काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं महाधिवेशन मंगलबारदेखी काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका छन् । ७ बर्षपछि हुन लागेको महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । पदाधिकारी सहित एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै महाधिवेशन ४ फागुनमा सम्पन्न हुनेछ ।
केन्द्रीय कमिटीको चयन गर्दा गुट, प्यानल बनाउँन निषेध गरिएको छ । एमाले अध्यक्ष ओलीले महाधिवेशनमा गुट, प्यानल नबनाई सहमती वा लोकतान्त्रिक प्रक्रिया मार्फत चयन गर्न यस अघि नै निर्देशन दिए अनुसार नेतृत्वमा आउँन चाहनेले व्यक्तिगत रुपमा प्रतिस्पर्धा गर्नेछन् ।
एमाले केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज माधव ढुंगेलले नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा हुने बताए । ‘स्वच्छ प्रतिस्पर्धा हुन्छ, स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ’ ढुंगेलले भने, ‘नेतृत्व चयनका लागि गुट, प्यानल हुदैन् । सहमतिको प्रयास अन्तिम समयसम्म हुनेछ, निशेधात्मक हुँदैन । आपसी सहमति गर्ने, प्रतिस्पर्धा गर्ने अधिकार सबैमा हुन्छ ।’
अनेरास्ववियुको २३औं महाधिवेशन
यस अघिको महाधिवेशनहरुमा नेताको नाममा प्यान बनाएरै प्रतिस्पर्धा हुदै आएको थियो । तर यो महाधिवेशनमा प्यानल बनाउँन विद्यार्थी नेताहरु पाउँने छैनन् । अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेका अनुसार महाधिवेशनमा देशैभरीबाट १५ सय ७९ प्रतिनिधिको सहभागिता रहेको छ । नेतृत्वका लागि मतदान गर्नुपर्ने अवस्थामा अनेरास्ववियुले विद्युतीय भोटिङको समेत व्यवस्था गरेको छ ।
२०७२ पछि अनेरास्ववियुको महाधिवेशन भएको छैन् । २०७२ सालमा भएको महाधिवशेनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी थिइन् । २०७४ सालमा लामा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भइन् । विधानअनुसार २÷२ वर्ष महाधिवशेन हुनु पर्ने भए पनि लामाको कार्यकालमा महाधिवेशन भएन ।
एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा भएपछि संयुक्त संगठनको संयोजक ऐन महरलाई बनेका थिए । माओवादिबाट रंजित तामाङलाई सहसंयोजकको जिम्मेवारी दिइएको थियो । त्यस समयमा महर एमालेतर्फको अखिलका महासचिव थिए । पछि नेकपा भंग भएपछि सुनिता बराल अध्यक्ष भईन् । उनी हाल पार्टीको केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको जिम्मेवारीमा रहेकी छन् ।
नेतृत्वका लागि को–को छन् प्रतिस्पर्धामा ?
२३औं राष्ट्रिय महाधिवेशनमा अनेरास्ववियुको अध्यक्षका आकांक्षीहरु नै आधा दर्जन बढी देखिएका छन् । ७ बर्षपछि महाधिवेशन हुन लागेकाले अध्यक्ष र महासचिव सहित अन्य पदका लागि आकांक्षीहरु बढी देखिएका छन् ।
अध्यक्ष, चार उपाध्यक्ष, महासचिव, १० सचिव, एक कोषाध्यक्षसहित १ सय ९९ जनाको केन्द्रीय कमिटी महाधिवेशनबाट निर्वाचित हुनेछ । १७ पादधिकारीसहित ६५ सदस्यीय स्थायी कमिटी हुनेछ । अहिले ५ सय १७ जनाको केन्द्रीय कमिटी रहेको छ ।
अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल मुख्य दाबेदारका रूपमा देखिएका छन् । उपाध्यक्षहरू झपिन्द्र खत्री, लोकेश निरौला, मोती विक र उमेश आचार्यलगायतले समेत अध्यक्षका लागि आकांक्षी छन् ।
उपाध्यक्ष कल्पना वाइबा, उपमहासचिवहरु नरेश रोकाय, नारायण घर्ती, सुर्दशन सिवाकोटी, गोविन्द गिरी, भास्कर खनाल लगायतकाले महासचिवका लागि दावेदावर रहेका छन् । त्यस्तै सचिवहरु जुन तामाङ, तपेन्दजङ शाही, धर्म गिरी, कोषाध्यक्ष जेनिश लामा लगायतकाले उपाध्यक्षका दाबेदार रहेका छन् ।
गठबन्धन टुट्न सक्ने–ओली
अधिवेशनको उदघाटन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन टुट्न सक्ने आशंका व्यक्त गरेका छन् । अध्यक्ष ओलीले एमाले सहितको गठबन्धन सरकार बनेको भन्दै पार्टीपंक्तिलाई खुसी नहुन पनि आग्रह गरेका छन् ।
‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउन सफल भएका छौं’ ओलीले भने, ‘यो सफलताको कुरा हो तर, हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रसन्न भएको देखिन्छ, प्रसन्न हुनुपर्छ तर कथंकदाचित यो स्थिति फेरियो भने, संसदको बनावट अस्थिरताको कारक हुने बनावट छ ।’
संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको बनेको उनले बताए । ‘बहुमत कसैको छैन । हामीसँग बहुमत भन्दा तल सिट छ । र अनेक प्रकारका शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन् । यो देश बर्बाद पार्न यदि कुनै डाँकाले बैंकमा डैकत गर्नु पर्यो भने पहिले पालेलाई प्रहार गर्छ । नेकपा एमाले देशलाई डैकति गर्न नदिने गेटको पाले हो’ उनले भने, ‘यसमाथि नहानीकन, यसमाथि नहानी भित्रै पस्न पाँउदैन । पहिले यसमाथि प्रहार हुनसक्छ । अनेक प्रकारका शक्ति क्रियाशील छन्, अनेक प्रकारका षड्यन्त्र भइरहेका छन् ।’
एमाले महासचिव शंकर पोखरेल घेराबन्दी गरेका कारण एमाले देशको तेस्रो पार्टी भएको बताए । अधिवेशनको उदघाटन सत्रमा महासचिव पोखरेलले निर्वाचनमा चौतर्फी घेराबन्दी गरेका कारण एमाले दोस्रो दलमा खुम्चिएको बताए ।
‘पाँच दलीय गठबन्धनले घेराबन्दी गरेर एमाले खुम्चियो । तर जनताको मतको हिसाबले हामी पहिलो पार्टी भयौँ’ पोखरेलले भने, ‘अबको अनेरास्वियुको नेतृत्वले विद्यार्थी र नयाँ पुस्तामा राजनीतिमा नयाँ आयाम ल्याउने र असल आन्दोलनको केन्द्रबन्न अनुरोध गर्दछु ।’






