बिक्रीका लागि राखिएको छ । हँसिया, डोका, नाम्ला, सुपा, डाला, कम्बल लगायत बाँस, फलाम र उनबाट बनेका सामग्री बिक्रीको लागि राखिएको हो । घरेलु उत्पादन लिएर बाग्लुङ, स्याङ्जा, जुम्ला, कालिकोट, रुकुम लगायतका जिल्लाका व्यापारी रिडी आएका छन् ।

४५ बर्षिय भोला गुरुङ मुस्ताङबाट राडिपाखी बेच्न पौष २९ गते रिडी आए । राडिपाखीसहित ओड्ने, ओछ्याउने समेतका लत्ताकपडा पुजा, जन्म वा मृत्यु संस्कारमा समेत प्रयोगमा आउछन् । राडिपाखी बनाउने पुख्र्यौली पेशा भएको गुरुङ परिवार विगत २० बर्षदेखि रिडी संक्रान्ती मेलामा व्यापारको लागि आउने गर्दछ । ‘हस्तकलाद्धारा निर्मित यो हाम्रो पुख्र्यौली पेशा हो ।’ उनले भने, ‘पहिले–पहिले बुवा आउने गरेकोमा अहिले हामी आएका छौ ।’ उनीले अहिले न्यूनतम तीन हजार पाँच सयदेखि छ हजार पाँच सयसम्म पर्ने लत्ताकपडा विक्रिको लागि राखेका छन् ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका –७ का गोरे कार्की पौष ३० गते राडिपाखी लिएर रिडी आए । ५९ बर्षिय कार्कीले बिक्रीको लागि चार लाखको सामग्री ल्याएका छन् । माघे संक्रान्तीको मेलामा २० बर्षदेखि रिडी आउने गरेका उनीसँग गलैचा लगायतका उनबाट बनाइएका सामग्री छन् ।

तर पहिलेजति बिक्री नभएकोमा भने उनी चिन्तित छन् । ‘धेरैले फाइबरका कपडा प्रयोग गर्न थाले, नयाँले अर्गानिक सामान चिन्दैनन् ।’ उनले भने, ‘व्यापार नभए अर्को बर्षदेखि आउने सम्भावना कम देखिएको छ ।’ जुम्लाकै ४० बर्षिय गणेश बहादुर हमालले आफु विगत १८ बर्षदेखि माघे संक्रान्तीमा रिडी आएको र पहिलेभन्दा अहिले व्यापार घटेको बताए । ‘पहिले–पहिले लोभलाग्दो व्यापार हुने गरेकोमा अहिले कम व्यापार छ ।’ उनले भने, ‘हामी एकजनाले औषत पाँच लाखको सामग्री ल्याएका छौ ।’

मेलामा बाग्लुङ बुर्तिबाङ्गका ४२ बर्षिय मन बहादुर श्रीपालीले फलामबाट निर्मित सामग्री ल्याएका छन् । हँसिया, कुखुरी, दाउ, कोदालो, बञ्चरो लगायतका सामग्री उनले बिक्रिको लागि राखेका छन् । बुर्तिबाङ्गमा सामग्री बनाउने उनको आफ्नै उद्योग छ । जहाँ उनीबाहेक छ कामदार छन् ।

उनी आफै पनि फलामका सामग्री बनाउने गर्दछन् र श्रीमतीसँग मेला लागेका ठाउँहरुमा बेच्न हिड्छन् । ‘न्यूनतम २२० देखि अधिकतम पाँच हजारसम्मका सामग्री बिक्रीमा छन् ।’ उनले भने, ‘यही पेशाबाट मासिक एक लाख बचत हुन्छ ।’ बचत भएको रकम छोराछोरी पढाउने, दैनिक खर्च चलाउने लगायतका काममा खर्च गर्छन् । श्रीमतीसँग आफै बनाएका सामग्री बेच्न पाउँदा उनी खुसि छन् ।

मेलामा उन र फलामबाट मात्र होइन, बाँस र निगालोबाट बनेका सामग्री पनि बिक्रीको लागि राखिएको छ । बाग्लुङ, ख्याङ्जा लगायतका स्थानबाट व्यापारी घरेलु उत्पादन लिएर रिडी आएका छन् । बाग्लुङको जलजलाका खगेन्द्र विश्वकर्मा रिडी–रुद्रवेणी सडक छेउमा बसेर डोका, नाम्ला, सुपा र डालाको व्यापार गर्छन । उनी आफै निगालो र बाँसबाट बनाउने उक्त सामग्री लिएर उनी विगतका बर्षहरुमा पनि रिडी आउने गर्दथे । तर पहिलेजस्तो अहिले भने व्यापार नभएको उनी सुनाउछन् । ‘विगतका बर्षमा भन्दा मानिस बढी छन्, व्यापार कम छ ।’ उनले भने, ‘सरकारले बिक्रीको आवश्यक व्यवस्था मिलाइदिए रिडीसम्म आउनु पर्दैनथियो ।’

मेलामा कृषि प्रदर्शनी अन्तरगत बन्दागोपी, फुलगोपी, ब्रोकाउली, केरा, किवी लगायतका सामग्री पनि राखिएको छ । पाँच दिनसम्म चल्ने मेलामा ५० हजार मानिस सहभागि हुने र करिब १० करोडको कारोबार हुने रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए । पहिलो दिन कालिगण्डकी नदिमा स्नान गर्ने, दोस्रो दिन स्नान र व्यापार गर्ने, तेस्रो दिन घुमघाम एवम् चौथो र पाँचौ दिन व्यापारको लागि मानिसहरु रिडी पुग्ने गरेको अध्यक्ष ज्ञवालीले बताए । आगामी बर्षहरुमा मेलालाई स्थानीय उत्पादनको बजारीकरणको लागि समेत प्रयोग गर्नेगरी पालिकाले तयारी गरेको ज्ञवालीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 454 times, 1 visits today)

epaper

ताजा समाचार

खोलाले बगाएर छोराको मृत्यु भएपछि आमा पनि झुन्डिएको अवस्थामा मृत फेला