प्रारम्भः
नेपाली मतदाताले लामो समयदेखि वैकल्पिक राजनीतिक शक्तिको प्रतीक्षा गरिरहेका थिए । डा. बाबुरामको नयाँ शक्तिदेखि रविन्द्र मिश्रको विवेकशील दलले नेपाली मतदातासामु आफ्ना आफ्ना दललाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्दा मतदाताले विश्वास गर्न सकेनन् । पुराना राजनीतिक दल कुनै सुधारको गुन्जायस नदेखी निराश बनेका मतदाताले यसपटकको निर्वाचनमा युवालाई विशेषगरी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र दललाई परीक्षण गर्ने निर्णय लिएका छन् । नेपाली जनताले सूक्ष्म तबरले स्वतन्त्र दलको आगामी राजनीतिक यात्रालाई नियालिरहेका छन् । धेरै प्रकारका चुनौतीको सामना यस दलले गर्नुपर्ने अवस्था छ । अल्पअवधिमा राजनीतिमा सहभागी हुने निर्णय लिएको यस दल’bout केही कमीकमजोरीहरू देखिएका र भविष्यमा दीर्घकालीन राजनीति अवलम्बन गर्नुपर्दा समग्र दल र यसका पात्रको परिचालन प्रभावकारी बनाउने सन्दर्भमा केही सुझाव दिने प्रयास यस आलेखमा गरिएको छ । किनकि, जनताले विश्वास गरेका छन् । परिवर्तनको अनुभूति यसै दलबाट गर्न खोजेका छन् । सर्वत्र रविजी र स्वतन्त्र दलका साथै नवनिर्वाचित युवा’bout सधनरूपमा चर्चा राजनीतिक वृत्तमा भइरहेको छ ।
बहुदलीय संसदीय प्रणालीलाई मुलुकको विकाश गरेर विस्थापित गर्ने सोचका साथ तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्थाको प्रारम्भ गरेका थिए । पञ्चायती व्यवस्थाले जनताका अधिकार वञ्चित गरेकामा विरोध हुँदै गर्दा तत्कालीन राजा वीरेन्द्रले सुधारसहितको पञ्चायती व्यवस्था वा बहुदलीय शासन प्रणाली दुईमध्ये एक रोज्न जनमत संग्रह गराए । पञ्चायती व्यवस्था जनानुमोदित भयो । तर, जनता सन्तुष्ट हुन सकेनन् । २०४६ सालमा पञ्चायती व्यवस्थालाई समाप्त पारेर बहुदलीय संसदीय प्रणालीको स्थापना गरियो । विभिन्न दलका नेतृत्वबाट बिस्तारै जनता आक्रोसित बन्दै गए । २०६३ सालबाट संघीयता, धर्म निरपेक्षता र गणतन्त्रसहितको व्यवस्था प्रारम्भ भयो । शासकीय प्रणाली विकृतिपूर्ण बन्दै गयो । नेका र विभिन्न आवरणका साम्यवादी दलले पटक पटक शासन सत्तामा लिने आवसर प्राप्त गरे । तर, उनीहरूको शासनले जनतालाई दिन प्रतिदिन असन्तुष्ट बनाउँदै लग्यो । आफंैले सहयोग र समर्थन गरेर सत्तामा पुगेकाबाट आफैं ठगिएको महसुस जनताले गर्दै गए । बाध्य भएर यस निर्वाचनमा स्वतन्त्र दलका र स्वतन्त्र हैसियतका प्रतिस्पर्धीहरूलाई मतदान गरेर वैकल्पिक शक्तिको चुनौती यी पुराना रैथाने दललाई मतदाताले दिएका छन् ।
कमी कमजोरीहरू
राजनीति कुनै सिद्धान्त, वाद, आदर्श र विचारका आधारमा अघि बढ्दछ । विश्वमा देखिएका राजनीतिक प्रणाली यही आधारमा सञ्चालित छन् । राष्ट्रिय स्वतन्त्र दलले आफ्ना यी आधारलाई स्पष्ट पार्न सकेको छैन । एकपटक यस दलको घोषणा पत्रका केही प्रावधानको अध्ययन गरांै । यसमा उल्लेख भएको छ । स्वतन्त्र शब्दले निर्दलीयता, दलबिहिनता र एकल उम्मेदवारीको पक्षपोषण गर्दैन । विधिको शासन लागू गर्ने र आमजनसमुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक देखेमा वाद, विचार र सिद्धान्तसमेतलाई त्याग गर्न सक्नेछ । राजनीतिक चरित्र अग्रगामी र समाजवादउन्मूख हुनेछ । संस्कृतिको सघनीकरण, संस्थागत प्रक्रियाको निरन्तरता समयसापेक्षताको पक्षमा रहनेछ । सैद्धान्तिक वाद र विचारका आधारमा मात्र राजनीतिले निर्दिष्ट गन्तब्य निर्धारण गर्न सक्दछ । नेपालका स्थापित राजनीतिक दलको अध्ययन गरौं ।
नेपाली कांग्रेसले आफ्नो स्थापना कालदेखि आजका दिनसम्म आफ्नो सैद्धान्तिक आधार, वाद र विचारलाई परित्याग नगरी राजनीति गरिरहेको छ । साम्यवादी ब्रान्डमा राजनीति गर्नेहरूले यसको सिद्धान्त र आदर्शलाई छाडेका छैनन् । नेका र कम्युनिष्ट दलका पात्रहरू जतिसुकै खराब भए पनि यी दलले अवलम्बन गरिरहेको सिद्धान्तका आधारमा मतदाताहरू समर्थक बनेका छन् । राष्ट्रिय अस्तित्वमा लामो समयदेखि स्थापित छन् । राष्ट्रिय स्वतन्त्र दलको यस प्रकारको स्पष्ट अडान देखिएन । यदि अल्पअवधिमा निर्वाचनमा गएकै कारण शंकाको सुविधा यस दललाई प्रदान गर्ने हो भने अबका दिनमा यस आधारलाई स्पष्ट गराएर राजनीतिलाई निरन्तरता दिनु जरुरी छ ।
राष्ट्रिय स्वतन्त्र दलमा रविजी नै सर्वेसर्वा भएको सन्देश प्रवाह भएको छ । साम्यवादी तानाशाहीसमेत विधिको शासनलाई आत्मसात गर्दै लोकतन्त्रको पक्षपातिका रूपमा प्रस्तुत हुन पाउँदा गौरव मान्दछन् । देखाउनकै लागि भए पनि लोकतान्त्रिक अभ्यास गर्दछन् । पार्टीको अस्तित्वलाई अविच्छिन्न राख्न नेतृत्वलगायत सबै तह उपयुक्त विकल्प सधै प्रस्तुत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छ । प्रारम्भकै दिनमा यो अवस्थाको कमी यस दलमा देखिएको आभाष मिलेको छ । समानुपातिकबाट निर्वाचित हुने नामको टुंगो लगाउने क्रममा दलभित्र देखिएको द्वन्द्वले समेत यस दलका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने स्पष्ट आवश्यकता देखिएको छ । यस सम्बन्धमा जिम्बावेका तत्कालीन राष्ट्रपति रबर्ट मुगावेको स्मरण गर्नु उपयुक्त देखेको छु । उनले प्रारम्भका दिनमा अत्यन्त प्रख्याति कमाए । राष्ट्रियताको पक्षपातिका रूपमा आफ्नो पहिचान वनाए । सत्ताको उन्माद उनीमा धेरै ज्यादा देखियो । ठूलो दमन मच्चाएर पराजित बनेको निर्वाचनमा विजयी भए । आपूm शारीरिकरूपमा कमजोर हुँदै गएपछि कान्छी श्रीमतीलाई सत्ताको बागडोर सुम्पने अभिलाषा राखे । आफ्नै दलकाले यो प्रपञ्च बुझे । सफल हुन दिएनन् । यसैबाट मानसिक पीडा सहन गर्न असमर्थ बने र मृत्युवरण गर्न पुगे । रबर्ट मुगावेले राष्ट्र नै आपूm बनेको आडम्बर राख्दा उनको अन्तिम समय पीडादायी बन्न पुग्यो । नेपालका क्षणिक रूपमा जनताले पत्याएका पत्याउने अवस्थामा पुगेकाले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न मुगावे र धेरै संख्याका नेपाली मुगावेबाट समेत पाठ सिक्नुपर्दछ ।
रविजीमा देशका लागि केही गरांै भन्ने भावना र हुटहुटी देखिन्छ । अब सानातिना गलत क्रियाकलापको विरोध गर्ने, गलत कार्य गर्नेलाई नांगेझार बनाउने कार्यमा आफंै प्रत्यक्ष सहभागी हुनुभन्दा नीतिगत सुधारका दिसामा अभिमुख हुनुपर्छ । जसबाट ठूलो परिवर्तन सम्भव हुन पुगोस् । पद्धतीका आधारमा शासन प्रणाली सञ्चालित हुन सकोस् । सस्तो लोकप्रियताले भारतमा आमआदमी दल संकटमा पर्ने आँकलन गरिँदै छ । कांग्रेस सरकार भारतमा अलोकप्रिय बन्दै गर्दा भाजपा र आमआदमी दलका केजरीवालले वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय राजनीतिमा प्रस्तुत हुने अवसर पाए । भाजपाको विकल्पका रूपमा प्रस्तुत भइराखेको आमआदमी दलले साम्प्रदायिकतालाई निरुत्साहित गर्ने जनताबाट अपेक्षा गरिएको थियो । यसको दृढताका साथ पक्षमा रहेका विद्वान् नेता योगेन्द्र यादवलगायतकालाई केजरीवालले निष्कासन गरिसकेका थिए । भाजपाको विकल्पका रूपमा प्रस्तुत भएकै कारण अल्पसंख्यक मुसलमानहरूकोे समर्थनबाट आमआदमी दल दुईपटकसम्म दिल्लीमा अत्याधिक स्थानमा विजयी भइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र दलले आफ्ना वैचारिक आधारलाई स्पष्ट पार्न सकेको छैन
यहीक्रममा भाजपाले साम्प्रदायिक दंगा प्रारम्भ ग-यो । केजरीवालको दललाई समर्थन गरेका अल्पसंख्यक मुसलमानको घर आगो लग्यो, सम्पत्ति लुटिए, ठूलो संख्यामा हताहत भए । अब केजरीवाल र आमआदमी दलको अग्निपरीक्षा प्रारम्भ भयो । अन्यायबिरुद्ध उनी र उनको दलले आवाज दिनुपर्ने र न्याय दिलाउनु जरूरी थियो । अल्पसंख्यक र बहुसंख्यकमध्ये कसलाई समर्थन र विरोध गर्ने र किन गर्ने जस्ता प्रश्नको निर्णय सिद्धान्त, वाद, आदर्श, मल्य, मान्यता, निष्ठाका आधारमा गर्न सकिन्थ्यो । अल्पअवधिमा उदाएको आमआदमी दलमा यही अभाव रह्यो । दललाई सिद्धान्तबाट पृथक बनाइयो । पीडितले आफ्ना मतबाट जितेर गएका सांसदबाट सहयोगको अपेक्षा गर्ने नै भए । केजरीवालले मतको हिसाब राख्न थाले । अल्पसंख्यक पीडितका पक्षमा खडा हुँदा बहुसंख्यक मतदाताहरू भड्किने सम्भावना देखे । रुइंगा मुसलमानलाई केजरीवालले नै खेदे । साम्प्रदायिकता भड्काउन खलनायकको भूमिकामा केजरीवाल प्रस्तुत भए । भाजपाकै पद चिह्नमा राजनीति गरेको आलोचना हन थाल्यो । यादव यथार्थवादी राजनीतिज्ञ र सिद्धान्तमा अडिग थिए । त्यसैले उनलाई दलबाट च्युत गरियो । आमआदमी दलले दंगाविरुद्धमा सामान्य विज्ञप्तिसम्म निकालेर विरोध गर्दै राजनीतिक धर्म निर्वाह पनि गरेनन् । नेपालको स्वतन्त्र दलसमेत सैद्धान्तिक स्पष्टता गर्न समयको अभावका कारण हो वा उपयोगितावादी बन्दै गएको होे राजनीतिकर्मीबीच आलोचना हुन थालेको छ ।
नागरिकतासम्बन्धी विधेयकको विरोध स्वतन्त्र दलले गर्दै गर्दा यस विधेयकका प्रावधानको आधारमा कसरी यो विधेयक राष्ट्रहितको विपक्षमा रहेको हो ? स्पष्ट गर्न सकेन । मत बटुल्न जारी गरेको विज्ञप्तिका रूपमा समेत स्वतन्त्र दलको विरोध प्रारम्भ हुन थालेको छ । यस अर्थमा यस दलले आफ्नो सैद्धान्तिक अडानका आधारमा राजनीति गर्नु नै देश र देशवासीको हितमा हुनेछ ।
सबल पक्षहरू
देशमा कुशासन व्याप्त छ । स्वार्थको संघर्ष हुनेगरी नीति निर्माण गर्न निर्णय लिन राजनीतिज्ञहरू अभ्यस्त छन् । राष्ट्रिय स्वार्थमा दलहरूबीच मतैक्यता हँुदैन । भ्रष्टाचार गर्ने र भ्रष्टाचारीको संरक्षण गर्ने विषयमा सबै दलहरूबीच समझदारी बनेको स्पष्ट भएको छ । सार्वजनिक सेवाप्रवाह अत्यन्त न्यून गुणस्तरको रहेको छ । दलहरूबीच सिन्डिकेट कायम छ । आलोपालो प्रणालीका आधारमा देशको शासनसत्तामा नियन्त्रण गरेर ब्रम्हलुट गर्न सबै स्थापित दलहरूबीच प्रतिस्पर्धा तीव्र छ । देशको शासन प्रायः तीन दलहरूबीचको आधिपत्यतामा सञ्चालित छ । दण्डहीनतालाई हदैसम्मको प्रश्रय दिइएको छ । यही अवस्थाबाट देशलाई मुक्ति दिलाउन स्वतन्त्र दलले राजनीति गरेको मानिएको छ । यस्ता कुकृत्य र कुशासनलाई उन्मुलन गर्ने अभिप्रायले अघि बढेको राष्ट्रिय स्वतन्त्र दललाई नेपाली जनताले स्वागत गर्ने संकेत गरेका छन् । नामै नसुनेका प्रतिस्पर्धीलाई मत दिएका छन् ।
अब जनताको यो विश्वासलाई आत्मसात गर्दै जनताकै सहयोग र समर्थनमा देशमा सुधारका एजेन्डाहरू क्रमशः कार्यन्वयन हुनुपर्छ । भ्रष्टाचारकै कारण देशमा कुशासन मौलाएको भन्दै विरोध गर्नुलाई जनताका नजरमा उपयुक्त कदमका रूपमा लिइएको छ । देशमा व्याप्त भ्रष्टाचार, कुशासन र अव्यवस्थाका कारण राजनीतिक दललाई नागरिकले विश्वास गर्न सकिरहेका छैनन् । यस अवस्थामा वैकल्पिक शक्तिको आशा राष्ट्रिय स्वतन्त्र दलबाट मतदाताले गरेका हुन् । स्वतन्त्र युवा उम्मेदवारलाई समेत प्रभावकारीरूपमा कार्य गर्न नसक्ने पाका उमेरका राजनीतिक प्रतिस्पर्धीका विकल्प बनाएका हुन् । यस अवस्थासम्म आइपुग्दा नयाँ राजनीतिक विकल्पका रूपमा राष्ट्रिय स्वतन्त्र दललाई विश्वास गरेकै छन् । अब स्वतन्त्र हैसियतमा जितेकाले जनताको विश्वासका आधारमा संगठित हुने विकल्प रोज्नुपर्छ । अबको राजनीतिमा स्वतन्त्रहरू र राष्ट्रिय स्वतन्त्र दलका २० सांसदहरू तथा यस दलको दलीय नीतिको राजनीतिक शैलीसँग पुराना नेका, एमाले र माओवादी केन्द्रसँग तुलना हुनेछ र सही मूल्यांकन आगामी निर्वाचनमा मतदाताले गर्नेछन् ।
देशमा व्याप्त भ्रष्टाचार, कुशासन र अव्यवस्थाका कारण राजनीतिक दललाई नागरिकले विश्वास गर्न सकिरहेका छैनन्
सारांश
अब स्वतन्त्र दलले स्वतन्त्र हैसियतमा व्जियी भएकाहरूलाई समेट्न सक्नुपर्छ । भ्रष्टाचारबाट जोगिएर आफ्ना सबै सांसद र दलका जिम्मेवार व्यक्तिका सच्चारित्रतामा कुनै सन्देह गर्ने अवस्था दिनुहुँदैन । भ्रष्टाचार देशको ठूलो समस्या भएको छ । जो कोही पदाधिकारीहरूविरुद्ध भ्रष्टाचार गरेको आशंका भएमा अनुसन्धान गर्न पाउनेगरी नियन्त्रक निकायलाई अधिकार प्रदान गर्न कडाइका साथ पहलकदमी गर्नुपर्छ । भ्रष्टाचारमा संलग्न दुवै पक्षहरू घुस दिने र घुस लिनेलाई कारबाहीको दायरामा कडाइका साथ ल्याउनुपर्छ । भ्रष्टाचारसम्बन्धी कारबाहीमा प्रगतिशील ढाँचा अथवा जत्ति ठूलो पदाधिकारीले भ्रष्टाचार गरेको हो सोही अनुपातमा बढी कारबाही गर्ने शैलीको अवलम्बन गर्न सोहीअनुसार ऐनहरू संशोधन हुनु जरूरी छ । राष्ट्रिय स्वतन्त्र दल युवाको ढुकढुकी पनि हो । तसर्थ, यस दलले विदेशमा आफ्नो वृत्तिविकासका लागि रहेका युवालाई मताधिकार प्रदान गर्ने नीति अवलम्बन गर्नुपर्छ । दलले उपयुक्त उम्मेदवार प्रतिस्पर्धामा नपठाए निषेध मतको अधिकार प्रदान गर्नुपर्छ । नेपालको सम्बन्धमा समानुपातिकतर्फको निर्वाचनको हदैसम्म दुरुपयोग भएको छ ।
यसलाई निरन्तरता दिँदा स्पष्ट आधारहरू देशको संविधानमै व्यवस्था गर्नुपर्छ । निर्वाचन हार्ने सुनिश्चित भएका श्रीमती, केटी साथीदेखि स्रोत सम्पन्न व्यक्तिलाई यसबाट लाभान्वित गराउने हालको प्रणालीमै ठूलो परिवर्तन गरिनुपर्छ । मानवता, समता र विभेदहीनताका पक्षपातिका रूपमा प्रस्तुत हुन सक्नुपर्छ । नस्लभेद र लिंगभेद सन्दर्भमा स्पष्ट धारणाका साथ जनसमक्ष पारदर्शी हुनुपर्छ । पुराना तीन दलको मनोमानी कार्टेलिङ अन्त्यका लागि मतदाताले यस दललाई विश्वास गरेका हुन् । यदि, पुराना दलमा सुधारको गुञ्जायस नदेखिँदा र राष्ट्रिय स्वतन्त्र दलले आफ्नो छवि जनतासमक्ष स्थापित गर्न सक्दा आगामी निर्वाचनमा पहिलो दल बनेर सरकारको नेतृत्व गर्न सक्ने अवस्था स्पष्ट छ । अन्यथा, आन्दोलनको ठूलो आँधी देशले आमन्त्रण गरिरहेको छ । यदि, यो अवस्थाको सामना गर्नुपर्ने अवस्था हुँदा को–को बढारिने हुन् ? त्यो भाविष्यले नै निश्चित गर्नेछ । राष्ट्रिय स्वतन्त्र दललगायतका युवाले संसदबाट ठूला ठूला सुधारका कार्य गर्न सक्षम हुनेगरी जनादेश प्राप्त गरेका छैनन् । उनीहरूले सडकबाटै सरकार र सदनलाई दबाब सिर्जना गर्न सक्नुपर्छ । आफ्नो छवि जनताका सामु स्वच्छ राख्न सक्दा जनताको समर्थन यस दल र स्वतन्त्र युवाले प्राप्त गर्ने सम्भावना अत्याधिक छ । राष्ट्र निर्माणमा जुटौं ।






