काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनसँगै जनतामा उत्साहको सञ्चार भएको बताउँदै यो सरकार निरन्तर अघि बढ्ने बताएका छन् । ओलीले कांग्रेस वर्तमान सत्तागठबन्धन र सकार ढाल्ने खेल खेलिरहेको र सो खेल सफल नहुने बताए ।
आइतबार प्रतिनिधिसभामा बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेसको गलत खेलमा सत्तासीन दलले आफ्नो असामयिक अन्त्य रोज्न नसक्ने बताए ।
एमाले अध्यक्ष ओलीले यसबीचमा सम्मानित सदनमा नेपाली कांग्रेसबाट प्रदर्शित व्यवहार र निर्णय संविधान र लोकतन्त्रका लागि बुझिनसक्नु रहेको बताउँदै कांग्रेसका केही साथीहरूलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भएको दाबी गरे । उनले सत्ता नहुँदा कांग्रेस पानीबाहिरको माछाजस्तै छटपटीमा देखिएको र कांग्रेस सत्ताबाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको बताए ।
अध्यक्ष ओलीले सत्ताबाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेससँग भएको र त्यो अनुभवले अब कुनै काम नगर्ने बताए । ‘अब राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट कसैको पनि हित हुँदैन, हित हुन्छ त केवल धमिलो पानीमा माछा मार्न पल्केकाको ।
लोकतन्त्र कुनै व्यक्ति वा दल विशेषका लागि होइन, नेपाल र सम्पूर्ण नेपालीको हितका लागि हुनुपर्छ । अब आमनागरिक धेरै सचेत भइसकेका छन्,’ ओलीले भने ।






