दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान लिएर नेताहरू गाउँ गाउँमा पुग्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको संगठन सुदृढीकरणका लागि सञ्चालन हुने मिसन ग्रासरुट अभियान फागुन र चैत महिनाभरि देशैभरि एकैसाथ हुनेछ ।

एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बिहीबार बसेको पार्टीको सचिवालय बैठकले दुईमहिने मिसन ग्रासरुट अभियान देशैभरि सञ्चालन गर्ने निर्णय गरेको हो । सो अभियानबाट पार्टीको संगठनमा नयाँ ऊर्जा थपिने विश्वास नेताको छ ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीले १ फागुनबाट मिसन ग्रासरुट अभियान सञ्चालन हुने जानकारी दिए । ५ फागुनमा सातवटै प्रदेश अभियानमा खटिने नेतालाई अभिमुखीकरण गरेर थालनी गरिनेछ । पार्टीको संगठन सुदृढीकरणको दुईमहिने अभियानपछि पार्टी नयाँ ढंगले अघि बढ्ने विश्वास लिइएको उपमहासचिव ज्ञवालीले बताए ।

‘सातै प्रदेशमा अभियानमा खटिने साथीको अभिमुखीकरणबाट सुरु हुनेछ र अभिमुखीकरणको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नुहुनेछ’ उपमहासचिव ज्ञवालीले भने, ‘सात जना उपाध्यक्ष एक एक प्रदेशमा जानुहुनेछ र यो दुईमहिने अभियानपछि पार्टी फरक ढंगले जाने विश्वास गरिएको छ ।’

एमाले सचिवालय बैठक

अभियानमा पार्टी केन्द्रीय कमिटीका सदस्य, संघीय र प्रदेशका सांसद, भ्रातृसंगठन नेताका साथै सबैलाई गाउँ केन्द्रित कार्यक्रममा परिचालन गरिने योजना एमालेको छ । दुई महिनासम्म सबै नेता गाउँमा केन्द्रित भएर सो अभियान सञ्चालन गर्न लाग्ने उनले बताए । अभियान सञ्चालनका लागि नेतालाई पार्टीको निर्देशनसहित ११ वटा कार्यादेश तोकेर जिम्मेवारी दिइएको छ ।

‘मिसन ग्रासरुट’ अभियान सञ्चलनको अवधिसम्म पार्टीको सदस्यता वितरण, नवीकरण, पुराना नेता कार्यकर्ताको सम्मान, जनप्रतिनिधि र पार्टी कमिटीबीच अन्तरसम्बन्धलगायतका काम हुनेछ ।

जिम्मेवारी हेरफेर
यसैबीच सचिवालय बैठकले केही नेताको जिम्मेवारी हेरफेरका साथै रिक्त ठाउँमा पदपूर्ति गरेको छ ।

एमालेले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिएको छ । यसअघि प्रदेश १ को इन्चार्ज रहेका स्थायी कमिटीका सदस्य देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि सो ठाउँ रिक्त रहेको थियो । सभामुख निर्वाचित भएपछि घिमिरेले पार्टी सदस्यता परित्याग गर्दै सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

यसैगरी, एमाले अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटीका सदस्य बिन्दा पाण्डेलाई चयन गरेको छ । एमाले स्थायी कमिटी सदस्य रहेको घनश्याम भुसाल प्रतिनिधिसभा निर्वाचन अघि पार्टी परित्याग गरेपछि सो पद खाली थियो । भुसाल अहिले नेकपा–एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् ।

एमालेले अपांगता विभागको इन्चार्जमा पोलिटब्युरोका सदस्य पार्वत गुरुङलाई जिम्मेवारी तोकेको छ । अपांगता विभागको इन्चार्जमा नेता बालकृष्ण ढुंगेल रहेका थिए । ढुंगेलको निधन भइसकेको छ । यसैगरी, रामचन्द्र मण्डल मधेस प्रदेशको सभामुखको जिम्मेवारीमा पुगेकाले सो ठाउँमा नेतृ शीला यादवलाई जिम्मेवारी दिएको छ ।

उपनेता को ?
एमालेले मिसन ग्रासरुट अभियान, केही नेताको जिम्मेवारी हेरफेर’bout निर्णय गरे पनि संसदीय दलमा रिक्त रहेको पदमा कसलाई जिम्मेवारी दिने’bout निर्णय गरेन ।

एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली छन् । संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक एमालेले तोक्न सकेको छैन । ४ मंसिरमा सम्पन्न निर्वाचनमार्फत प्रतिनिधिसभामा ७८ सिटसहित दोस्रो ठूलो दल बनेको एमालेले चुनाव सम्पन्न भएको तीन महिना पुग्नै लाग्दासमेत संसदमा दलको उपनेता, प्रमुख सचेतक, सचेतक तोक्न सकेको छैन ।

एमाले संसदीय दलको संशोधित विधान २०७७ को व्यवस्थाअनुसार दलका नेताले उपनेता, प्रमुख सचेतक र सचेतक तोक्ने व्यवस्था छ । दलको उपनेताले दलको नेतासँग समन्वय गरेर अगाडि बढ्ने लगायतका जिम्मेवारी रहेका हुन्छन् भने प्रमुख सचेतकले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी हुनेदेखि संसद् सुचारु गर्न सहयोगी भूमिका निर्वाह गर्ने तथा विधेयक संयोजन गर्ने जिम्मेवारी हुन्छ ।

एमालेका तत्कालीन प्रमुख सचेतक विशाल भट्टराईले सरकारलगायतका विभिन्न निकायमा समय दिनुपरेकाले उपनेता र प्रमुख सचेतकसहितका पदाधिकारी तोक्न ढिलाइ भएको बताए । केही दिनभित्रैमा रिक्त रहेका सो पदमा चयन गरिने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री गुरुङ युएई प्रस्थान