काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितविरुद्ध आफ्नै श्रीमती सरिता महर्जनले घरेलु हिंसाको लिखित उजुरी दिएपछि जनप्रतिनिधिमा नै रूपान्तरणको समस्या देखिएको छ । उनी मात्र होइन, धेरै जनप्रतिनिधि सांस्कृतिक रूपान्तणको समस्यामा रहेको र उनीहरू नै जनताका माझमा बढी आलोचित र घृणाको पात्र बनिरहेको देखिन थालेको छ । नगरप्रमुख नापितकी श्रीमतीले आफूविरुद्ध हिंसा भइरहेको र आफूलाई मानसिक यातनासहित घरमै बन्धक बनाउने गरेको भनी महिला आयोगमा लिखित उजुरी नै दिएपछि समस्या गम्भीर रूपमा उजागर हुनगएको हो । नगरप्रमुखकी श्रीमती नै यसरी महिला आयोगमा न्यायको याचनासहित उजुरी दिने अवस्था सिर्जना हुनु दुुखद हो । पदीय मर्यादाविपरीतको दुव्र्यवहार भएकाले पनि महिला आयोगले यसलाई उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउने भएपछि यसले जनप्रतिनिधिका जिम्मेवारी र व्यवहारबीचको आकाश पातालजत्तिको फरक सोच र अन्तरविरोधलाई जनसमक्ष ल्याइदिने भएको छ । विवाह भएको एक वर्ष पनि नपुग्दै आफूमाथि घरेलु हिंसा सुरु हुनथालेको र आफूले यसलाई सहन गर्नसक्ने सीमाभन्दा पनि बाहिर पाएकीले न्यायप्राप्तिका लागि हारगुहार गरेको खुलेपछि स्थानीय जनतालाई यसले लज्जित तुल्याएको छ ।
देशमा ठूलाठूला संघर्षबाट परिवर्तन आएको र देशले काँचुली फेरिरहेको भनिरहँदा जनप्रतिनिधिहरूको यो अस्वाभाविक व्यवहारले देशमा सांस्कृतिक रूपान्तरण जहाँको तहीँ रहेको देखाएको छ । जनप्रतिनिधि सापेक्षित रूपमा जनसाधारणभन्दा केही माथि हुन सक्नैपर्छ । समाज उही होला, सामाजिक मूल्यमान्यतामा परिवर्तन आउन समय लाग्ला तर पनि स्थानीय सरकारका प्रमुख तथा जिम्मेवारबाट रूपान्तरणको अनुभूति दिन नसक्ने हो भने देशको र परिवर्तनको चाहना गरिरहेको समाजको हालत के होला ? देशमा भइरहेको वा हुँदैगरेको रूपान्तरणको अगुवाइ गर्ने भनेकै जनप्रतिनिधिले हो । जनप्रतिनिधि स्थानीय समाजका अग्रज र अगुवा पनि हुन् । तर, यीनै जनप्रतिनिधिबाट जनताको सोच र अपेक्षाको अगुवाइ हुन सकेन भने देशले विडम्बनापूर्ण नियति भोग्नुपर्छ, त्यो पनि अगुवाइ गर्नेहरूको पछौटे चिन्तन र व्यवहारका कारण ! त्यसैले सामाजिक पात्र भनेको सापेक्षतामा केही फरक, प्रगतिशील र परिवर्तनको अगुवाइ गर्नसक्ने क्षमता भएको हुनैपर्छ । आफ्नो सोच र कर्मले देश र आफ्नो जिम्मेवारीलाई उदाहरणीय रूपमा चिनाउन सक्ने हैसियत र नैतिक बल उनीहरूमा हुनैपर्छ ।
तर, जनप्रतिनिधिहरू कमजोर मनोदशाको सिकार हुनपुग्ने, अर्काको लहलहैमा लाग्ने र आफ्ना गलत सोच र कर्मले जनतामा पार्ने प्रभावको ख्यालै नगर्ने अवस्था निम्त्याउन पुगेका छन् । देशमा कतै न कतै जनप्रतिनिधि लज्जाबोध हुने कर्ममा लिप्त हुनगएको पनि पटकपटक देखिँदै र सुनिँदै आएको छ । यसले नेपाली समाजको परिवर्तनको चाहनामा ठूलो धक्का लाग्न पुगिरहेको छ । जनप्रतिनिधिसँग जोडिएको मामला उनीहरूका लागि सामान्य होला तर त्यसको प्रभाव निकै असामान्य हुन्छ र हुनपुगेको छ । आखिर नेता र सर्वसाधारण जनताका बीचमा हुने र हुँदैआएको फरक भनेको यही नै हो । त्यसैले, समयसापेक्ष रूपान्तरण हुन सिक जनप्रतिनिधि !






