मध्यवर्ती इलाका सुरक्षामा ध्यान देऊ

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र सामुदायिक वनका नजिक बसेका तराईका बस्तीमा बर्सेनि हात्ती आतंक बढेर गएको छ । हात्तीआतंकबाट अहिले इटहरी आक्रान्त छ । इटहरी शान्तिनगरका स्थानीय जनता अहिले रातभर आगो बालेर, टिन ठटाएर अनि पटाका पड्काएर जंगली हात्तीबाट खेतीबाली जोगाउने काम गर्दै रातभर जाग्राम बस्ने गरेका छन् । यो समस्या एक वर्ष वा एकपटक मात्र होइन, बर्सेनि र प्रायजसो बेहोर्नुपरिरहेको हुन्छ । जंगली हात्तीले स्थानीय जनताको हिउँदे बाली रातारात सखाप पार्ने कामगरिरहेको छ । यो वर्षको हिउँद पनि अपवाद रहन सकेन । माघको महिना लाग्दै जंगली हात्तीको बिगबिगी हुन थालेपछि स्थानीय जनता रातभर ड्युटीमा जुटिरहेका छन् । सिंगो इटहरी अहिले हात्ती धपाउने मुकाममा परिणत हुन गएको छ । स्थानीय जनतासँग हात्ती धपाउने साधन र संयन्त्र छैन । उनीहरूले प्रशासनलाई बेलैमा खबर गरे पनि प्रशासनबाट यो समस्या समाधान हुन सकिरहेको छैन ।

निकुञ्ज र आरक्षको नजिक पर्ने मध्यवर्ती इलाका त जंगली जनावरको चरन क्षेत्रजस्तै बन्दै आएको छ । जंगली जनावर र विशेषगरी हात्तीले खान नसकेर वा खान नपाएर छाडेको खेतीबाली मात्र किसानको भागमा रहने गरेको छ । यति मात्र होइन, यस्ता मध्यवर्ती इलाकामा बस्ने मानिसको जंगली जनावरको आक्रमणबाट जिउधनको क्षति हुने पनि गरिरहेको छ । खासगरी मध्यवर्ती इलाका जंगली जनावर प्रभावित इलाका नै हो । यसको परिभाषा स्पष्ट गर्न सरकार हिचकिचाइ रहेको छ । यहाँको बस्ती अन्यत्र सार्न पनि सोच बनाएको देखिँदैन । यसले गम्भीर असर पारिरहेको छ ।

मात्र स्थानीय जनतालाई जंगली जनावरलाई केही पनि नगर्नु भन्ने र केही भएमा दण्ड जरिमाना गर्ने काम मात्र प्रशासनले गरिरहेको देखिन्छ । यो भनेको समस्याको दीर्घकालीन समाधान होइन । यस कारणले पनि मध्यवर्ती इलाका स्थानीय जनता र हात्तीलगायतका जंगली जनावरको रणसंग्राम इलाकाका रूपमा देखापर्ने गरिरहेको छ । यो असुरक्षित र बफर जोनका रूपमा पनि चित्रित हुने गरिरहेको छ । अहिले जंगली जनावरको संख्यामा वृद्धि हुन थालेसँगै तिनका लागि चरन क्षेत्रको अभाव हुन थालेको छ । साथै, आहाराको पनि कमी हुन थालेको छ । यस्तो समस्याको दीर्घकालीन समाधान भनेको निकुञ्ज, आरक्ष र सामुदायिक वनको क्षेत्रफल विस्तार गरिनु हो । सरकारीस्तरबाटै यसका लागि आवश्यक कार्यक्रम ल्याएर त्यसको सशक्त कार्यान्वयन गर्नुपर्छ ।

त्यसैले पनि हालसम्म मध्यवर्ती इलाका भनी किटान गरिएका स्थानमा रहेका मानव बस्तीको दीर्घकालीन र उपयुक्त व्यवस्थापनका लागि सरकारले स्पष्ट नीति तथा योजना ल्याउन सक्नु नै पर्छ । यस्ता नीति तथा योजनाले मात्र मध्यवर्ती इलाकामा रहेको स्थानीय जनता र जंलीजनावरबीच संग्रामपूर्ण लुकामारीको अन्त्य गर्न सक्छन् । सरकारले यसका लागि स्थानीय जनतासँग राय सल्लाह लिएर बस्ती स्थानान्तरणको कार्यक्रम बनाउनुपर्छ । यो काममा ढिलाइ गर्नु अब स्थानीय जनताको जीवन र जीविकामाथि खेलबाड गर्नु मात्र हुने छ । त्यसैले बिना ढिलाइ मध्यवर्ती इलाका सुरक्षामा ध्यान देऊ !

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?